आहा, मेरो सपनाको शहर
चिल्ला सडकहरुमा टिलिक्क टल्किएका रंगीविरंगी सवारीहरु सवार छन।
चौडा र फराकिला ती बाटाहरु काट्न बटुवाहरु हत्तार हत्तार आकाशेपुल तर्फ लम्केकै छन।
यहाँ कसैलाई कसैको मतलव छैन र पनि सबै निर्धक्क छन।
सबै व्यस्त छन, सबै मस्त छन।
आहा, मेरो सपनाको शहर।
सडकपेटीमा फुलेका ती फुलहरु उन्मत्त हाँसो सहित मसँग जिस्किरहेछन।
पवनका झोंकाहरुसित लुकामारी खेल्दै बान्की परेका ती कम्मरहरु मर्काईरहेछन।
फुलका मुनाहरुलाई सडकमा धुलो पनि हुन्छ भन्ने थाहै छैन।
गुडिरहेका ती मानव निर्मित मेसिनहरुले धुँवा पनि फाल्छ भन्ने त पत्तो पनि छैन।
आहा, मेरो सपनाको शहर।
छेवैमा कलकल बगेका ती नालीका कञ्चन जलहरुमा मनैहर्ने जलचरहरु कृडा भोगिरहेछन।
कुनै समय ती नालीलाई ढल पनि भनिन्थ्यो रे,
त्यहाँ त शहरका सवै निर्जिव तत्त्वहरुको गोलमेच सम्मेलन हुने गर्थे रे,
कञ्चन जलको हवाला दिंदै ती ठोसरुपी तरल पदार्थहरुले निरन्तर आन्दोलन गर्थे रे,
लड्थे, भिड्थे, एक आपसमा आरोप प्रत्यारोप, अनि फेरी ढललाई ढलमती बनाउने सहमती गर्थे रे,
यी र यस्तै व्यथा त अचेल कथा पो भन्छन।
ट्राफिकहरु चौपायासँग सिनेजोरी खोज्दै बस्ने ती चोकहरु अचेल सवारी मैत्री पो भएछ।
चौपायाको त के कुरा गर्नु अचेल ट्राफिक पनि खोज्नुपर्ने पो भएछ।
आहा, मेरो सपनाको शहर।
रोग, शोक र भोकले आक्रान्त मेरो शहरमा
हिजोआज, सुख, समृद्धि र सम्पन्नताको बास छ।
टुकीको सहारामा रमेका ती नजरहरुमा
उज्यालोको लालिमा शहरै भरी लट्पटिको छ।
पिउने पानीको लागि पनि काकाकूल मेरो शहरका ती हजारौं ओठहरु
लामा लामा सुस्केरासँगै मुस्कुराइरहेछ।
मैलिएका मन पखालिएको छ,
टाढिएका तन नजिकिएको छ,
न त यहाँ कुनै गुनासो नै छ,
न कुनै जिज्ञासा नै रहेको छ।
यहाँ त,
आत्म सम्मान छ, अस्तित्त्व छ,
खुशी छ, भातृत्त्व छ,
नारी प्रति सम्मान छ,
साना र ठूलाप्रति स्नेह पनि छ।
आहा, मेरो सपनाको शहर।
शिक्षा, स्वास्थ्य र रोजगारीको त झन कुरै नगरौं
श्रमको सम्मान, काम बमोजिमको माम त यहाँको रीती नै रहेछ।
काला, गोरा छालाहरु मेरो गल्लीका ती मठ मन्दिरहरुसँग पिरती साटिरहेको देख्दा त झन
यो मन त्यसै त्यसै कृत कृत हुँदो रहेछ।
रोजगारीका मूलहरु फुटेसँगै
बैदेशिक श्रमिकहरु कामको लागि तछाडमछाडै गर्दो रहेछ।
आहा, मेरो सपनाको शहर।
अव यहाँ क्रान्तिको कुनै जरुरी छैन।
किनकी अव मेरो समाज सचेत भैसकेको छ।
आन्दोलनको नाममा सहिद हुन पनि आवश्यक देखिन्न।
यो शहरलाई बलिदानी रगतमा आहाल खेल्न पुगिसक्याछ।
यहाँ राजनीति राजनीति नभई सेवा भएको छ।
नेता नेता नभई, जनता मालिक भएको छ।
आहा, मेरो सपनाको शहर।
मेरो शहर अहिले सुन्दर छ, शान्त छ।
र त,
पल्लो घरकी आमाले फेरी पनि छोराको कुर्वानी दिनुपर्ने छैन।
माथिल्लो छिमेकी भाउजुले सिन्दुर मेट्नु पर्ने छैन।
दिदीले भाई, दाजुले बहिनी गुमाउनुपर्ने देखिन्न।
प्रीयले प्रेयसी अनि प्रियतमाले प्रेमीसँग बिछोडिनुपर्ने हुन्न।
आहा, मेरो सपनाको शहर
पुन्यराम शुलु
हाल काठमाण्डौ