काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डेरा नपाएर आफू ससुरालीमै बस्नुपरेको बताएका छन्। पत्नी राधिकाको किताब ‘करुणा’को लोकार्पण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू गृहमन्त्री भएर हटेपछि डेरा नपाएको बताए।
‘डेरा बस्थे। गृहमन्त्री भएर मन्त्री क्वाटर गएँ। मन्त्री बनेर हटेपछि त डेरा खोज्दा पनि भेटिएन। धेरै दिनम्म डेरा नभेटेपछि सालो ज्ञानेन्द्र शाक्यले हाम्रैमा बसौं भनेसि ससुरालीमा बसें। साथीभाइले कहाँ बस्नुभएको छ? भनेर सोध्न थाले। अनि मैले भन्नथाले घरज्वाइँ बसेको छु। ढुक्कले भनिदिएपछि साथीहरूले सोध्न छोडे। घरज्वाइँ भनेपछि धेरैलfई ह्युमिलेशन हुँदो हो, मैले पाल्छु भन्या भए पो ह्युमिलेशन ,’ उनले भने।
उनले पत्नी राधिकालाई केही कुराको आश्वासन नदिएको प्रस्ट पारे। ‘मैले सुरुमै जिन्दगीमा एक कपि चिया खुवाउन सक्दिनँ। एकसरो कपडा दिन सक्दिनँ। जिन्दगीभरि साथ दिन्छु भन्छन् तर जिन्दगीको ठेगान छैन। श्रीमती पाल्ने धाक पनि दिइनँ। न जागिर छ, न घर खेत छ। सबै सिध्याएर हिँडेको मान्छे हुँ। सबै कुरा कुरा नलुकाइ भनेको छु। श्रीमती पाल्न सक्ने हुती भएको मान्छे म होइन,’ प्रधानमन्त्री ओलीले भने।
उनले आफूले पत्नी भन्दा पनि राधिकाले आफूलाई भित्र्याएको बताए। ‘केपी ओलीले मलाई भित्र्याएको होइन। मैले डेरा खोजेर केपी ओलीलाई भित्र्याएको हुँ’ राधिकाले किताबमा ठीकै लेखेकी छन्,’ प्रधानमन्त्री ओलीले भने।
उनले बालकोटस्थित घर पनि राधिकाले बनाएको बताए। ‘त्यो घर पनि राधिकाले ट्रस्टलाई दान दिइसकेकी छन्। त्यो मेरो पैसाले बनेको पनि होइन। उनकै सम्पत्तिको दान हो,’ उनले थपे। उनले वैवाहिक वर्षगाँठको अवसरमा राधिकाले राम्रो गिफ्ट ‘करुणा’ दिएको बताए।