गरिबको गर्जोमा म्यानपावरको निस्फिक्रि ब्यापार

जैतुन अनलाइन | 2025-02-11

रामचन्द्र न्यौपाने
सञ्चारकर्मी,डोल्पा

प्रत्येक बर्षको पुष माघमा फुर्सदिलो समयमको सदुपयोग गर्न म डोल्पाबाट काठमाण्डौ आउने गछु । यस समयमा आफन्त भेटघाट देखि घुमफिर हुने भएकाले पनि एक किसिमको उत्साह छाउने गर्दछ । सधै जस्तो यस पटक पनि १९ पुषमा म बुवा आमा र गाउँका दुई जना दाइ सँग काठमाण्डौ हिँडे । घर नजिकको त्रिपुराकोट बजारबाट सिधै काठमाण्डौ बस चढियो । मेरो काठमाण्डौ यात्रा घुमघाम र भेटघाट उन्मुख थियो । तर, ति दुई जना दाइहरुको यात्रा भने बाध्यत्मक अवस्थाको उपज थियो । मतलब उहाँहरु बाध्यताले काठमाण्डौ हिँड्नु भएको थियो । छोराछोरीको पढाइ लेखाइ गराउन,घर परिवार पाल्न,लागेको ऋण तिर्न र सुखि जीवनको परिकल्पनालाइ साकार पार्न काठमाण्डौ जान लागेको उहाँहरुको भनाइ थियो ।

सिधा सिधा भन्दा वैदेशीक रोजगारमा खाडी मुलुक छिर्ने दुबै जनाको घर देखिकै योजना हो । डोल्पा देखि काठमाण्डौको यात्रा करिब एक रात एक दिन लाग्छ । त्यहि भएर पनि गाडिमा वैदेशिक रोजगार सम्बन्धि कुराहरु भए । म सञ्चार क्षेत्रसँग सम्बन्धित भएकाले वैदेशिक रोजगारका बिषयमा बुझने जिम्मेवारी र भरोसा दुबै जनाको म माथि नै थियो । राम्रो अनि न्युनतम लागतमा पठाउने म्यानपावर खोजेर वैदेशिक रोजगारमा पठाइदिन दुबै जनाले आग्रह गर्नुभयो । म आफै वैदेशिक रोजगारका बिषयमा शैद्धान्तिक रुपमा जानकारी पाए पनि पुर्ण जानकारी भने थिएन् । कहाँ कुन म्यानपावर मार्फत कुन देश जाँदा राम्रो हुन्छ भन्ने थाहा थिएन् । म यस अघि एउटा पनि म्यानपावर पनि पुगेकै थिएन । उहाँहरुको याचनामा मैले आफुले सक्दो सहयोग गर्ने र सँगसँगै बुझ्न जाने बाचा गरे । ति दुई जना मध्ये एक जना मेरो दाइ नाता पर्नु हुन्थ्यो भने एक जना मेरो गाउँले दाइ र सँगै एसएलसी दिएको साथी । वैदेशिक रोजगारमा जाने धेरै व्यक्तिहरु दलालबाट लाखौँ ठगिएका घटनाहरु उहाँहरुले पनि धेरै सुन्नुभएको रहेछ । त्यसैले पनि यस बिषयमा कुरा उठाउँदानै ठगिने चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।म सञ्चारकर्मी भएकाले पनि यस्ता घटनाहरु धेरै सुनेको थिए । कोरिया पठाउँछु भनेर बिराटनगर झारेको,वैदेशिक रोजगारमा पठाउँछु भनेर लाखौँ करोडौँ ठगि गरेको यस्तै यस्तै । त्यहि भएर पनि पत्रकारलाइ नै अघि लगाएर बुझ्न लगायो भने ठगिदैन भन्ने उहाँहरुको आशय थियो । म सँग कुनै म्यानपावरमा वैदेशिक रोजगारकालागि बुझ्न पुगेको अनुभव नै थिएन । यद्यपी त्यस सम्बन्धमा धेरै कुरा थाहा भने पाएको थिए ।

