शारदा नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटन

जैतुन अनलाइन | 2025-03-18

चैत्र ०५,

सल्यान:  सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्रा रामबजार र वडा नम्बर–२ शंखपिपल जोड्ने शारदा नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल उद्घाटन गरिएकोे छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढा, उद्योग वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र प्रदेश सभा सदस्य भिम प्रकाश शर्माले आज संयुक्त रुपमा पुल उद्घाटन गरेका हुन । सोमवार एक कार्यक्रमका बिच यो पक्की पुलको उद्धघाटन गरिएको हो ।


यो पुल कर्णाली प्रदेश सरकारले निर्माण गरेको प्रदेशकै सबै भन्दा लामो पुल रहेको दाबि गरिएको छ । ७ करोड १ लाख ३६ हजार ४४८ रुपैयाँ लागतमा निर्माण गरिएको पुल ८४.३ मिटर लम्बाइ रहेको छ । २०७९ सालमा सम्झौता भैइ सुरु भएको मोटरेवल पुल गत भदौमा ११ महिनामा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । पुल निर्माणका जिम्मा नारायणम भगवती जेभी नेपालगञ्ज ले लिएको थियो । यसअघि नदी तर्न कठिनाइ भोग्दै आएका स्थानीयले अब सहज रूपमा यात्रा गर्न पाउनेछन । यो पुल कर्णाली प्रदेशमा यस आर्थिक बर्षमा निर्माण भएको पहिलो पुल हो ।