असोज २३,
डोल्पा : छार्का ताङसोङ गाउँपालिकाले गाउँपालिका भरका सबै वडामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाएको छ । छार्का ताङसोङ गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोट गरी कुल ४ हाजर ४ सय ८९ याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएकाे प्रमुख प्रशासकिय अधिकृत अम्मर राज सेजावालले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत सेजुवालका अनुसार यहि असोज ५ गतेदेखि १५ गते सम्म सबै वडाका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध पोग लगाएकाे बताए ।
करिब दुई साता सम्म हरेक वडामा रहेका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएर रोग नियन्त्रणको काममा निरन्तर रुपमा गाउँपालिकाका पशु प्राविधिक सहायक देव नारायण भट्टराई सहितको टोली लागि रहेको गाउँपालिकाको दावी रहेको छ । गाउँपालिकाका नागरिकको घरघरमा पशु प्राविधिक सहायक देव नारायण भट्टराई पशु नायब प्राविधिक सहायक भुज बहादुर बुढा र सहयोगी विष्णुचन्द्र धराला सहितको टोली खटिएर खोप लगाएको हो । यसका साथै ६ वटै वडामा पशुधनीहरुलाई पशु चौंपायाहरुलाई लाग्ने रोगहरुको बारेमा अभिमुखीकरण पनि गरिएको प्रमुख प्रशासकिय अधिकृत सेजुवालले जानकारी दिए । याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप (भ्याक्सिन) खरिद र ढुवानी गाउँपालिकाले गरेको र कोल्डचेन व्यवस्थापनको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले सहयोग गरेको छार्का ताङसोङ गाउँपालिकाले जानकारी दिएको छ ।