मुख्यमन्त्री कँडेल भन्छन जिम्मेवारी अनुसार आफ्नो कामको भारी आफै बोक्नुपर्छ

जैतुन अनलाइन | 2025-01-20

माघ ०७, 

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय, प्रदेश र संघीय सरकारले संविधानमा उल्लेखित जिम्मेवारी अनुसार आफ्नो कामको भारी आफैले बोक्नुपर्ने बताएका छन् । आइतबार सुर्खेतमा आयोजित संयुक्त पुनर्लाभ कार्ययोजना प्रदेश स्तरीय सिकाइ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपालको संविधानमा उल्लेखित जिम्मेवारी अनुसार प्रदेश सरकारले काम गर्ने तर स्थानीय र संघीय सरकारको सबै कामको भारी बोकेर प्रदेश सरकार हिँड्‌न नसक्ने बताएका हुन् ।

आफ्नो-आफ्नो काम आफैले गर्ने एकले अर्कालाई सहयोग गर्ने तर एक आपसका कामका भारी अरुले पनि बोक्ने हो भने कसैको पनि कार्य सम्पादन राम्रो नहुने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । कर्णाली प्रदेशले सरकारले साङ्केतिक रुपमा काम गर्न सकिन्छ भनेर जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा पचास करोड छुट्टाएर विद्यालय र स्वास्थ्य चौकीको भवन बनाउने काम अघि बढाएको मुख्यमन्त्री कँडेलले बताए । सरकारले सुशासनको अभियान नै चलाएको हुनाले सरकार पारदर्शी हुन्छ नै सरकारलाई पारदर्शी हुन सिकाउने विकास साझेदार संस्था आफू पनि पारदर्शी हुनुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।

जनताले पनि थाहा पाउने गरी विकास साझेदार संस्था पनि पारदर्शी भएर काम गर्नु पर्नुपर्ने मुख्यमन्त्री कँडेलेको भनाई थियो । संयुक्त पुनर्लाभ कार्ययोजना प्रदेश स्तरीय सिकाइ कार्यशाला गोष्ठी कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निमित्त सिइओ डा. भीष्मकुमार भुषाल, पालिकाका प्रमुख र उपप्रमुखलगायको उपस्थिति रहेको थियो ।