बन फडानीबाट जोगाउन छार्काताङ्सोङमा ग्याँस चुलो वितरण।

जैतुन अनलाइन | 2023-08-09

डोल्पा : बन फडानी जोगाउन गाउँपालिका भरी ग्यास चुलो बितरण गरिएको छ । जिल्ला डोल्पाको छार्काताङसोङ गाउँपालिकामा सवै घरधुरीलाई ग्याँस चुलो वितरण गरिएको हो  । आ.व. २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार क्रमागत रुपमा गाउँपालिका भित्रका वडा नं. १ देखि ६ सम्मका सवै नागरिकलाई ग्याँस चुलो वितरण गर्ने उदेश्य रहेको छार्काताङसोङ गाउँपालिका डोल्पाका प्रमुख  प्रशासकीय अधिकृत अम्मर राज सेजुवालले बताए । छार्काताङसोङ गाउँपालिकामा प्राय सुख्खा भिरालो पाखो भुभाग रहेको र यहाँ दाउराको समस्या हुने भएको हुदा नागरिकको सहजताका लागि र धुवाँले नागरिकको स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै कार्यपालिकाको नीति तथा कार्यक्रम अनुसार ग्याँस चुलो वितरण गरिएको अधिकृत सेजुवालले बताए । अव देखि छार्काताङसोङ गाउँपालिका भित्रका नागरिकले दाउराको अभावले पशुवस्तुको गोबर संकलन गरेर आगो बाल्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास रहेको सेजुवालको भनाई छ ।

नागरिकलाई छिटोछरितो होस् भन्ने उदेश्यले गाउँपालिका भित्रका जम्मा ३ सय ३४ घरधुरीलाई ग्याँस चुलो वितरण गर्ने लक्ष्यका साथ वडा नं. १ का ९१ घरपरिवार, वडा नं. २ का २८ घरपरिवार, वडा नं. ३ का ३४ घरपरिवारलाई ग्याँस चुलो वितरण गरिएको छ । यस्तै वडा नं. ४ का ७० घरपरिवार, वडा नं. ५ का ७८ घरपरिवार र वडा नं. ६ का ३३ घरपरिवारलाई ग्याँस चुलो वितरण गर्ने तयारी रहेकोले अवको केहि दिन भित्र वितरण गरिने छ ।

गाउँपालिकाले जम्मा ६५ लाख बजेटबाट ८ सय सिलिन्डर र ४ सय थान चुलाे सेट सदरमुकाम दुनै देखि करिब एक साता भन्दा बढी दिनकाे पैदल बाटाेबाट खच्चडमा ढुवानी गरेर ग्यास चुलाे छार्काताङसाेङ गाउँपालिकाका विभिन्न गाउँबस्तीहरुमा पुर्याएकाे हाे ।

ग्याँस चुलो वितरण पछि खसी हुदै अव देखि पशुवस्तुको गोबर संकलन गरि खाना पकाउने र धुवा धुलोमा बस्नुपर्ने समस्या कम हुने स्थानीय सोनम गुरुङले बताए । गुरुङले भने, हाम्रो भोट क्षेत्रमा वनजंगल छैन त्यही माथी कतैकतै भएका रुखहरु काट्न मिल्दैन सधै जासो चौरी गाई,घोडा खच्चरको गोबर संकलन गरेर खाना पकाउने गथ्र्यौ अव देखि ग्याँस चुलोमा पकाउन पाउदा धेरै खुसी छौ ।

पछिल्लो समय डोल्पाका प्रायः जस्तो स्थानीय सरकारले वन जंगल जोगाउने र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ग्याँस चुलो वितरण गर्दै आईरहेका छन ।