दादुरा-रुबेला खोप डोल्पामा दुई चरणमा लगाईने

जैतुन अनलाइन | 2024-03-01

फागुन १८,

डोल्पा : दादुरा-रुबेला खोप अभियान डोल्पामा यहि फागुन २२ गतेबाट सुरु हुने भएको छ । देशभर फागुन १३ देखी चैत्र ७ गते सम्म दादुरा-रुबेला खोप राष्ट्रिय अभियानको थालनी भए अनुसार डोल्पा हिमाली जिल्ला भएकाे कारण जिल्लामा दुई चरण गरेर खोप लगाईने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । शुक्रबार जिल्ला खोप समन्वय समितिका पदाधिकारी र जिल्लाका सञ्चारकर्मिहरुको संयुक्त अन्तरक्रिया कार्यक्रममा दादुरा-रुबेला खोप अभियान बारे अभिमुखिकरण गरिएको हो ।

पहिलो चरणमा तल्लो डोल्पाका जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकामा फागुन २२ गते देखी २९ गते सम्म दादुरा-रुबेला खोप लागाईने छ । त्यसै गरी दोस्रो चरणमा माथिल्लो डोल्पाका छार्का ताङसोङ गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकामा चैत्र १ गतेदेखी ७ गते सम्म दादुरा-रुबेला खोप लागइने मिति तय भएको हो । ९ महिना देखी ५ बर्ष सम्मका वालवालिकाहरुलाई यो खोप लगाईने भएकोले सबै स्थानीयतह र सरोकारवाला निकायाले यो अभियानलाई सफल पारिदिन स्वास्थ्य कार्यालयले सबैमा अनुराेध गरेको छ ।

जगदुल्ला गाउँपालिकामा २०९,मुड्केचुला गाउँपालिकामा ४५६,त्रिपुरा सुन्दरी नगरपालिकामा ९७३,ठुलीभेरी नगरपालिकामा ६२४, काईके गाउँपालिकामा ३१६,छार्का ताङसोङ गाउँपालिकामा ८०,डोल्पोबुद्ध गाउँपालिकामा १२१ र शे-फोक्सुण्डो गाउँपालिकामा २५४ गरि कुल २ हजार ९ सय ३१ जना बालवालिकाले खोप पाउने छन । स्थानीयतहमा एक हप्ता र जिल्लामा १५ दिन फागुन २२ गतेदेखी चैत्र ७ गते सम्म खोप लगाईने छ ।

डोल्पामा ८ वटा स्थानीयतहका कुल २ हजार ९ सय ३१ जना बालवालिकाहरुलाई दादुरा-रुबेला खोप लागइने छ । यस भन्दा पहिले खोप लगाई सकेका बालवालिकाहरुलाई पनि यो अभियानमा खोप लगाउन पर्ने भएकोले सबैले आफुलाई पायक पर्ने खोप केन्द्रमा गएर तोकिएको मितिमा खोप लगाउन स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नबिर सुनारले आग्रह गरे । सुनारले भने यो राष्ट्रिय अभियान हो यसको सहि रुपमा फाईदा लिनुस डोल्पालाई शतप्रतिशत खोप प्रयोग गर्ने जिल्ला बनाउनुस । खोप लाउनुपर्ने बालवालिकाले उहि स्थानीयतह मै लगाउनुपर्ने बाध्यता भने छैन जिल्लामा जहाँ पायक पर्छ त्यहि लाउन पाईने छ भने देशको कुनैपनि खोप केन्द्रमा खोप लाउन छुट छ ।

सन २०२१ को एक सर्वे अनुसार ५ लाख भन्दा धेरै बालवालिकालाई दादुरा-रुबेला खोप लगाउनुपर्नेमा २०७६/०७७ देखी २०७९/०८० सम्म आई पुग्दा २ लाख बढी बालवालिकाले अझै पुर्ण खोप पाएका छैनन । सरदर हेर्दा हाल सम्म ८४ प्रतिशत मात्रै खोप लगाइएको छ भने ४ प्रतिशत बालवालिकाले एक डोज पनि खोप पाएका छैनन ।  दादुरा-रुबेला खोप राष्ट्रिय अभियानमा स्थानीयतहको अगुवाईमा ९५ प्रतिशत खोप समेटिने लक्ष्य रहेको छ । यो खोप लाउनुको मुख्य उदेश्य भनेको अपाङ्गता कम गर्नु मृत्युदर घटाउनु र शतप्रतिशत वालवालिका स्वस्थ राख्नु हो । नेपालमा २०३४ साल देखी १६ हजार खोप केन्द्रबाट १३ थरिका एन्टीडोज दिइएको छ ।