यातायात व्यवस्थित गर्न दुई जिल्लाको संयुक्त सुरक्षा बैठक

जैतुन अनलाइन | 2024-10-19

कार्तिक ०३,

डोल्पा : सड्क यातायात व्यवस्थित गर्न दुई जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठक बसेको छ । शुक्रबार डोल्पा जिल्ला प्रशासनमा जाजरकोट र डोल्पाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुको संयुक्त बैठक वसेको हो । जाजरकोट डोल्पा सड्क खण्ड अर्थात भेरी करिडोरमा यातायातका क्रममा नागरिकले दुख भोगि रहेको भन्ने गुणासो धेरै बढेपछि ति समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बिषयमा दुई जिल्लाबिच सुरक्षा बैठक गरिएको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

प्रजिअ महतका अनुसार  यातायात सहज र सरल रुपमा गर्न पाउने अधिकारलाई नागरिकले प्रत्याभुत गर्नेगरी दुई जिल्लाको सुरक्षा समितिको बैठकले निर्णय गरी कार्यान्वयनमा लिई सकेको बताए । यात्रुको क्षमता भन्दा धेरै यात्रु लैजाने सवारी साधनलाइ अव जाजरकोटमा रोकेर एक साता सम्म चलाउनवाट बञ्चित समेत गरिने भएको छ । चालकलाई कारवाही गरेर मात्रै ति गलत कार्यहरु नियन्त्रणमा नआउने देखिएपटि दुई जिल्लाको संयुक्त सुरक्षा बैठकले अव एक साता सम्म चलाउन नपाउने गरी गाडी नै थन्क्याएर राख्ने भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको नेतृत्वमा रहेको दुई जिल्लाको सुरक्षा समितिको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । उक्त संयुक्त बैठबले यस अघिका दुई जिल्ला बीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा समेत गरेको  प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । प्रजिअ महतका अनुसार दुई जिल्ला बीच पर्ने सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाई लागु औषध, हातहतियार लगायत अन्य अवैध वस्तुहरुको उच्च निगरानी गरी यस्ता वस्तुको कारोबार तथा ओसार पसारलाई नियन्त्रण गर्ने । सीमा आसपासका क्षेत्रमा आगलागी, वाढी पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना भएमा आपसी समन्वय र सहकार्य गरेर संयुक्त टोली परिचालन गरी खोज, उद्दार र राहतका कार्य सञ्चालन गर्ने समेत निर्णय भएको बताए ।

त्यसै गरी अन्तर जिल्ला यातायात, विद्युत जस्ता सेवालाई सुरक्षित र भरपर्दो बनाउन तथा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध हुन नदिन सडक सुरक्षालाई व्यवस्थित बनाउन समन्वय तथा सहजिकरण गर्ने । अवैध जडिवुटी तथा पशुजन्य आखेटोपहारको तस्करी नियन्त्रण, चोरी निकासी, एक जिल्लाबाट अपराध गरी अर्को जिल्लामा लुकिछिपी बस्न सक्ने घटनामा एक आपसमा सूचना आदान प्रदान गरी अपराध नियन्त्रणमा सहयोग पुर्याउने निर्णय बैठकले गरेको छ ।

मंसिरमा हुन गईरहेको स्थानीय तहको उप निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न एक आपसमा सूचना आदान प्रदान गरी समन्वय र सहकार्य गर्ने । दुई जिल्लाका सीमावर्ती स्थानीय वासिन्दा बीच उत्पन्न हुन सक्ने विवादलाई मध्यनजर गरी सूचना आदान प्रदान गरेर शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्ने समेत दुई जिल्लाको सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । शुक्रबार डोल्पा सदरमुकाम दुनैमा दुइ जिल्लाको सुरक्षा समितिको बैठक बसेर जाजरकोट फर्केको जाजरकोटको सुरक्षा समितिले तल्लुवगरमा समेत यातायातको अनुगमन गरि नियमन गर्न जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले यातायात व्यावसायीलाइ निर्देशन दिएका छन ।

जाजरकोटबाट प्र.जि.अ. उमाकान्त अधिकारी, प्र.से. दिपक के.सी. चन्दननाथ गण, प्र.ना.उ. पुरुषोत्तम प्रसाद पाण्डे, स.प्र.ना.उ. लाल बहादुर चन्द  सशस्त्र प्रहरी, प्र.अ.अ. सन्तोष बस्नेत – राष्ट्रिय अनुसन्धान,  डोल्पाका प्र.जि.अ. रोम बहादुर महत, सेनानी अमृत गिरी – देविदत्त गण ‘क’ गुल्म,  सेनानी  पुस्कर बहादुर चन्द – संग्राम शार्दुल गुल्म, प्र.ना.उ. हरिकृष्ण के.सी. स.प्र.ना.उ.  भुवन अर्याल – सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म प्र.अ.अ. मेघराज कडेल – राष्ट्रिय अनुसन्धानको संयुक्त टोली पहिलोपटक डोल्पामा बैठक बसेका हुन । डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको अग्रसरतामा पहिलोपटक दुई जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक डोल्पामा बसेको हो । अव छिट्टै रुकुम पश्चिमका सुरक्षा प्रमुखहरुसंग पनि यातायात व्यवस्थित बनाउन बैठक बस्ने प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए ।