सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने जगदुल्ला पहिलो गाउँपालिका ।

जैतुन अनलाइन | 2023-03-30

डोल्पा : जगदुल्ला गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ । आफनो स्थानीयतहका हरेक नागरिकको स्वास्थ्य बिमा गाउँपालिकाले पैसा दिएर गरेको हो । जगदुल्ला गाउँपालिका भित्रका कुल ५ सय ५९ घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएकाे हाे । स्वास्थ्य बिमाकाे महत्त्वलाई बुझेर आम नागरिकलाई स्वास्थ बिमा कार्यक्रम मार्फत पाउने सेवा सुविधाबाट बञ्चित हुन नदिन स्वास्थ्य बिमा गरिदिएको हाे ।

पालिका भित्र रहेका हरेक नागरिककाे  स्वास्थ्य बिमामा लाग्ने आबद्वता सुल्क गाउँपालिकाले आर्थिक ब्यवस्थापनको जिम्मा लिने गरि गाउँ कार्यपालिकाकाे निर्णय,सहमति तथा  स्वास्थ्य बिमा कार्यालय डाेल्पा संगकाे सम्झाैता गरेको गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाका अनुसार गाउँपालिका भित्रका सबै घरपरिवारलाई  स्वास्थ्य बिमा गरिदिएको र स्वास्थ्य बिमा मार्फत सबै नागरिकले विभिन्न  स्वास्थ्य उपचारमा सुविधा  पाउनेमा ढुक्क रहेको बताए ।

सरकारको लक्ष्य अनुसार स्वास्थ्य बिमा कार्यक्रममा समुदायका सबै घरपरिवार आबद्ध हुने संभावना नदेखिएपछि आबद्धता शुल्क गाउँपालिकालेनै बेहाेर्ने गरी कार्यक्रममा आबद्व गराएकाे हो । स्वास्थ्य बिमामा नागरिकहरुलाइ निरन्तरता र  सक्रिय बनाउन यसै आर्थिक बर्षको बजेटबाट  १४ लाख बिनियोजन गरिएकाे जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशबराज जैसीले जानकारी दिए । जैशीका अनुसार १४ लाखले समेत रकम कम हुने भएपछि  अपुग रकम पुन: ५ लाख २८ हजार ५ सय ५० रुपैयाँ  थप गरि जम्मा १९ लाख २८ हजार ५ सय ५० रुपैया स्वास्थ्य बिमा बाेर्डलाई भुक्तानी गरेकाे  बताए ।

जगदुल्ला गाउँपालिकाले स्वास्थ्य क्षेत्रकाे नीति तथा कार्यक्रम तय गर्दा जगदुल्ला गाउँपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखी कार्यान्वयन गरेकाे  गाउँगाउपालिका स्वास्थ्य संयाेजक निमा छिरिङ बुढाले बताए । संयाेजक बुढाले भने” सेवा सुविधा राम्राे पाएमा आगामी दिनमा स्वयंम परिवारले आफै निरन्तरता दिने छन । नागरिकले स्वास्थ्य बिमा गरे बापत स्वास्थ्य बिमा मापदण्डअनुसार विभिन्न राेगकाे एक घर परिवारका ३ जनाले एक लाख बराबरको स्वास्थ्य उपचार निशुल्क पाउछन् । पालिकाले सबै घरपरिवार समावेश गर्न खाेज्दा पनि केही घरपरिवारले अस्वीकार गरेकाे बुढाले बताए ।

डाेल्पा जिल्लाका समुदाय स्तरमा स्वास्थ्य बिमाकाे महत्त्व धारणा बारेमा नागरिकले अझै पनि बुझ्न नसकेकोले बिमितकाे संख्या बढ्न नसकेको स्वास्थ्य बिमा बाेर्ड जिल्ला शाखा डाेल्पाका संयाेजक राजन कुमार डाँगी गुनासो छ । डाेल्पा जस्ताे दुर्गम जिल्लाका नागरिकलाई जुनसुकै समयमा स्वास्थ्य सम्बन्धि जे पनि समस्या हुन सक्छ त्यसैले स्थानीय सरकरले सबैभन्दा धेरै चासो दिन जरुरी रहेको डाँगी बताउछन ।

नागरिकको स्वास्थ्यलाइ मध्यनजर गर्दै जगदुल्ला गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमा गरि कर्णाली प्रदेशमै  उदाहरणीय कार्य गरेकाे भन्दै अन्य स्थानीयतहले समेत यस्तो कुरालाइ ध्यानमा राख्ने समय आएको संयाेजक डाँगीको भनाई छ  ।  जगदुल्ला गाउँपालिका गत आर्थिक बर्षमा कार्यसम्पादन मुल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट भई प्रथम स्थान हासिल गरेकाे  थियाे । त्यसै गरी नागरिकको सेवा प्रदान कार्यमा कुनै कसुर बाँकी नराख्ने निर्वाचित जनप्रतिनिधिहरुको अठोट गरेका छन ।