सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

| 2019-06-21

असार ६, काठमान्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन्।

राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो। उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए। सन्दीपको टोलीका मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान युवराज सिंह छन्।

सन्दीपले गतवर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए। त्यतिबेला टाइगर्सले उनलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। त्यसैगरी विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका छन्। उनी पहिलो पटक ग्लोबल टी ट्वान्टी लिग खेल्न लागेका हुन्। ड्राफ्टमा तीन हजार अमेरिकी डलर न्यूनतम रकम राखेका सोमपाललाई ११औँ चरणमा हक्सले सोही मूल्यमा अनुबन्ध गरेको हो।

उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएकामा दुई खेलाडी मात्र छनोट भएका हुन् । लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानाडामा आयोजना हुँदैछ। रासस