असार ११,
डोल्पा : काईके गाउँपालिकाको १४औँ गाउँसभाबाट पालिकाका कर्मचारी सम्मानीत भएका छन । गाउँपालिकाले १४ औँ गाउँसभामा बर्षभरी जनताको सेवामा उत्कृष्ट सेवा प्रदान गर्ने दुइजना कर्मचारीलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा काईके गाउँपालिकामा कार्यरत वडा सचिव एलिजा अधिकारी र देवेश कुमार बिष्टलाई नगद ५० हजार सहित दोसल्ला प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हो ।
वडामा कार्यरत रहदा ब्यक्तिगत घटना दर्ता अनलाईन प्रणाली चुस्तदुरुस्त अनि नागरिक मुखि भएर उत्कृष्ट काम गरेकोले पालिकाको छनौट समितिले दुईजना वडा सचिवलाई नगद ५० हजार सहित सम्मान गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सम्झना पराजुलीले बताईन । पराजुलीका अनुसार कर्मचारीको मनोल उच्च राख्न र जनताको सेवा प्रदान गर्दा कर्मचारीलाई हौसला प्रदान गर्न यसरी सम्मान गरिएको जानकारी दिईन ।
काईके गाउँपालिकाले हरेक बर्ष गाउँसभामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको छ । यसरी कर्मचारीलाई पनि हौसला दिनु भनेको स्थानीय सरकारको एक सफलता पनि भएको र आगामी दिनमा अन्य कर्मचारीले पनि उत्कृष्ट हुनेगरी काम गर्नपर्ने गाउँपालिका अध्यक्ष अंगद रानाले कर्मचारीलाई आग्रह समेत गरे । यसका साथै काईके गाउँपालिका शिक्षा शाखाले समेत पालिका भित्रका बिद्यालयहरु मध्यबाट उत्कृष्ट एक बिद्यालय एक प्रधानाध्यापक र एक शिक्षकलाइ समेत नगद रासि सहित सम्मान गरेको छ ।