रामचन्द्र न्यौपाने
डोल्पा : डोल्पाको ठुली भेरि नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । बिहीबार नगरपालिकाका नगर प्रमुख श्वबर्ण कुमार बुढाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पहिलो पटक ११औं नगर अधिबेशनमा संसदीय अभ्यासमा प्रस्तुत गरेका हुन् । ‘समृद्ध नगर, सुखी नगरबासी’ दिर्घकालीन सोचअनुरुप शिक्षा, स्वस्थ्य र कृषी , आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बूढाले ठुलीभेरिलाई स्वच्छ, सफा र हरियाली तथा घुम्नलायक पर्यटकीय क्षेत्रकाे रुपमा विकास गरिने बताउनुभयाे। त्यस्तै कार्यक्रममा एक गाउँ एक उत्पादन कार्यक्रम र एक घर एक बगैंचा अवधारणालाई जोड दिइने , पर्यटन प्रवर्द्धनका लागी नगरपालिकामा आगन्तुक सूचना केन्द्रको स्थापना गरिने , स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी आर्थिक वर्ष देखि कार्यान्वयन सम्बन्धि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी स्याक नेपालको सहजीकरणमा बनाइएको शिक्षा नीति , बाल संरक्षण नीति र आकस्मिक शिक्षा योजना यसै आर्थिक वर्ष देखि कार्यान्वयनमा ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।
नगर भित्रका स्वास्थ्य चौकीहरुको भौतिक पूर्वाधारमा स्तरउन्नती गरिने , नगरबासीलाई स्वच्छ खानेपानीकाे पहुँच अभिवृद्धि गरिने, नगर भित्रका सडकहरुको आईई, ई.आइ.ए र डीपीआर का लागि आवस्यक बजेट छुट्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरप्रमुख बूढा द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा १५ जना वडा अध्यक्ष तथा सदस्य हरुले आफ्नो भनाई राखेका थिए ।प्रस्तुत नीति तथा कार्यक्रममा दफावार छलफल समेत भएको थियो ।
निति तथा कार्यक्रममा हामीले जिल्लामै पहिलो पटक संसदीय अभ्यासमा आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम ल्याईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताउनुभयाे ।विगतमा जे जस्तो भएपनि अब नगरपालिकाले साच्चिकै स्थानीय सरकारकाे प्रत्याभूति गराउने गरि काम गरिरहेकाे अधिकृत लम्सालले बताउनुभयाे । कार्यक्रममा संसदीय अभ्यास अनुसार नगर प्रमुखले समय दिने र वडा अधक्ष्य तथा सदस्य हरुले समय लिएर निति तथा कार्यक्रम माथि टिप्पणी सहित दफावार छलफल गरिएको थियाे । नयाँ आ.व काे लागि यहि असार महिनाकाे १० गते बजेट ल्याइने नगरपालिकाले जनाएको छ ।