सरोज थापा,
डोल्पा : समाज रुपान्तरण वा समाज राम्रो बनाउनको लागि शिक्षा पहिलो पक्ष हो । सोहि अनुसार ठुलीभेरी नगरपालिकाको नगर शिक्षा समितिको नेतृत्वमा तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको संयोजनमा नगरपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुको अनुगमन गरेको छ । नगरपालिकाले बिद्यालयहरुको समग्र शैक्षिक अबस्थाको यर्थात चित्र तयार गर्नका लागि अनुगमन कार्य गरेको शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुख डिल प्रसाद रोकायाले बताए। रोकायाका अनुसार नगर प्रमुख, नगर शिक्षा समितिका पदाधिकारी, सामाजिक विकास समितिका पदाधिकारी, बिशेषज्ञ शिक्षक, शिक्षा शाखाका कर्मचारी तथा पत्रकारहरुको संयूक्त टिमबाट सबै बिद्यालयको अनुगमन भएको थियो ।
नगरपालिका भित्रका अधिकांश बिद्यालय भवन तथा संरचना मर्मत सम्भार गर्नुपर्ने अबस्था देखिन्छ । समग्रमा बिद्यालय भवनको अबस्था ठिकै रहेको र मर्मत सम्भार गर्न सकिएको अबस्थामा भने राम्रो देखिने अबस्था छ । बिद्यालय भवनहरु मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सकिने अबस्थामा पनि नयाँ भवनको माग र आबश्यक्ता देखाउदा भवनहरु झनै जिर्ण हुदै जाने र पठनपाठनको लागि समस्या उत्पन्न हुने पनि देखिन्छ । बिद्यालय भवनको जस्तापाता चुहिने, कक्षाकोठामा चिस्यान हुने, वालहरु कमजोर देखिने जस्ता समस्याहरु रहेका छन् । बिद्यालयको आफ्नै क्षेत्र र वातावरण हुने गर्दछ । यद्यपी अधिकांश बिद्यालयको आफ्नो निश्चित क्षेत्र देखिएको छैन । घेराबार नहुँदा उक्त क्षेत्र निश्चित हुन नसकेको देखिन्छ । बिद्यालयहरुमा खेलमैदान पनि कहि प्रयाप्त नभएको र कतै भने खेलमैदानमा सुधार ल्याउन आबश्यक देखिन्छ । समग्रमा केही बिद्यालयबाहेक बिद्यालयको मैदान व्यबस्थापन पनि सन्तोषजनक देखिदैन । खानेपानीका पहुँच अधिकांश बिद्यालयमा भएतापनि पानी सुद्धिकरणका बिधीहरु अबलम्बन गरिएको छैन । शौचालयको सरसफाई र व्यबस्थापन प्रायजसो बिद्यालयको आबश्यक्ता भित्र रहेको देखिन्छ । बिद्यालयको संरचना भित्र गार्डेन, बोटबिरुवाहरु पनि अत्यन्त न्यून मात्रामा देखिन्छन् ।
पठन पाठन तथा सिकाइ क्रियाकलापहरुलाई प्रभावकारी रुपमा लैजानको लागि शैक्षिक सामग्रिको प्रयाप्तता पनि अति आबश्यक देखिन्छ । समग्रमा सम्पूर्ण बिद्यालयमा पाठ्यपुस्तकको पँहुच प्रभावकारी रुपमा भएको देखिन्छ । बिद्यालयमा पुस्तकालय व्यबस्थापन पनि प्रभावकारी देखिदैन । माध्यमिक तहका बिद्यालयको हकमा पनि पुस्तकालयको व्यबस्थापन र प्रयोगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिएको देखिदैन । पुस्तकालयमा शिक्षक र बिद्यार्थीको लागि आबश्यक पर्ने सामग्रिको उपलब्धता, रेकर्ड किपिङ्ग, नियमित प्रयोग र व्यबस्थापन फितलो देखिन्छ । आधारभूत तहका बिद्यालयमा समेत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले प्रदान गरेका सन्दर्भ सामग्रिबाहेक अन्य सामग्रि थप नगरेको देखियो । अत्यन्त न्यून विद्यालयले मात्र सन्दर्भ सामग्रि थप गर्ने र प्रयोग गर्ने देखियो । पाठ्यक्रमको अध्ययन र कार्यान्वयन, शिक्षक निर्देशिकाको प्रयोग र कार्यान्वयन अत्यन्त चिन्ताजनक देखिन्छ । बिद्यालयमा स्थानीय शैक्षिक सामग्रि निर्माण र प्रयोग (शिक्षक, बिद्यार्थी र अभिभावकबाट निर्मित) पनि अत्यन्त न्यून र कमजोर देखिन्छ ।
