एक करोड लगानीमा शे–फोक्सुण्डोमा ६० शौचालय निर्माण

जैतुन अनलाइन | 2024-01-23

माघ ०९ रामचन्द्र न्यौपाने,
डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा एक करोड लगानीमा शौचालय निर्माण गरिएको छ ।
वडा नं २ मा पर्ने तिलिङ् र कराङ् गाउँमा एक करोड लगानीमा साठी घरधुरीकालागि आधुनिक शौचालय निर्माण गरिएको हो ।
आर्थिक बर्ष ०७८÷०८९ मा अर्थ मन्त्रालयबाट आएको पचास लाख र गाउँपालिकाको पचासलाख गरेर एक करोड लगानीमा स्थानीयको शौचालय बनाइएको निबर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङ्गले बताए ।


कुल एक सय पैतालिस घरधुरी रहेको दुइ गाउँमा शौचालय निर्माणकालागि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्री हुँदा उहाँले हाल्नु भएको पचास लाख र गाउँपालिकाको पचास लाख गरेर एक करोडमा निर्माण गरिएको उपल्लो डोल्पाका महिला नेतृ पेमा डोल्मा गुरुङ्गले बताइन् ।
‘आफुले माग गरे बमोझिम मन्त्री शर्माले एक करोडनै हाल्नु भएको थियो,तर विभिन्न कारणले काम ढिलासुस्ती हुँदा पचास लाख फ्रिज गयो,त्यसमा गाउँपालिकाबाट पचास थप भयो’उनले भनिन् ।
‘बाँकी पचासी घरधुरीमा शौचालय निर्माण गर्नकालागि पुर्व अर्थन्त्री शर्मासँग पहल गरिरहेको छु ,आशा छ छिट्टै काम हुनेछ ।’
शौचालय निर्माण टेण्डर र उपभोक्ता समिति मार्फत निर्माण गरिएको बताइएको छ ।