काठमाण्डौ पुगेको भोली पल्ट देखिनै उपयुक्त वैदेशिक रोजगारको खोजीमा भौतारिन थालियो । काठमाण्डौमा जति बस्यो धेरै खर्च लाग्ने भएकाले एकसाता भित्र भिसा लगाएर डोल्पा फर्किनु पर्ने दुबैजनाको भनाइ थियो । आफुहरु आर्थिक रुपमा विपन्न भएकाले सकभर फ्रि भिसा फ्रि टिकेटमा उड्ने प्रयास गर्ने दुबै जनाको भनाइ थियो । मैले पनि मलेशिया,साउदी अरब,दुबइ,ओमान लगायतका देशमा सरकारले निशुल्क कामदार पठाउँछ भन्ने थाहा पाएको थिए । त्यहि भएर पनि चिनजानका नेता प्रशासकको भनसुनको सहयोग मागेर भएपनि फ्रि भिसा फ्रि टिकेटमा दुबै जनालाइ वैदेशिक रोजगारमा उडाउन कोसिस गर्ने आश्वासन दिए । वास्तबमा दुबै जनाको आर्थिक अवस्था साच्चिकै राम्रो थिएन । काठमाण्डौ आउँदा नै एक जना दाइले आमाको बृद्धभक्ताको रकम ल्याएर खर्च जोहो गरेको बताउनुभएको थियो । अर्कोले छत्तिस प्रतिशत ब्याजमा ऋण काडेर खर्च जोहो गरेको बताउनु भएको थियो । यि दुबै खर्चका स्रोतलेनै आर्थिक अवस्था कस्तो भन्ने कुरा प्रष्ट पार्दछ । खासमा यस्ता व्यक्तिले नै फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा जान पाउनु पर्ने होला नि हाम्रो सरकारलाई प्रश्न हो ? तर, यो परिस्थिति पक्कै थिएन र छैन् पनि ।

प्रयास १
काडमाण्डौ पुगेको भोली पल्ट देखिनै फ्रि भिसा फ्रि टिकेट भएको रोजगारी खोजिमा निक्लियौँ । उहाँहरु दुइ जना र म भएर तीन जनाले फ्रि भिसा फ्रि टिकेटमा उडाउने म्यानपावर खोज्दै काठमाण्डौका चोक गल्ली चाहार्न थालियो । नामै नसुनेका राष्ट्रिय दैनिकमा प्रकाशित शुन्य लागतमा वैदेशिक रोजगारीको अवसर भन्ने सुचनामा राखिएको फोन नंम्बरमा फोन गर्दै बुझ्न थालियो । कतिपयले फोनबाटै सम्बन्धित म्यानपावरको ह्वाट्स एप नम्बरमा पासपोर्ट,बायोडाटा र फोटो पठाउन लगाए । कतिपयले अफिस भिजिट गरेर बुझन भने । हामि पनि एका बिहानै देखि कहिले एयरपोर्ट कहिले गौशाला,कहिले बसुन्धरा,कहिले सामाखुशी गर्दै फ्रि भिसा फ्रि टिकेट लागु भएका म्यान पावरहरु चाहार्न थाल्यौँ । तीन वटा म्यानपावरले दुबै जनाको पुर्व अन्तवार्ता लियो तर पास नभएको भन्दै फिर्ता पठाइ दियो । कतिपयले अन्र्तवार्ताको लागि पासपोर्टको सक्कलकपी नै राख्नु पर्ने भने । कतिपयले फ्रि भिसा फ्रि टिकेट भने पनि आधा रकम तिरेमा भनेकै देशमा उडाइदिने आशा जगाए । वैदेशिक रोजगारमा म्यानपावर भन्दा पावरफुल बिचौलिय एजेन्ट हुने रहेछन् । यो कुरा म्यानपावर चाहार्दै प्रस्ट भयो । उनिहरुले नै मान्छे ल्याइदिने भएकाले उनिहरुले भनेको म्यानपावर मालिकले सजिलै मान्ने रहेछन् ।

