६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको शुभारम्भ

जैतुन अनलाइन | 2024-09-01

भाद्र १६,

डोल्पा : ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको शुभारम्भ भएको छ । आईतवार शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे मेला बिधिवत रुपमा सुरु भएको हो । दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराकासाथ ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको शुभारम्भ भएको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार  उप-समितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए।

१२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाले सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकको विश्वास रहेको छ ।हरेक १२ बर्षमा लाग्ने यो मेला रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने डोल्पो दर्शन समेत बुझ्न सकिन्छ।

भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् ।  मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत संचालन हुने उपाअध्यक्ष गुरुङले बताए । मेलाको उद्धघाटन गर्नको लागि डोल्पा पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल र भौति पुर्वाधार मन्त्री भने मौसम खरावीका कारण मेला स्थलमा पुग्न सकेनन । मेलमा सहभागि हुन नसकेपछि मुख्यमन्त्री कडेल भने आईतवार नै सुर्खेत फर्किएका छन ।

पूर्व सहरी विकास मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा पैदल हिडेर नै मेलामा पुगेका छन भने डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्।  प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने बताइएको छ। मौसममा आएको खरावीका कारणा हेलीकप्टरले उडान भर्न नसकेपछि सयौ भक्तजन दुनैमा रहेका छन ।

तस्विर : पूर्व शहरी विकास मन्त्री तथा डोल्पा जिल्लाका संघिय सांसद धन बहादुर बुढा