असार १०,
डोल्पा : काईके गाउँपालिकाको १४औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र शहरतारा वगरमा आ.व. २०८१/०८२ को लागि कुल बजेट ४० करोड २८ लाख ५३ हजार ५५२ विनियोजन गर्दै बजेट पारित भएको हो । गाउँपालिका उपाध्यक्ष निमा बुढाले प्रस्तुत गरेको बजेट गाउँकार्यपालिकाले सर्वसम्मत रुपमा हाल सम्मकै उत्कृष्ट बजेट प्रस्तुत भएको भनि सर्वसम्मत पारित गरेको छ । आ.व. २०८१/०८२ को लागि कुल बजेट ४० करोड २८ लाख ५३ हजार ५५२ विनियोजन मध्य चालु तर्फ रु २३ करोड ७९ लाख ५३ हजार ५५२ अर्थात ५९.०६ प्रतिशत र पुजीगत तर्फ १६ करोड ४९ लाख अर्थात ४०.९४ प्रतिशत बिनियोजन भएको छ ।
शिक्षा,स्वास्थ्य,रोजगार,कृषि,पशुपालन,खानेपानीलाई प्राथमिकता दिदै प्रस्तुत गरिएको बजेटमा रैथाने वालीलाइ उत्पादन र संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ । काईके गाउँपालिकाको समग्र क्षेत्रमा रैथाने वाली कोदो,फापर,चिनो,सिमि र आलु उत्पादन हुने भएकोले यहाँका नागरिकले भोलीका दिनमा उल्लेख्य आम्दानी रैथानेबालीबाट लिन सक्ने भन्दै गाउँपालिकाले रैथानेवाली संरक्षण र उत्पादनमा जोड दिएको गाउँपालिका अध्यक्ष अंगद रानाले दावी गरे । अध्यक्ष रानाका अनुसार गत बर्षमा मात्रै काईकेले एक करोड भन्दा माथिको सिमि निर्यात गरेको र अब रैथाने वाली उत्पादनबाटै जनताले मनग्य आमदानी लिन सक्ने भएकोले स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए ।
काईके गाउँपालिकामा आउने आर्थिक बर्ष भित्र सबै वडाका भौतिक संरचना निर्माण गरि सकिने र पालिकाको भवन समेत निर्माणको प्रकृयामा रहेको छ । आगामी बर्षमा सबै वडामा सड्क बिस्तार हुने र भेरीकरिडोरले जिम्मा लिएको दुनै ल्यासीक्याप सड्क निर्माणमा ताकेता गरि सड्कको पहुच पुर्याउने पालिकाको लक्ष रहेको गाउँपालिका उपाध्यक्ष निमा बुढाले बताईन । काईके गाउँपालिकाले नेपाल पत्रकार महासंघ डोल्पासंग समन्वय गरेर सञ्चारको पहुचमा बिकास गर्ने समेत निति तथा कार्यक्रममा समाबेश गरेको छ ।
१४औँ गाउँसभामा उत्कृष्ट बिधालय, उत्कृष्ट बिषय शिक्षक, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुलीले बताइन् । कर्मचारीको मनोवल उच्च राख्न पनि कर्मचारीलाइ सम्मान गरिएको पराजुलीको दावी रहेको छ ।