प्रयास २
फ्रि भिसा फ्रि टिकेटको पहिलो प्रयास असफल भएपछि हाम्रो दोस्रो प्रयास सुरु भयो । एजेन्ट मार्फत आधाउधि रकम तिरेपछि फ्रि भिसा फ्रि टिकेटमा उड्न पाइने सुइको मैले पाए । हामि आफै महिनौ घुमे पनि वैदेशिक रोजगारमा जान पाइन्न भन्ने प्रष्ट भयौँ । अब एजेन्ट मार्फत जाने निधो गरियो । वैदेशिक रोजगारमा राम्रो अनुभव भएका एक जना एजेन्ट सँग कुरा भयो । भोलि भटेर कुरा गर्ने उनको भनाइ थियो । दुई जनालाई फ्रि भिसा फ्रि टिकेटमा खाडि मुलुकको कुनै एउटा देशमा पठाइदिन पर्यो तपाइको दुख दिउँला मैले भने । तलबमा खाइपाइ गरेर चालीस हजार बचे पनि हुन्छ भने दुबै जनाले एउटै स्वरमा भने । ति एजेन्टले भने म फ्रि भिसा फ्रि टिकेटमै उडाउने म्यानपावर मार्फत विदेश पठाइदिन्छु । तर, आधा रकम होइन पुरै रकम लाग्छ उनले भने । एकछिन हामि ट्ँवा पर्यौ । फ्रि भिसा फ्रि टिकेटमा पैसा तिरे त कसरी फ्रि भयो भन्दै मैले प्रश्न गरे । एजेन्टले भने सरकारको फ्रि भिसा फ्रि टिकेट नाम मात्रको हो । लाग्ने पुरै रकम तिर्नुपर्छ उनले प्रष्ट रुपमा सम्झाए । कित प्रधानमन्त्री,मन्त्री,मन्त्रालयका उच्च पदस्थ कर्मचारी वा वैदेशिक रोजगार अन्तर्गतका विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीको आफन्त हुनु¥पयो होइन भने फ्रि मा उडाउन सकिदैन उनले थपे । त्यतिमात्र होइन म तपाइहरु दुबैजनालाइ विदेश पठाउने ग्यारेन्टी दिन्छु । तर, फ्रि भिसा फ्रि टिकेटको लागि हुने अन्र्तवार्तामा तपाइहरुले हामिले एक रुपैया नतिरेको भन्दै झुट बोल्नु पर्ने हुन्छ उनले प्रष्ट सम्झाए । मलेशिया,दुबइ,साउदी अरब,ओमान,कतार लगायतका देशमा फ्रि भिसा फ्रि टिकेटमा उड्न कामको प्रकृति हेरेर चार लाखसम्म खर्च गर्नुपर्ने उनको भनाइ थियो । एजेन्टको यस्तो कुरा सुनेपछि हाम्रो दोस्रो प्रयास पनि असफल भयो ।

