डोल्पा : भौतिक पूर्वाधार जस्तै मानब विकासको प्रमुख पूर्वाधार शिक्षालाई नै हो । विकासको प्रमुख आधार शिक्षा नै भएको र शिक्षा क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय साथै समय सापेक्ष बनाउदै लैजानु पर्दछ भन्ने आबश्यकता सबैले महशुस गर्दै कार्यान्वयन पनि गरिरहेका छन् । नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँचको हकको सुनिश्चितता गरि प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हकको सुनिश्चितता गरेको छ । यसका अलवा विभिन्न नीति, योजना तथा कार्यविधीहरुले शिक्षाको गुणस्तर सुधारका बारेमा व्यापक रुपमा आवाज उठान गरेका छन् । शैक्षिक गुणस्तरको बिषय सरोकारवालाहरुको आम चासोको बिषय भएता पनि गुणस्तर सुधारमा सोचे अनुसारको उपलब्धि हाँसिल हुन सकेको छैन् । बालबालिकाको सिकाइ उपलब्धि दिनानुदिन खस्कदै गएको देखिन्छ भने बिद्यार्थीले जीवनप्रयन्त सिप हाँसिल गर्न सकिरहेका छैनन् । डोल्पा जिल्लाको परिपेक्षमा सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निम्नानुसार उपायहरु अबलम्बन गर्न सकिन्छ ।
जिल्लाका सत प्रतिशत बिद्यालयका बिद्यालय व्यबस्थापन समितिहरु प्रधानाध्यापकको कब्जामा भएको हामी सबै जानकार नै छौ । शिक्षा ऐन तथा नियमावली ले बिद्यालय व्यबस्थापन समितिको काम कर्तव्य र अधिकार स्पष्ठ रुपमा उल्लेख गरेको भएता पनि बिद्यालय व्यबस्थापन समितिलाई प्रधानाध्यापकले केवल विभिन्न कागजातमा दस्तखत गर्ने कार्यमा मात्र सिमित पारेका छन् । जव सम्म बिद्यालय व्यबस्थापन समिति क्षमतावान हुँदैनन् र विद्यालयको समग्र विकासमा अग्रसरता लिदैनन् तव सम्म विद्यालय सुधार हुने देखिदैन । बिद्यालयको भौतिक विकास, समुदाय संगको सम्बन्ध, शैक्षिक विकास तथा सम्बन्धहरुमा बिद्यालय व्यबस्थापन समितिले मुख्य भूमिका खेल्न आबश्यक देखिन्छ । प्रधानाध्यापक आफै विद्यालयको भौतिक संरचना निर्माण, योजना निर्माण जस्ता क्षेत्रमा मन लगाएर कार्य गर्ने र उक्त कार्यमा बिद्यालय व्यबस्थापन समितिलाई मुखदर्शक मात्र बनाएर अन्य शैक्षिक तथा प्रशासनिक पक्षमा कम समय दिने प्रवृतिले पनि बिद्यालय सोचे बमोजिम सुधार हुन सकेका छैनन् ।
स्थानीय तहले पनि विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ संग परामर्श तथा अन्तक्रिया जस्ता कार्यहरु गरेको देखिदैन । विव्यस तथा शिअसहरु संगको प्रगाढ सम्बन्ध र साझेदारी स्थानीय तहले गर्नपर्ने आबश्यक देखिन्छ । विद्यालय व्यबस्थापन समितिलाई स्थानिय तहले चिन्ने र मद्धत गर्ने परिपाटीको विकास गर्नुपर्दछ ।
