पुर्व मन्त्री बुढाले  गरे खानी गाउँ सिँचाई तथा स्याउँ खेती उद्घाटन

जैतुन अनलाइन | 2024-08-27

 डोल्पा : डोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान संघीय सरकारका शहरी विकास मन्त्री धन बहादुर बुढा डोल्पाका विभिन्न गाउँ वस्तीहरुमा जनता भेटघाट घरदैलो अभियानमा व्यस्त रहेका छन । सांसद बुढा शहरी विकास मन्त्री हुदा यस चालु आवको लागि डोल्पामा मात्र रु १ अर्ब ७० करोड बजेट विकास निमार्णको लागि विनियोजन गरेका थिए । पुर्व मन्त्री बुढा जनता भेटघाट गरेर विवाद रहित दिगो विकास हुने गरि बजेट कार्यन्वयन गर्न सुझव दिने र सुखदुख आदान प्रदानको लागि डोल्पाका गाउँ वस्तीमा पुगेका हुन ।

घरदैलो अभियानकै क्रममा प्रतिनिधि सभा सदस्य तथा निवर्तमान शहरी विकास मन्त्री धन बहादुर बुढाले काइके गाउँपालिका वडा नं. ५ खानी गाउँ स्थित खानीगाउँ सिँचाई तथा स्याउँ खेती, खानेपानी धारा उद्घाटन गरेका छन । पुर्व मन्त्री बुढाले ताम्रापत्रमा अनावरन गरि विभिन्न निकायको सहयोगमा निमार्ण गरिएका खानीगाउँ सिँचाई, स्याउँखेती र खानेपानीका धाराको औपाचारिक उद्घाटन गरेका हुन । खानी गाउँमा ८५ घरधुरीलाई एक घर एक धारा निमार्ण गरिएको छ भने सामुुहिक रुपमा दश हजार भन्दा बढी स्याउँका विरुवा लगाईएको छ ।

सामुयिक रुपमा सवै मिलेर काम गरेको देख्दा खुसी लागेको भन्दै आगामी दिनमा खानी गाउँको विकासको लागि सक्दो सहयोग गर्ने पुर्व मन्त्री बुढाले बताएका छन । आफ्नो व्यपार व्यवसायलाई थाती राखेर आफ्नो जन्म थलोमा सामाजिक काम गरि स्याउँ खेतीमा गरेको योगदान प्रति उपभोक्ता समितिका अध्यक्ष छिरिङ टसी रोकायालाई पुर्व मन्त्री बुढाले धन्यवाद व्यक्त गरे । छिट्टै खानी गाउँ सम्म मोटरबाटोको पहुँच पुग्ने र यहाँ उच्च भेगमा उत्पादन भएका स्याउले राम्रो बजार लिने विश्वास रहेको उनले बताए ।

यस्तै खानी गाउँमा विजुली बत्ती पुर्याउनको लागि सम्बन्धीत निकायमा पहल भैरहेकोले छिट्टै विधुत संचालनमा आउने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रममा स्थानीय बासिन्दाले पुर्व मन्त्री तथा सांसद बुढालाई भव्य स्वागत सम्मान गरेका थिए भने खानेपानी, सिँचाई स्याउँ खेती निर्माणमा सहयोग तथा योगदान पुर्याउने विभिन्न व्यक्तीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।