प्रयास ३
तेस्रो प्रयास स्वरुप चिनजानका प्रतिनिधि मार्फत श्रम रोजगार मन्त्रालयका उच्च अधिकारी मार्फत भनसुन गर्न लगाए फ्रि मा उड्न पाइन्छ कि भन्ने आशाका साथ दौडधुप सुरु गरियो । ति एजेन्टले पनि मन्त्री,मन्त्रालयका उच्च अधिकारिको कोटा हुने भएकाले उनिहरुले चाहेमा एक दुई जनालाइ फ्रि मा उडाउन सक्ने बताएका थिए । मैले पनि एजेन्टले भने अनुसार श्रम मन्त्रालयका एक जना उच्च अधिकारीलाइ भेट्न प्रयास गरे । लगातार दुई दिनको प्रयास पछि दुई मिनेट भेट भयो । मैले पनि दुबैको आर्थिक अवस्था कमजोर भएकाले फ्रि भिसा फ्रि टिकेटमा उडाउन म्यानपावरलाइ भन्दिन आग्रह गरे । उहाँले पनि योग्यताका बिषयमा सोधपुछ गरि बायोडाटा टेबुलमा राख्न भन्दै आफु मिटिङ्मा निस्किनु भयो । कसलाइ भेट्ने कहाँ भेट्ने केही पनि भन्नु भएन् । हामि पनि साँझसम्ममा खबर आउँछ कि भनि पर्खि बस्यौ तर,खबर आएन । भोली फेरी मन्त्रालयमै भेटेर एकिन गर्न सिँहदरबार छिर्यौ । करिब तीन घण्टा कुरेपछि एक मिनेट भेट भयो । मैले भने हजुरले भन्दिन्छौ त भन्नुभयो कहाँ भेट्ने कसलाइ भेट्ने भनेर हिजो भन्नु भएन त्यहि भएर आज एकिन गर्न आएका हौँ । ठिक छ तर, प्रत्येक दिन जसो भेटेर हुन्छ र । म काम भएपछि खबर गरिहाल्छु नि अहिले जानुस भनेर फर्काए । उहाँका रुखो जवाफ पछि निशुल्क वैदैशिक रोजगारीमा जाने आसा राम्रोसँग मर्यो ।हाम्रो तेस्रो प्रयास पनि असफल भयो ।

फ्रि भिसाको कुरै नउठाउन निधो

अब फ्रि भिसा फ्रि टिकेटमा को कुरा नउठाउने निधो सहित कोठा फर्कियौ । लाग्यो सरकारले २०७२ साल देखि लागु गरेको फ्रि भिसा फ्रि टिकेट नाम मात्रको रहेछ । पहुँचवालाको मात्र अधिनमा रहेछ भन्ने प्रष्ट भयो । प्रत्येक छ छ महिना जस्तो परिवर्तनहुने सरकारका श्रम मन्त्री र फ्रि भिसा फ्रि टिकेटको वैदेशिक रोजगार भनेर नारा लगाउने नेतृत्वको दाउ भनेको चुनाव लक्षित फण्डा रहेछ भन्ने पनि प्रष्ट भयो । फ्रि भिसा फ्रि टिकेट लागु भएको एक दशक पुग्न लाग्दा पनि यसको प्रभावकारी कार्यन्वयन हुन नसक्नु आफैमा दुखत कुरा हो । अहिले पनि लाखौँ नागरिकहरु वैदेशिक रोजगारमा फ्रि भिसा फ्रि टिकेटको पछि लाग्दा महिनौसम्म रुमल्निु परिरहेको छ । एजेन्टको जालोमा पर्न बाध्य छन् । यसमा राज्य उदासिन छ । फ्रि भिसा फ्रि टिकेट म्यानपावरको मनग्य कमाउने नारा जस्तै भएको छ । त्यसपछि हामि फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर बाहेकका अन्य पैसा तिरेर वैदेशिक रोजगारीमा पठाउने म्यान पावरमा धाउन थाल्यौ । म पनि आफन्त साथी भाइ,चिनेजानेका व्यक्तिहरु मार्फत सुरक्षित म्यानपावरका बारेमा बुझ्न थाले । हामि आफै पनि म्यानपावरमा पुगेर बुझ्न थाल्यौ ।

आलिसान म्यानपाव कार्यालयका स्रोत के ?