कुल २४ वटा विद्यालय मध्य १० वटा बिद्यालयमा हाल सम्म कम्प्यूटर र प्रिन्टको समेत व्यबस्था छैन । इन्टरनेटको पँहुच हाल ५ वटा विद्यालयमा रहेको छ भने अन्य बिद्यालयमा कहिँ मोवाइल डाटा प्रयोग गरिएको छ भने धेरैजसो बिद्यालयमा इन्टरनेटको पहुँच पनि छैन । सुचना प्रविधिमा शिक्षकको पहुँच पनि सुधारात्मक देखिदैन । अधिकांश शिक्षकले मोवाईल र कम्प्यूटरको प्रयोग मार्फत सिकाइ सामग्रिको प्रयोग गर्न सकेको देखिदैन् । सबै बिदालयले सुचना प्रविधिको पँहुच पुर्याएर शिक्षक र बिद्यार्थीलाई प्रयोग र व्यबस्थापनमा सक्षम बनाउन आबश्यक छ ।
बिद्यार्थीको सिकाइ कक्षाकोठाको वातावरणले पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । कक्षाकोठामा हुने बसाइ व्यबस्थापन, उज्यालो कक्षाकोठा, कक्षाकोठामा विभिन्न किसिमका सिकाइ सामग्रिको व्यबस्थापन, शिक्षक र बिद्यार्थीबाट निर्मित सामग्रिको प्रदर्शनी, कक्षा कोठाका भित्ताहरुमा विभिन्न किसिमका आर्ट, चित्र, पोस्टर आदिले पनि बिद्यार्थीलाई कक्षाकोठामा ध्यान केन्द्रित गराउन मद्धत गर्दछ । आधारभुत तहका कक्षाहरुमा भित्ता लेखन, बुक र्याकको व्यबस्थापन, सन्दर्भ सामग्रिको व्यबस्थापन, कार्पेटिङ अधिकांश बिद्यालयमा प्रयास थालिएको छ । उक्त प्रयासलाई निरन्तरता दिने र कक्षाकोठालाई थप सुधार गर्नपर्ने देखिन्छ । सत प्रतिशत बिद्यालयका कक्षाकोठामा बुक र्याक, प्रभावकारी बसाई व्यबस्थापन र छापामाय कक्षाकोठा निर्माण गर्न आबश्यक देखिन्छ । कक्षाकोठा सिकाइ कक्षाको रुपमा विकास हुन जरुरी देखिन्छ ।
बिद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ बिद्यालयको शैक्षिक विकासका लागि अझै लागि परेको देखिदैन् । समग्रमा भौतिक पूर्वाधार विकास र आर्थिक पक्ष संग जोडिएका क्रियाकलापमा मात्र अत्यधिक चासो हुने भएतापनि शैक्षिक पक्षहरुमा भने चासो देखिएको छैन । बिदालयको आवधिक लक्ष्य पनि देखिदैन । बिद्यालय सुधार योजना पनि प्रभावकारी रुपमा निर्माण नभएको र आलटाल गरेको देखिन्छ । बिद्यालय सुधार योजना बिद्यालयका प्र.अ.को एकलौटी सम्पति र निर्णयको रुपमा मात्र थन्केर रहेको देखिन्छ । प्रधानाध्यापकले यसलाई प्रभावकारी सञ्चार र कार्यान्वयन गर्न आबश्यक देखिन्छ । समुदायको पनि बिदालय प्रतिको रुची र सहयोग समन्वय कमजोर देखिन्छ । समग्रमा सुमदाय, बिव्यस र शिअसको भुमिका बिद्यालयमा प्रभावकारी देखिदैन् ।
सिकाइ उपलब्धि
अधिकांश शिक्षकले टि.पि.डि. तालिमका चक्र पुरा गरेको देखिन्छ । बालविकास केन्द्रका सहजकर्तालाई भने तालिम र क्षमता विकास अत्यन्त न्यून छ । आधारभूत तहमा समेत शिक्षकलाई समयानुकल बिषयगत तालिम र पेसागत सहयोग प्रदान गर्नुपर्ने आबश्यक्ता छ । शिक्षकलाई नयाँ पाठ्यक्रम, आइसिटी, सिकाइ सहजिकरण लगायतका तालिमको पहुँच पुगेको देखिदैन । यसका अलवा प्रधानाध्यापकको प्रशासनिक क्षमता विकासमा पनि अथक प्रयास आबश्यक रहेको छ । माध्यमिक तहका बिशेषज्ञ शिक्षकको सहायताबाट आधारभुत तथा माध्यमिक तहको शिक्षक सिकाइका समस्याहरु पहिचान र समाधान गर्न सकिन्छ ।
समग्रमा नगरपालिका भित्रका शैक्षिक संसथाको अबस्था औषत देखिएकाले सुधारका लागि बिद्यालय, समुदाय, नगरपालिका तथा सरोकारवाला सबै पक्षको समन्वय, प्रभावकारी सञ्चार र सहयोग हुन जरुरी छ । नगरपालिकाले पनि स्पष्ठ रुपमा शैक्षिक लक्ष्य निर्धारण गर्ने र सोही अनुसारका कार्यान्वयनका लागि बिद्यालयलाई परिचालन गर्नुपर्ने देखिन्छ । सबै पक्षको एकअर्का प्रतिको सकतात्मक सोच र सहयोगले बिद्यालयको समग्र अबस्थामा उल्लेख्य सुधार ल्यान सकिन्छ । नारामा शिक्षालाई पहिलो प्राथकितामा राखेको भनिएपनि शिक्षामा लगानी भने कुनै पनि तहको सरकारले गर्न सकेको भने छैन ।