बिद्यालयको समग्र शैक्षिक गतिविधिलाई चलायमान बनाउनको लागि नियमित अनुगमन तथा सुपरिवेक्षण महत्वपूण हुन्छ । शिक्षा, यूवा तथा खेलकुद शाखा, नगर तथा गाउँ शिक्षा समिति एवम् सरोकारवाला निकायहरुबाट बिद्यालयको नियमित अनुगमन, सुपरिवेक्षण,पृष्टपोषण तथा सहायता हुन आबश्यक छ । बिद्यालयको अनुगमनमा कक्षा कोठाको अबस्था, शैक्षिक सामग्रीहरुको उपलब्धता, शिक्षकको नियमितता, भौतिक अबस्था, बिद्यालय व्यबस्थापन समितिको सक्रियता, समुदायको सहयोग र बिद्यार्थीहरुको सिकाइ उपलब्धि जस्ता विषय संगै दस्तावेजिकरण र प्रशासनिक अबस्थाहरुको अनुगमन तथा पृष्टपोषणको माध्यमबाट शिक्षक, बिद्यार्थी, अभिभावक, विव्यस र शिअसलाई सक्रिय र चलायमान बनाउन सकिन्छ । शिक्षकलाई स्थानीय तह तथा सरोकारवालाहरुले गर्ने व्यवहार पनि उल्लेख्य रुपमा सुधार गर्नुपर्ने देखिन्छ र शिक्षकको कार्य क्षमता अनुसारको प्रोत्साहन र कारावाही पनि गर्न आबश्यक देखिन्छ । यसले गर्दा काम गर्ने शिक्षक र काम नगर्ने शिक्षक बिचको विभेद र ग्याप न्यूनिकरण गर्न सकिन्छ ।
विद्यालय शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूको पेसागत दक्षतामा अभिवृद्धि हुनु आवश्यक हुन्छ । शिक्षकको पेसागत विकासका लागि शिक्षक तालिमलाई उपयुक्त उपायका रूपमा लिइएको छ । शिक्षक तालिमबाट प्राप्त ज्ञान र सिपको कक्षाकोठामा उचित प्रयोग हुन सकेको खण्डमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ । प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षकहरूलाई निरन्तर रूपमा प्रदान गरिने प्राविधिक सहयोगको ठुलो भूमिका रहन्छ । प्रभावकारी प्राविधिक सहयोग सहितको शिक्षण सिकाइबाट नै गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ । शिक्षकले पेसागत सहयोगका रुपमा तालिम त लिएका हुन्छन तर नयाँ सामग्री र नयाँ शिक्षण पद्दतिको प्रयोगमा एक पटक मात्र प्रदान गरिएको तालिमबाट शिक्षकहरूको शिक्षण सिपमा अपेक्षा गरिए अनुरूपको परिवर्तन आउन कठिनाइ हुने हुँदा बालबालिकाको पढाइ र लेखाइ सिपको विकासमा सहयोग गर्न शिक्षकहरूको कक्षा अवलोकन गरी निरन्तर पेसागत सहयोग गर्नुपर्ने हुन्छ । निरन्तर रुपमा शिक्षण सिकाइ तालिम तथा सहयोग, शिक्षक शिक्षक बिचको सिकाइ आदान प्रदान, प्राविधिक सहायता र नियमित मुल्याङ्कन हुन आबश्यक छ । आधारभूत तहका लागि माध्यमिक तहका शिक्षक र माध्यमिक तहका लागि माध्यमिक तहका विज्ञ शिक्षकको सहायताबाट प्राविधिक सहायता दिन सकिन्छ । नयाँ प्रविधी, पाठ्यक्रम, शिक्षण पद्धति, मुल्याङ्कन लगायतका क्षेत्रमा सिकाइ आदान–प्रदान, सहायता र क्षमता विकासका माध्यमबाट शिक्षकको पेसागत दक्षता हाँसिल गर्न सकिन्छ ।