काठमाण्डौ पुगेको दुई सातामा हामि झण्डै एक दर्जन म्यानपावरका कार्यालयमा पुगियो । ति म्यानपावरको कार्यालयमा पुग्दै गर्दा अधिकाशं म्यानपावरका कार्यालय आलिसान बंगला भन्दा कुनै कम थिएनन् । बाहिर सेक्युरिटि गार्ड,भित्र छिर्न अनुमति लिनुपर्ने,भित्र छिरिसकेपछि सुरुमा सोधपुछमा नबुझेर अन्य व्यक्तिलाइ भेट्नै नपाइने यस्तो परिदृष्य मैले देखे । भित्र छिरिसकेपछि सुविधासम्पन्न एवम् पुर्ण रुपमा सजावत गरिएका चिटिक्क कार्यालय,दर्जनौ कर्मचारी,उनिहरुको व्यक्तित्व कुनै एक सुविधासम्पन्न मन्त्रालय भन्दा कम लागेन् । म्यानपावरका कार्यालयको यस्तो साजसज्जा देख्दा मासिक लाखौँ आम्दानी हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । म्यानपावरको प्रमुख कर्मचारीलाई त भेट्नै नसकिने रैछ । हामि वैदेशिक रोजगारमा जानु अघि सबैकुरा राम्रोसँग बुझ्नु पर्छ भन्ने कुरामा अडिक थियौँ । जस्तै कति पैसा लाग्ने,कहाँ जाने,के काम गर्ने , रकम कसरी भुक्तानी गर्नुपर्ने यस्तै यस्तै कुरा । हामिले ति कुराहरु बुझ्न सकेसम्म म्यानपावरका मुख्य व्यक्तिलाइ नै भेट्न धेरै ठाउँमा प्रयास गरियोे । एकाद बाहेक अरुसँग भेट्न पाइएन् ।

हामि ठोक्किएका म्यानपावरका कर्मचारीहरु सँग कुन देशको रोजगारीमा जान कति पैसा तिर्नुपर्छ भनेर बुझ्न खोज्यौँ । तर, उनिहरुले आफुहरुलाइ थाहा नहुने बताउँदै अन्य सरहरुलेनै भन्नु पर्ने जवाफ फर्काए । म्यानपावरमा पनि आन्तरिक सिण्डिकेट अचाक्ली चल्दो रहेछ । प्रत्येक जस्तो म्यानपावरमा आवेदन गर्न पासपोर्टको सक्कल कपीनै राख्नु पर्ने रे । सक्कल कपि नराखे आवेदन नै नलिने रे । सक्कल कपि नराखेमा फेरी अर्को अर्को म्यानपावरमा आवेदन गर्छन र यता आउँदैनन् भनेर पासपोर्टको सक्कलकपी राख्ने गरेको मैले बुझे । सकेसम्म सिधै वैदेशिक रोजगारीकालागि जाने व्यक्तिलाइ म्यानपावरका कर्मचारीहरुले रोजगारका बिषयमा जानकारी दिन नमान्ने रहेछन् । किनभने उनिहरुसँग आर्थिक कुराहरुको मोलमोलाइ गर्न अप्ठयारो हुने भएकाले एजेन्ट मार्फतनै आउनु पर्ने उनिहरुको धारणा थियो । त्यतिमात्र नभइ भोली कुनै उजुरबाजुर परेमा सबैभन्दा पहिला एजेन्टनै समातियोस भन्ने पनि हुने रहेछ । हामि पनि वैदेशिक रोजगारका बिषयमा बुझ्ने सिलसिलामा एयरपोर्टको एक म्यानपावर कम्पनिमा पुग्यो ।

वैदेशिक रोजगारका बिषयमा बुझ्न खोज्दा सुरु सुरुमा कम्पनिका कर्मचारीले बोल्न चाहेनन् । उहाँहरु दुई जना रोजगारीमा जाने हो । थप पाचँ सात जना पनि गाउँबाट आउँदै छन् भने पछि बल्ल कुरा गर्न थाले ।म्यानपावरका प्रमुखले भने हामि सकरभर वैदेशिक रोजगारीमा जाने एक दुई जना व्यक्तिसँग डिल गर्दैनौ । किनभने पैसाको बिषयमा कुरा गर्न पनि गारो । फेरी भोली कुनै घटना घटेमा सरकारी झमेला पनि कसले झेल्छ र उनको भनाइ थियो । तपाइहरु आइहाल्नु भयो । फेरी थप अरुछन भनेपछि मात्र कुरा गरिएको हो । नत्र भने एजेन्ट मार्फतनै आउनु पर्छ म्यानपावरमा उनले भने । यो दुई साताको अवधिमा हामि म्यानपावर पुग्दा आवश्यक कागजात फोटोकपी,प्रिन्ट गर्ने पसलहरुमा छ्यापछ्याप्ती एजेन्टहरु भेटिएको पाइयो । उनिहरु फोनमा यहाँ यस्तो रोजगारीको अवसर छ तर यति रकम अग्रिम चाहिन्छ भन्ने मोलमोलाइ गरेको सुने । दिनभर फोनमा मोलमोलाइ गरेर मज्जाको आम्दानी गर्ने एजेन्ट र म्यानपावरको जागिर कति गज्जब ।

