पुर्ण कुमार-असार २२,
डोल्पा : सामाजिक विकास कार्यालय डोल्पाले आर्थिक वर्ष २०८०/८१ मा कार्यालय गरेका कार्यक्रमबारे सञ्चारकर्मीहरुसग अन्तरक्रिया गरेको छ। शनिबार दुनैमा नेपाल पत्रकार महासंघ डोल्पाको समन्वयमा कार्यालयले यस वर्षमा आफ्नो कार्यालयबाट सम्पादित गतिविधि बारे जिल्लाका सञ्चारकर्मीलाई एक कार्यक्रमका बिच जानकारी गराएको हो । आगामी बर्षमा कसरी काम गर्दा अझै योजनाहरु सफल हुन सक्छन भन्ने बारे राय सुझाव सङ्कलन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको समाजिका विकास कार्यालय डोल्पाजे जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको पुँजीगत तर्फ ४०% मात्रै खर्च भएको देखाएको छ। कार्यालयले जिल्लाका आठ ओटै स्थानीय तह समेटिने गरी काम गरिरहेको बताएको छ। गत आर्थिक वर्षमा कार्यालयको पुँजीगत तर्फ ४ करोड ७७ लाखमा १ करोड ८८ लाख ५० हजार ५ सय चौतीस खर्च भएको र चालु तर्फ २ करोड ८५ लाख ८० हजारमा १ करोड ८७ लाख ६७ हजार ३ सय ७ रुपियाँ खर्च भएको बताएको छ। कार्यालको पुँजीगत र चालू गरेर ५० % मात्र खर्च भएको देखाएको छ।
कार्यालय द्वारा संचालित योजनाहरुको कतिपय ठाउँमा निर्माण कार्य सम्पन्न हुने चरणमा र भुक्तानी दिनु पर्ने बाँकी रहेका कारण समेत खर्च प्रतिशत कम देखिएको सामाजिक विकास कार्यालय डोल्पाका निमित्त प्रमुख धन बहादुर शाहीले बताउनु भयो।
विद्यालयको भवन निर्माण, विद्यालय घेराबार निर्माण तथा सौचालय सम्बन्धी संरचनाहरुको सम्झौता तथा कार्यान्वयन, विद्यालयको भौतिक निर्माण कार्यको अनुगमन, छात्रबृत्ति सम्बन्धी सुचना प्रकाशन, अभिलेखीकरण, छनौट तथा वितरण , महिला ,बालबालिका, दलित, जनजाति, अपाङ्ग, सामाजिक विकृति, ज्येष्ठ नागरिक सम्बन्धी विभिन्न चेतना तथा सचेतना मुलक कार्यक्रमहरुको सञ्चालन जस्ता कार्यक्रमहरु आफ्नो कार्यालयको सम्पादित प्रमुख कार्यहरु भएको जनाइएको छ।
कार्यालयले आफ्नो पुँजीगत कार्यक्रम अन्तर्गत काइकेमा ५० लाख लागतमा आवासीय विद्यालय भवन निर्माण, मुड्केचुला ०८ मा पर्ने कैलाश आबिमा भवन निर्माण, जगदुल्ला ०३ थापा गाउँमा स्थित महादेव आविमा भवन निर्माण, औतारी आवि त्रिपुरासुन्दरी ०७ , शुभकामना आबि रहमा भवन निर्माण, मुकोट आबी शे- फोक्सुण्डोमा भवन निर्माण, सयपत्री आवी छार्कामा भवन निर्माण, सगरमाथा आबि काइकेमा प्रति भवन ५० लाखको लागतमा भवन निर्माण गरिएको पाइएको छ।
त्यस्तै कार्यालयले चतुर्भुज आवि, त्रिपुरा मावि काटियाचौर , मुनाल आवि, धौलागिरी आविमा प्रति विद्यालय १० लाख लागतमा घेराबार निर्माण गरिएको छ।कार्यालयले दापु खेल मैदान, त्रिपुरासुन्दरी खेल मैदान र कलाङ्ग खेल मैदान निर्माणको लागि आएको १२ लाख बजेट बिभिध कारण खर्च गर्न नसकेको निमित्त प्रमुख शाहीले बताए ।
कार्यलयले चालु तर्फको बजेटमा अपाङ्गता भएका व्यक्तिलाई तालिम, जोखिममा रहेका महिला बालबालिकालाई सहयोग , विद्यालयहरुमा आइसिटी कार्यक्रम, जिल्ला भित्रका २ वटा सामुदायिक क्याम्पसमा ५/५ लाख अनुदान, समुदायमा आधारित बाल संरक्षक प्रणाली अन्तरगत आमा बुबा विहिन बालबालिका लागि संक्षरण कार्यक्रम, विशेष विद्यालयलाई शैक्षिक सामग्री अनुदान, जिल्ला स्तरमा विद्यालयतहको प्रतिभा पहिचान कार्यक्रम , खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापन खर्च, एकपालिका एक वाविके शैक्षिक सामाग्री अनुदान कार्यक्रम, अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र सञ्चालन, किशोर किशोरी रूपान्तरण कार्यक्रम, बालमैत्री स्थानीय शासन प्रबर्दन कार्यक्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन, जातीय विभेद बिरुद्दको अभियान सञ्चालन, बालअधिकार तथा शारीरिक दण्ड सजाय बिरुद्दको अभियान, महिला दलित तथा जनजातिहरुका लागि क्षमता विकास कार्यक्रम जस्ता कार्यक्रम गरी खर्च गरिएको बताएको छ।
कतिपय कार्यक्रमका लागि पेश्की स्वरूप केही रकम निकाशा गरेको र कार्यक्रम गर्न बाँकी रहेको समेत बताएको छ।कार्यालयको बेरुजु रकम ४६ लाख १९ हजार ५ सय ७४ रुपैयाँ रहेको छ।विद्यालयका पक्की आरसीसी भवन निर्माण, विद्यार्थीहरुले विभिन्न प्रकारका छात्रबृत्ति आफ्नै जिल्लाबाट प्राप्त गरेका, विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमले समुदायका व्यक्तिहरुमा सचेतना अभिवृद्धि भएको, विपदबाट क्षति भएका विद्यालयहरुले थोरै भएपनि राहद प्राप्त गरेका , जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई सहयोग प्राप्त गरेको कार्यालयले आफ्नो प्रमुख उपलब्धि भएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी , स्थानीय तहका जनप्रतिनिधि संगको समन्वयमा विद्यालय तथा योजनाहरुको अनुगमन, कार्यालय लगबुक, सेवाग्राहीको विवरण संकलन कार्यालयको असल अभ्यास रहेको बताइएको छ।कार्यक्रममा सञ्चारकर्मीहरुले राखेको सल्लाह सुझाव समेत संकलन गरिएको थियो।कार्यक्रममा जिल्ला स्थित मीडिया हाउसका सम्पादक तथा प्रकाशक, जिल्ला स्थित क्रियाशील सन्चारकर्मी लगाएत महासंघका सदस्यहरूको उपस्थित रहेको थियो।