पुस १९,
सुर्खेत : शुक्रबार बसेको कर्णालीको मन्त्रिपरिषद्को बैठकले १८ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार सरकारले जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको शेयर किन्ने भएको छ ।
उक्त जलविद्युत् आयोजना १२० मेगावाट क्षमताको छ ।
निर्माण कम्पनीले आह्वान गरेको शेयरमध्ये ४१ करोड ४९ लाख ३० हजार बराबरको शेयर लगानी कर्णाली सरकारले गर्ने भएको उनको भनाइ छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन माघ ७ गते आह्वान गर्ने, लुम्बिनी सरकार र कर्णाली सरकारबीच विकास तथा समृद्धिका लागि गरिएका प्रतिबद्धता अनुमोदन गर्ने, बालसुधार गृह स्थापना तथा सञ्चालन गर्ने निर्णय पनि भएका छन् ।
कर्णाली प्रदेश आमसञ्चार व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि बनेको सैद्धान्तिक अवधारणापत्र स्वीकृत गर्ने, कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०८१ स्वीकृत गर्ने, कर्णाली प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेश जीवनाशक विषादी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
शाहका अनुसार कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने, मुख्यमन्त्री डिजिटल शिक्षा र नमूना विद्यालय कार्यक्रम कार्यविधि, २०८१ स्वीकृत गर्ने, कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने, विद्यालय पूर्वधार विस्तार सुधार कार्यक्रम कार्यविधि, २०८१ र महिला उद्यमी पुरस्कार वितरण कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको छ । यस्तै कर्णाली प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना पनि शुक्रबारको मन्त्रिपरिषदबाट पारित गरिएको छ ।
स्रोत https://infokarnali.com/?p=1711