सार्वजानिक बसमा पनि एजेन्टको ठगी प्रयास

काठमाण्डौ चल्ने सार्वजानिक बसमा समेत एजेन्टहरु भेटिने रहेछन । एक दिन हामि साझ म्यानपावर बुझेर घर फर्किदै थियौँ । दाइ पछाडि हुनुहुन्थ्यो । म अगाडिको सिटमा थिए । पछाडि आफु एजेन्ट भएकाले तपाइ वैदेशिक रोजगारमा जाने हो भने आफ्नोमा आउन भन्दै थिए । अलि राम्रो कमिशन दिए एकसातामै भिसा झार्दिने भनेर दाइलाइ फकाउँदै थिए । आफ्नो घर खोटाङ् बताउने एजेन्ट दाइका कुरा सुनेर मलाइ मुसुमुुसु हास्न मन लाग्यो । मलाइ लाग्यो काठमाण्डौका प्रत्येक सार्वजानिक बसमा दुई चार जना एजेन्ट हुन्छन जस्तै लाग्यो । एउटा मान्छे म्यानवापरलाइ बुझाएमा एजेन्टलाइ पचास हजारसम्म आम्दानि हुने रहेछ । अझ भिसा झरेपछि सम्बन्धित रोजगारमा जाने व्यक्तिले खुशिले पार्टी दिनुपर्ने आन्तरिक नियम पनि रहेछ । त्यो पनि बुझ्ने मौका पाए ।

सार्वजानिक बसमा भेटिएको थाकेको अनुहार

दाइ र म सामाखुशि स्थित एक म्यान्पावरमा आवश्यक कागजात बुझाएर फर्किदै थियौँ । हामि गाडिको पछाडिको सिटमा थियौ । आगाडि पट्टी एक जना गाला भित्र पट्टी छिरेका झुत्रो कपडा लगाएका व्यक्ति हातमा क्लियर ब्यागमा केही कागजात लिएर गाडिमा यात्रा गर्दै थिए । उमेरले सायद चालीस काट्नै लागेका थिए । त्यो ब्याग भित्र पासपोर्ट पनि थियो । उनको अनुहारमा निरासाको बादल मडारिएको प्रष्ट देखिन्थ्यो । सायद ठुलै पारिवारिक समस्याले उमेर ढल्किसके पछि विदेशिनु पर्ने बाध्यता आइलागेको थियो । मैले बोल्न खोजे दाइ कुन देशको भिसा लगाउनु भयो नि भनेर दुई चार पटक सोधे तर ति व्यक्ति बोल्न चाहेनन् । नसुने झै गरेर बसिरहे । मलाइ लाग्यो उनले मलाइ एजेन्ट सम्झिए । एजेन्टबाट ठुलै धोको पाएरै म सँग बोल्ने चाहेनन् जस्तो मैले अनुमान गरे । जे भएपनि उनको त्यो निरासा,शारिरिक बनावट अनि ढल्किदो उमेरमा विदेशिन तम्सिएका भौतिक शरिर सँगैको उनको बाध्यात्मक परिस्थिति नियाल्दा मन साह्रै अमिलो भयो । लाग्यो मेरै देशमा उद्योग धन्दा प्रसस्त स्थापना भएको भए,नेपालमै रोजगारीका अवसर भएको भए यसरी मनका खुशिलाइ तिलाञ्जलि दिएर विदेशमा पसिनाको खोलो बगाउन जानु पर्ने थिएन होला । के गर्ने मेरो देश गरिब छ नेता धनि छन् । गरिबले मासिक बीस हजार कमाउन भावनाको अटुट साइनो गाँसिएको परिवार अनि देश छोड्नु पर्ने बाध्यता छ । अझ भनौ परिवारको एक छाक पेट पाल्न,एकसरो लगाउन विदेशको चर्को घाम भन्न पाउनु छैन् । गगनचुम्मी भवनमा मुठीमा सास राखेर काम गर्नु परेको छ । अरबका जंगलमा बिसालु सर्प डरले काप्दै काप्दै दुई चार रुपैया कमाउनु परेको छ ।

