दर्ताका फ्रेसहाउस ७ मात्रै,दर्जन बढिले बिना दर्ता मासु बिक्री गरिरहेका छन ।

जैतुन अनलाइन | 2023-02-06

लेख बुढा, माघ २३

डोल्पा – जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्लाका विभिन्न सरोकारवाला निकाय र व्यवसायी विच छलफल भएको छ । डोल्पाको सदरमुकाम दुनै बजार,जुफाल बजार, त्रिपुराकोट बजार लगाएतका क्षेत्रमा फ्रेसहाउस दर्ता विना संचलन गरिरहेको, दररेट मनपरि भएको,बजारमा सडेको मासु विक्रिवितरण भैरहेको भन्ने गुनासो बढेपछि सोमबार जिल्ला प्रशासन कार्यालयमा विभिन्न निकाय विच छलफल भएको हो । केहि दिन अघि नेपालगन्ज देखि जुफाल विमानस्थलमा पुगेको बोईलर कुखुराको मासु, माछा मासुँ र खसीको मासु नष्ट गरिएको थियो । धेरै मात्रामा सडेगलेको मासु डोल्पा पुगेर नष्ट गरेपछि व्यवसायी र प्रशासन विच छलफल भएको हो । नेपालगन्ज देखि नै साहुँले पठाउदा भुलबहस त्रुटि भएको र यहाँका व्यवासयीको कुनै पनि दोष नभएको दुनैका व्यवसायीले बताएका छन ।

गणस्तरको चेकजाचँ सहित आफुहरुले मासुँजन्य वस्तुको व्यपार गर्न पाउनु पर्ने व्यवासायीले माग गरेका छन । व्यवसायी र प्रशासनको छलफल पछि दुनै बजारमा मासु व्यवसायीहरुले अन्य पसल भन्दा छुट्टै ठाउँ व्यवस्थापन गरेर मासुजन्य वस्तुको व्यपार गर्ने, व्यवसाय दर्ता नगरेकाले तत्काल दर्ता गर्ने, बजार मुल्यको अनुगमन गरि उपभोक्तालाई राहत मिल्ने गरि मुल्य समायोजन गर्ने निर्णय भएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन अधिकृत मिनराज रिमालले बताए । अघिल्ला दिनहरुमा अनुगमन गर्दा प्रक्रिया पुरा गर्न चेतावनी दिएका व्यवसायीहरुले प्रक्रिया पुरा नगरेको पाईएमा ऐन कानुन अनुसार दण्ड जरिवाना सहित कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए ।

अधिकांश मासु पसल दर्ता विना संचालन.. डोल्पाको सदरमुकाम दुनै बजारमा रहेका अधिकांश मासु पसलहरु दर्ता विना संचलन गरेको पाईएको छ । उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको तथ्यांक अनुसार सदरमुकाम दुनै बजारमा ७ वटा फ्रेसहाउस र १ वथशाला दर्ता गरेको पाईएको छ । दुनै बजारमा बजारको दररेट भन्दा पनि आफ्नै आफ्नै तरिकाले मनपरि ढंगले मासु विक्रि गर्ने गरेको पाईएको छ । मासु पसल दर्ता नगरि अन्य व्यवसायीहरुले मनपरी मासुजन्य बस्तुहरुले विक्रि वितरण गरेको भन्दै दर्ता गरेर संचलन गरेका व्यवसायीहरुले विरोध जनाएका छन ।

दुनै बजारमा एक दर्जन भन्दा बढी व्यवसायीले व्यवसाय दर्ता नगरी कर छली गरेर मासुजन्य वस्तु विक्रि वितरण गरेको पाईएको हो । स्वच्छ फ्रेसहाउस दर्ता गरेका व्यवसायीले मात्र मासु विक्रि गर्न पाउनु पर्ने केहि व्यवसायीले बताए । छलफल कार्यक्रममा सहभागी विज्ञ व्यक्तीहरुले व्यवसायीहरुलाई स्वच्छ मासु विक्रि वितरण गर्न आग्रह गरेका छन् । मासुजन्य बस्तुबाट मुलुकमा विभिन्न खाले महामारी सरुवा रोगहरु फैलिएको इतिहास् सम्झाउदै सडेगलेका मासु विक्रिवितरण गरेर सामान्य उपभोक्ताको जिवनमा खेलवाड नर्गन आग्रह गरेका हुन ।

मारेको मासु ल्याउदा तत्काल नसड्ने विभिन्न उपायहरु भएको हुदा कतिपनि लोभ नगरि सवै साधन स्रोत प्रयोग गर्न व्यवसायीलाई आग्रह गरिएको छ । नेपालगन्ज देखि सडकमार्ग होस् या हवाईमार्ग होस् जुनसुकै तरिकाबाट डोल्पा आयात गरिने मासुजन्य बस्तुमा कडाइका साथ चेकजाच गरिनु पर्ने अधिकांशको माग छ । यस्तै दर्ता विना संचालन व्यवसाय संचलन गर्दा राजश्व छली हुने भएको हुदा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यक रहेको कतिपय जानकारको भनाई छ । यस्तै सम्बन्धीत निकायको अनुगमनको पाटो पनि फितलो रहेको नागरिकको गुनासो रहेको छ ।