हाम्रो परिपेक्षमा अधिकांश बिद्यालयहरु केवल पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको भरमा मात्र शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन भएको छ । बिद्यालयमा शिक्षण सिकाइ क्रियाकलापका लागि शैक्षिक सामग्रीहरु जस्तै पाठ्यपुस्तक, शिक्षक निर्देशिका, पाठ्यक्रम र शैक्षिक सामग्रीहरु तथा सन्दर्भ सामग्रीहरु प्रयाप्त मात्रामा हुन आबश्यक छ । यधपी बिद्यालयमा पाठ्यपुस्तक मात्र उपलब्ध हुँदा शिक्षकलाईसजिकरणमा कठिनाइ हुनका साथै बिद्यार्थीहरुमा पनि पाठ्यपुस्तका बाहेकको ज्ञान हाँसिल गर्न समस्या हुन्छ । प्रयाप्त शैक्षिक सामग्रीको हुँदा बिद्यार्थीलाई प्रयोगात्मक सिप हाँसिल गर्न पनि सहज हुन्छ । बिद्यालयमा न्यूनतम रुपमा पुस्तकालय, कम्प्यूटर ल्याब, बिषयगत प्रयोगशाला हुन आबश्यक छ ।
बिद्यार्थीलाई बिद्यालय घर र समुदाय भन्दा फरक होस भन्ने इच्छा हुन्छ नै । बिद्यालय र कक्षा कोठाको वातावरण पढ्न र सिक्नका लागि अभिरुचि पैदा गर्ने किसिमको हुनपर्दछ । कक्षाकोठामा प्रवेश गर्दा बालबालिकालाई मैत्रीपूर्ण बसाई, अध्ययन गर्न सकिने सामग्रीको उपलब्धता, छापामाय वातावरण र सफा कक्षा कोठाको व्यबस्थापन गर्न आबश्यक छ । कक्षाकोठामा शिक्षकले बालबालिकालाई गरिने व्यवहारले पनि बालबालिका कक्षाकोठामामा कति समय बस्न सक्दछन भन्ने बुझिन्छ । कक्षाकोठामा बालबालिका मात्र नभएर शिक्षकले पनि बिताउने समय प्रभावकारी हुन आबश्यक छ । बाह्य वातावरणको रुपमा बालबालिका मैत्री खेलकुद मैदान, हरियाली वातावरण, सफा र सुन्दर बिद्यालय परिसर लगायतले पनि बालबालिकाको सिकाइ प्रभावकारी हुन्छ ।
सामुदायीक बिद्यालयहरुमा अभिभावकाको सहभगिता अत्यन्त न्यून हुने गर्दछ । बिद्यालयमा हुने शैक्षिक गतिविधिमा अभिभावकलाई जोड्न सकेको खण्डमा मात्र सिकाइ प्रभावकारी हुन्छ । शिक्षक, विव्यस, अभिभावक मिलेर हुने घरदैलो अभियान, अभिभावक भेला, जनचेतनामुलक कार्यक्रम, बैठक तथा छलफलका कार्यक्रम, अभिभावक अन्तक्रिया, अभिभावकबाट बिदालय भ्रमण र छलफलले शिक्षक, बिद्यार्थी र अभिभावकको शिक्षामा सक्रियता बढ्ने हुन्छ । बार्षिक रुपमा बिद्यालयमा पढाइ उत्सब, पढाइ प्रतियोगिता गर्ने साथै अन्तर विद्यालय तथा पालिका स्तरमा अतिरिक्त क्रियाकलाप तथा शैक्षिक क्रियाकलापहरु सञ्चालन गरेर समुदायको सहभागिता र रुचि अभिबृद्धि गर्न सकिन्छ ।
यसरी समग्र रुपमा सरोकारवला निकायहरु बिद्यालय, प्रधानाध्यापक, शिक्षक अभिभावक, स्थानीय तह लगायतले आफ्नो ठाउँबाट भूमिका र जिम्मेबारी बमोजिमको शैक्षिक गतिविधी सञ्चालन र हातेमालो गरेमा सामुदायीक बिद्यालयले पनि उल्लेख्य रुपमा शैक्षिक सुधार गर्न सक्दछन् ।