एयरपोर्टमा जब मान्छे बेच्ने मोलमोलाइ भइरहेको थियो

म अर्को मन कटक्क खाने किस्सा सुनाउँछु । वैदेशिक रोजगारीका बिषयमा बुझ्न सिनामंगल स्थित एउटा म्यानपावरमा पुग्यौ । मैले कामका बिषयमा म्यानपावरका एक मुख्य कर्मचारी सँग कुरा गरिरहेका थिए । त्यतिकैमा एक जना कपाल दारी फुलेका एक अन्दाजी पचास बर्ष नाघेका व्यक्ति भित्र छिर्छन् । उनि तराइ मुलका थिए सायद । हामिले कुरा गर्दा गर्दै तिनै म्यानपावरका व्यक्तिलाइ उनका समिपमा पुगेर भने म पचास जना मान्छे ल्याउँछु मलाइ प्रतिव्यक्ति कमिशन कति दिने ? हामिबाट प्रतिव्यक्ति कति कमिशनको आस हो भन्नुस भने । तर,ति व्यक्ति बोलेनन् । फेरि तिनै म्यानपावरका मान्छेले पहिला जतिसक्दो धेरै मानिस ल्याउनु भयो भने तपाइलाई राम्रो कमिशन आउँछ भने । एकछिन पछि तपाइसँग छुट्टै मिटिङ् हुन्छ उनले भने । हामि पनि खाडि मुलुकको रोजगारी बारेमा बुझेर फर्कियौँ । मलाइ लाग्यो ।

निरिह राज्य

म्यानपावर र एजेण्ट मिलेर खुलमखुला मान्छे बेच्ने धन्दा चल्दो रहेछ काठमाण्डौमा । त्यसमा राज्य निरिह बन्दो रहेछ । मान्छे बाध्यतालेनै वैदेशिक रोजगारीमा जाने गर्दछ । घर परिवार आफ्नो देश छोडेर कसलाइ विदेशि भुमिमा पशु झै निरिह भएर पसिना बगाउन रहल लाग्दो हो । वैदेशिक रोजगारीमा जानेहरुले धेरै जसो चर्को ब्याजमा ऋण काडेर विदेशिने गर्दछन् । त्यसमा पनि काठमाण्डौ आउजाउ खर्च,एजेन्टलाइ बुझाउनु पर्ने चर्को रकम,रकम फसाइदिने जोखिम अनेकन समस्या नेपाली नागरिकले झेल्नु परेको छ । एक छाक मिठो खान एकसरो लगाउन आफ्ना छोराछोरीको राम्रो शिक्षा दिने मनसायले विदेशिने गरिबहरुको पिडा हिमाल भन्दा पनि अग्ला छन् । नेपालमा जम्माजम्मी एक हजार दुई सय म्यानपावर छन् । २०८० सम्ममा ५९ लाख ६९ हजार नेपालीले श्रम स्विकृति लिएर बाहिरीएको तथ्याकंले देखाउँछ । दैनिक जसो २ देखि देखि ३ हजार नेपाली नागरिक वैदेशिक रोजगारीका लागि बाहिरिने गरेकाछन् । चालु आर्थिक बर्षमा गएको पाँच महिनामामात्रै ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ । राज्यले विदेशमा श्रम पसिना बगाएर कमाएको पैसाबाट आएको रेमिट्यान्सबाट देश चलेको छ । तर, वैदेशिक रोजगारीमा पसिना बगाउन जान्छु भन्दा पनि नागरिकलाइ सहज भने पक्कै छैन् । वैदेशिक रोजगारीमा निर्दोश गरिब नागरिक ठगिने क्रम बड्दो छ । सरकारको फ्रि भिसा फ्रि टिकेटको नारामा पुरै लुटतन्त्र छाएको छ । तर, पनि राज्य निरिह छ । अन्य देशहरुले आफ्नो देशमा उत्पादित बस्तुहरु निर्यात गरेर अर्थतन्त्र चलाएका छन् । समृद्ध मुलक बनाउन सफल भएका छन् । तर,हाम्रो देशमा बस्तु होइन मान्छे निर्यात हुन्छ । नेपालले बस्तु होइन नागरिक बेच्छ । त्यसैले पनि नेपाललाई नागरिक बेच्ने देश किन नभन्ने ?

