घरको झ्यालबाट आएका सुर्यका किरणहरुले मलाई कुत्कुत्याए । मोबाइल हेर्दा थाहा भयो, ‘ब्रेकफास्टका लागि फोक्सुण्डोमा अवस्थित पाँचतारे होटलमा जाउँ है’ भनि साथीले म्यासेज पठाएको रहेछ । म घर बाहिर निस्कन नपाउँदै उसैको फोन आयो र भन्यो, ‘म तेरो घर नजिकैको हेलिप्याडमा आइपुगेँ है त ।’ घरबाट गाडी नलिई हेलिप्याडसम्म फ्रि बससेवा छ, त्यही प्रयोग गरेँ । हिउँदमा धुलैधुलो र बर्खामा हिलैहिलोमा हिड्नुपथ्र्यो म सानैहुँदा । तर अहिले धुलो र हिलो देख्न नै मुस्किल छ । घरमा एउटा मेसिन छ जसले पब्लिक बस आएको संकेत गर्दछ । बस आएको संकेत पाउने बित्तिकै म बाहिर निस्केँ र बस चडेँ । पाँच मिनेटै बस पुग्यो हेलिप्याड नजिकै ।
घुम्नै पर्ने माझफाल क्षेत्र
मेरो साथी लोकेश सानैदेखि पाइलट बन्न चाहन्थ्यो तर पढाई राम्रो हुदाँहुदैंपनि पाइलट पढ्न पाएन । बुवाको आर्थिकले नभ्याउने भएकाले प्लस टु पनि गाउँमै पढ्यो । पढाई सकेपछि पनि केहीबर्ष गाउँमै हल्लियो । देशको राजनीतिक परिवर्तनपछि राज्यले युवाहरुलाई उद्यमशिल बनाउने नीति लियो । युवा भन्नाले पहिलाको जस्तो जुन पार्टीको सरकार त्यही पार्टीका कार्यकर्ता भन्ने थिएन । लोकेश कुनै पार्टीमा नलागे पनि सरकारको ‘युवा उद्यमशिल विकास कार्यक्रम’ अन्तरगत उन्नत पशुपालन तालिममा भाग लिन पायो । पढाईमा उत्कृष्ट त छदैंथियो, त्यसमा पनि उत्कृष्ट भयो । सरकारले केही पुजिँको पनि ब्यबस्था गर्यो जसले गर्दा उसले चौरी पालन गर्यो । केही बर्षमै उसले करोडौं पैसा कमाउन सक्यो र हेलिकप्टर किन्यो । केही महिनाको तालिम गरेर आफैं पाइलट पनि बन्यो । यही हेलिकप्टरबाट फोक्सुण्डो गइरहन्छ, किनकि धेरैजसो बिजिनेश डिल त्यतै हुन्छ ।
जहाँ अनेक थकाइ आनन्दमा परिणत हुन्छ्न छेप्का
हेलिकप्टरमा म पसेपछि उसले उडायो । जीन्दगीमा यस्तो पनि हुदोँ रहेछ भनेर फेरी आफैं छक्क परेँ । पैसा तिरेर पनि प्लेन चड्न नपाएको, युद्धताका हेलिकप्टर देख्दा डराउँदै लुकेको कुरा याद आए । बाल्यकालका दुःख र पीडा याद गर्नुभन्दा हिमालको चिसो, चारैतिरबाट फलफूलको जंगलले घेरेको गाउँ, पाखामा छपक्कै लागेको भेडाबाख्रा र हिमालमा चरिरहेका चौरीहरु हेरेँ । आनन्द लिदैं थिएँ, हामी होटलकै छतमा पुग्यौँ । फोक्सुण्डोमा तालछेउमै रहेछ, होटल पनि । तल पानी र माथी आकाश निला थिए, हातमा अर्गानिक कफी थियो र हामीसँग साथीभाइका भलाकुसारी ।