फेरी भेटियो डोल्पामा सबैभन्दा अग्लो स्थानमा पङभोर ताल

जैतुन अनलाइन | 2023-09-13

भदौ २७,

डोल्पा : डोल्पामा फेरी नयाँ ताल भेटिएको छ । हाल सम्मकै उच्चस्थानमा रहेको ताल डोल्पाका छार्काताङसोङ गाउँपालिकामा भेटिएको हो । नयाँ ताल छर्कताङसोङ गाउँपालिक वडा नम्बर १  स्थित उच्च मानव बसोवास भएको छर्कभोटमा छर्काका युवाहरूले पहिचान गरेका हुन ।

छर्कभोटमा छर्काका युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हाल सम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ । पङभोर तालको उचाई समुन्द्र सतहदेखी ५ हजार ५ सय ५० दशमलब ९ मिटरको  उच्चाईमा रहेको जिपिएस ट्रयाकिङ् प्रमाणित रहेको छार्का युवा क्लबका अध्यक्ष कार्मा ढेन्दुप गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार भदौ १३ गते छार्काका युवा तथा शिक्षकहरु मिलेर ४ दिन लगाएर तालको जिपिएस सर्बेक्षण गरी हालसम्मकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल भनेर प्रमाणित गरिएको बताए ।

तस्बिर सौजन्य : कार्मा ढेन्दुप गुरुङ्ग  थुप्तेन पासाङ गुरुङ

यो ताल चिनको तिब्बत र डोल्पाको सिमा क्षेत्रमा रहेको छ । उच्च स्थानमा रहेको पङभोर ताल सुन्दरताको बयान गरि साध्य छैन भने यो ताल वरिपरि अन्य ४ ताल पनि भेटिएको छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गले जानकारि दिए । उपाध्यक्ष गुरुङ्गका अनुसार अन्य २ तालको पनि सर्बेक्षण गरिएकोमा  ५ हजार ३ सय ३८ दशमल ५ मिटर,५ हजार ५ सय १३ दशमलब ४ मिटर रहेको जिपिएस प्रमाणित तथ्याङ्क रहेको बताए । यो सबै तालको आधिकारीकताको लागी भने स्थानीय सरकारले स‌घिय सरकारमा समेत पहल गरी प्रकृया पुरा गर्न लागि रहेको उपाध्यक्ष कार्मा तोण्डुप गुरुङ्गले जानकारी दिए ।

छार्काताङसोङ गाउँपालिकामा भेटिएको  पङभोर तालको बारेमा आफुलाइ कुनै लिखित वा मौखिक जानकारी नआएको तर स्थानीय सरकारले फोटो वा भिडियोमा ताल रहेको प्रमाणित गरिने सप्रमाण सहित लिखित रुपमा आएको खण्ड थप प्रमाणितका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । प्रजिअ पोखरेलले भने जुन स्थानमा ताल भेटिएको हो त्यस्को प्रमाणित हुने तस्विर र लिखित पत्र आए जिल्ला प्रशासनबाट हुने सबै प्रकृयामा कुनै कमि नहुने जानकारी दिए ।  पङभोर ताल भएको क्षेत्र बिश्वकै सबैभन्दा अग्लो मानब बस्ति रहेको छार्काभोट क्षेत्रमा पर्दछ ।

तस्बिर सौजन्य : कार्मा ढेन्दुप गुरुङ्ग  थुप्तेन पासाङ गुरुङ

केहि दिन पहिले मात्रै डोल्पामा नै  ५,१९० मिटर उचाइमा नया ताल  फेला परेको थियो । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका ६, फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको हो । जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । उक्त तालको चर्चा चलि रहेकै बेलामा पुन अझै उच्च स्थानमा रहेको अर्को तालको चर्चा भई रहेको छ ।   हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४,९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ ।

तस्बिर सौजन्य : कार्मा ढेन्दुप गुरुङ्ग  थुप्तेन पासाङ गुरुङ

एक पछि अर्को ताल फेला परि स्थानीयले उचाई मापनमा सरकारलाई जोड दिनुले डोल्पामा तालको पहिचान नगरिएको भन्ने प्रमाणित भएको छ । सयौ तालहरु डोल्पामा भएपनि एक दर्जन जतिको मात्रै पहिचान गरिएको छ । हुन त नेपालकै गहिरो ताल फोक्सुण्डो तालको समेत गहिराई हाल सम्म बिबादित अबस्थामै रहेको छ । सरकारले फोक्सुण्डो तालको गहिराई प्रमाणित नगरिदिएपछि डोल्पाका नागरिकले सरकारको लापरवाही भनेका छन । जति धेरै तालहरु भेटिएपनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारीक निकायले गर्नैपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्बेक्षण गरि आधिकारिकता दिन सरकार गम्भीर हुन पर्ने नागरकि समाज डोल्पाका योगेन्द्र बुढाको बुझाई रहेको छ ।

तस्बिर सौजन्य : कार्मा ढेन्दुप गुरुङ्ग  थुप्तेन पासाङ गुरुङ