यसरी हुन्छ राज्यलाइ कर छली

हामिले घुमेका धेरै जसो म्यानपावरले वैदेशिक रोजगारीमा गए बाफतको रकम नगतै एजेन्ट मार्फत उपलब्ध गराउनु पर्ने बताए । मलाइ शंका लागेर सामाखुशी स्थित एक म्यानपावरका प्रमुखसँग सोधे पनि । नगतै दिएपनि बैंक खाता वा चेक मार्फत दिए पनि पैसा दिए त भयो नि भनेर सोधे । उनले हुँदैन भने । चेक वा बैंक खाता मार्फत दिने भए हामि तपाइलाइ विदेश पठाउन सकिदैन् अन्तै जानुस भने । मैले अझ नम्र रुपमा प्रश्न गरे । नगत रकम दिँदा ठगिने सम्भावना धेरै हुन्छ । हिजोआज यस्ता धेरै घटना तपाइले पनि सुन्नु भएको होला नि । हामि तपाइकै म्यानपावर मार्फत जान्छौ तर,नगतनै दिनुपर्ने कारण केहो राम्रोसँग बुझाइदिनुसन न मैले भने । यति भनेपछि उनले कुरा खोले । बैंक खातामा पैसा जम्मा गर्दा कारोबार धेरै देखिने भएकाले राज्यलाइ धेरै कर तिर्नु पर्ने हुन्छ । त्यसैले पनि नगदनै लिने गरेका छौ । तपाइका मान्छेलाइ भनेकै काममा विदेश उडाए त भयो उनले थपे । काठमाण्डौको एकाद बाहेक प्रायः म्यानवारवले वैदेशिक रोजगारमा पठाए बाफतको रकम नगतनै लिने गरेको मैले पाए । वास्तबमा म्यानपावरले गरिब आशुँमात्र बेच्ने रहेनछन् देशलाइ पनि करोडौँ कर छल्ने रहेछन् । राज्यले यता तिर ध्यान दिने कि नदिने । करिब दुइ साताको वैदेशिक रोजगारको खोजीकालागि भएको दौडधुप पछि बल्लतल्ल कुनै एउटा एजेन्ट मार्फत गाउँले एक जना दालइे दुबइमा भिसा लगाएर फर्किनु भयो । अर्को साथीको मेडिकल पास नभएपछि त्यत्तिकै घर फर्किनुभयो । यस बिचमा एउटा म्यानपावरमा बुझाएको सक्कल पासपोर्ट फिर्ता लिएर अर्कोमा एप्लाइ गर्नकालागि बुवा बितेकै अभिनय समेत गर्नुपरेको थियो दाइले । राज्यको उदासिनताले गरिबको गर्जोमा ब्यापार गरिरहेका म्यानपावरको यथाशिघ्र नियमन गर्न जरुरी छ ।

रामचन्द्र न्यौपाने
सञ्चारकर्मी,डोल्पा