अझै भेटिएनन् डोल्पाका गुल्मपति खोजी निरन्तर

जैतुन अनलाइन | 2023-08-29

डोल्पा :  आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन्। डोल्पाको दुनैमा रहेको नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार देखि  सम्पर्कविहीन भएका थिए। अपराह्न ४ बजेपछि उनी सदरमुकाममा अवस्थित  ब्यारेकबाट निस्किएका थिए। करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकार दिए। एकाएक सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्ने र खोजी कार्य जारी रहे पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए।

‘अहिलेसम्म पनि कुनै सम्पर्क हुन सकिरहेको छैन’, उनले भने, ‘के कारणले उनी  सम्पर्कविहीन हुनुभयो भन्ने कुनै पनि जानकारी छैन।’

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थियो । त्यसपछि पीओसोलाई भो पर्दैन भनेर फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको कुरा बुझिएको पोखरेलले बताए । त्यसपछि उहाँ सम्पर्कमा छैनन् । ‘पण्डितले पीओसोलाई छाडेको, गुल्मको आफ्नो गाडी नलिएर अर्को गाडी रिजर्भ किन छाड्नुभयो, हामी पनि अचम्ममा छौँ,’उनले भने।

पोखरेलका अनुसार पण्डितको खोजतलासका लागि  प्रहरी र नेपाली सेनाले सोमबारदेखि निरन्तर प्रयास गरिरहेको छ । मंगलबार बिहान पनि डीआईजीको टोली पुनः खोजी कार्यका लागि निस्किएको छ । साथै जिल्लाका नाकाहरुमा पनि निगरानी गरिएको उनले बताए । गुल्मपतिको खोजीसबै निकायले खोजी गरि रहेको छ ।