त्रिपुरा सुन्दरी मन्दीरको कोटसेरामा धान रोपाइँ मेला ।

जैतुन अनलाइन | 2023-06-02

विष्णुप्रसाद देवकोटा

 जेठ १९ डोल्पा :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोटसेरामा विगतझै यो वर्ष  पनि बाजागाजाका साथ धान रोपाइँ मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा धान रोपाइँ मेला सकिएको छ ।  विगतका वर्षमा दलितले मन्दिरका रोलक्रमवाला पुजारी र भगवतीको गुठीपालाका पुजारीलगायत छडीदार र फुलहारालाई काँधमा चढाएर कोटसेराको बीच भागमा पुतली स्वरुपको झण्डा गाड्ने चलन थियो ।  दुई वर्षअघि दलित मुक्तिमोर्चाको नाममा जातीय विभेद विरुद्धका अभियन्ताको विरोधपछि दलितले पुजारीलगायत माथिल्लो जातका मानिसलाई काँधमा चढाउने प्रचलनको अन्त्य भएको छ ।

तर परम्परालाई जीवित राख्न भने मन्दिरका पुजारीले आफै काँधमा चढाएर परम्परालाई जीवित राख्ने प्रयासको थालनी गरेका छन् । त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखोलामा रहेको कोटसेरा नामक गुठीको जग्गामा धान रोपाईसंगै धान रोपाई मेला सम्पन्न भएको छ ।रोपाहार र हलीहरु खेतमा धान रोप्नमै मस्त भए । खेतका प्रत्येक कान्लामा धान रोपाइँ हेर्ने मानिसहरुको बाक्लो उपस्थिति थियो । सबैको ध्यान रोपाहारले धान रोपाइँसँगै सुरिलो भाकामा गाइरहेका गीतमै केन्द्रित थियो । धान रोप्दै खेतमा रोपाहार यसरी धान रोपाइँको गीत गाएका थिए ।

रोप, रोप रोप्नेरीऔ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली ।

कोटसेरामा हुने धान रोपाइँमा पुजारीहरु हलिको काँधमा लस्करै चढेर हिलो छ्यापाछ्याप गर्ने र हलि रोपाहार र पुजारीले हिलो खेल्ने गरेको हेर्न टाढाका गाउँबाट मानिस कोटसेरामा मेला भर्न आउने गर्छन् । जातीय विभेद विरुद्धको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीले अझै पनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृति देखाउनेगरेकोमा अहिले यो प्रथाको अन्त्य गरिएको बताउनुभयो । अरु जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । पुजारी देविकृष्ण उपाध्यायले दलित अभियन्ताहरुले उठाएको माग समयसापेक्ष भए पनि परापुर्वकालदेखि चलिआएको चलन रीतिरिवाज पनि समाजको मुल कानुन हुने बताउनुभयो । उपाध्यायले भने परम्परालाई जीवन्तता दिन र संस्कृतिलाई बचाई राख्न पुजारीले नै पुजारीलगायतका मन्दिरका पुरोहितलाई खेतको बीचभागमा कपडाको पुतलीरुपी झण्डा रोप्न काँधमा चढ्ने र हिलो छयाप्ने गर्छन् ।

भगवतीको कोटसेरामा ९ हल गोरु, ३२ रोपाहार, ३ जना विगारे (माटो सम्याउने) र २ जना कुनाकाप्चे गरेर ४१ जनशक्ति प्रयोग हुनेगरेको उहाँले बताउनुभयो । रोपाइँ मेलाको दिनमा सेराज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । त्रिपुराकोटको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर वि.सं. १११४ सालमा स्थापना भएपछि वि.सं १८७१ का पुजारीको नाममा प्राप्त लालमोहरमा उल्लेखित ८ मुरीको कोटसेरा, २० मुरीको गल्लीस्थित गुठी जग्गा गरेर २८ मुरी जग्गा गुठीको नाममा रहेको छ । १६ औँ शताब्दी पुर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायाको पालाबाट कोटसेरामा धान रोपाई मेला लाग्न सुरुभएको ८५ वर्षीय रविप्रसाद न्यौपानेले बताउनुभयो ।

यत्तिखेर भगवतीको कोट सेरामात्र नभई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहारहरुले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न पाइन्छ । अरु जिल्लामा असार १५ देखि धान रोपाइँ हुने भए पनि डोल्पामा प्रत्येक वर्ष जेठ १ गतेबाट रोपाइँ सुरु भएर जेठ १९ गते भगवतीको मन्दिर गुठी जग्गामा धान रोपाइँ गरेसँगै धान रोपाइँ मेला सम्पन्न हुनेगर्छ ।मानो रोपेर मुरी फलाउने पर्वको रुपमा समेत धान रोपाइँलाई लिने गरिन्छ । यत्तिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ्ग, मोतिपुर र दुनैलगायतका गाउँमा किसानलाई धान रोपाइँको चटाराले अन्तिम बिट मार्न थालेको छ ।

धान रोपाइँ मेलामा सहभागि भएमा गाउँमा सिद्दि हुने, बालीनाली सप्रने र समयमा बर्षात भएर  उब्जनी राम्रो हुने जनविश्वास छ । रोपाइँको दिनमा दही चिउरा, मासु तथा सेलरोटी पकाएर रोपाहार हली कुनाकाप्चे र विगारेलाई खुवाउने र गीत चुटकिला एवं मागल गाएर रमाइलो गर्ने प्रचलन छ ।आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि खान नपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन, कुलदेवतालाई अक्षताको रुपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनका लागि भए पनि धान रोपाइँ नगरी नहुने त्रिपुरासुन्दरी नगरपालिका –१ का निर्मलप्रसाद उपाध्यायले बताउनुभयो ।डोल्पाको सबैभन्दा बढी धान रोपाइँ त्रिपुरासुन्दरी नगरपालिका –१ कोट गाउँमा गरिन्छ । धान रोपाइँ खर्च धेरै उब्जनी कम भए पनि परम्परा धान्न र पहिचानका लागि कालिकोटे कालो, रातो र मार्सी धानको रोपाइँ गर्ने प्रचलन छ ।