अबको ठूलीभेरी नगरपालिका डोल्पाको नगर प्रमुख कस्तो ???

जैतुन अनलाइन | 2022-04-22

डोल्पा :  आसन्न स्थानीय तहको दोस्रो कार्यकालको आवधिक जनप्रतिनिधिहरू छान्ने एवं उम्मेदवार मनोनयन दर्ता गर्ने समय नजिकिदै गर्दा देशभर सत्ता साझेदार दलहरूबीचको तल्लो तहसम्मको तालमेलमा यद्यपि अलमल कायमै रहेको छ । सत्ता साझेदार पाँच दलहरूको बैठकले केन्द्रीय तहमा ६ वटा महानगर र ११ वटा उपमहानगर पालिकाहरूको भागबण्डा टुङगो लागेता पनि केही स्थानमा चुनावी तालमेल प्रतिको अन्तरकुन्तरबाट असमतिका आवाजहरू पार्टीका कार्यकर्ता र नेताहरूहरूबाट छल्किरहेका छन् र त्यसको थप प्रभाव र असरको बारेमा निकट समयमा चुनाव पछि वास्तविकता प्रष्टिने नै छ ।

नेपाल सङ्घीय शासन व्यवस्थामा विधिवत् रूपमा प्रवेश गरिसकेपछि चक्रिय रूपमा दोस्रो पटक हुन गइरहेको स्थानीय तहको २०७९ बैशाख ३० गते हुने चुनाव सङ्घीय र प्रादेशिक चुनावभन्दा निकै महत्वपूर्ण र सर्वाधिक जनताको मन र मस्तिष्कमा जोडिने सेवाप्रवाहको सन्दर्भमा तल्लो स्तरको पहिलो तहको सरकार हो  । अगेनो देखि आर्यघाटसम्मको काम गर्ने, गाउँगाउँमा सिंहदरबारको सार्थकतालाई पुष्टि गर्ने प्राथमिक तहका सरकारहरू हुन् स्थानीय तह ।

संविधानले नै सुस्पष्ट रूपमा परिभाषित गरेको नेपालको सङ्घीय ढाँचाको तीन तहको शासन प्रणाली अवलम्वन अन्तर्गत समन्वय, सहकार्य र सहअस्थित्वमा अडिएको सरकार हो स्थानीय सरकार । हरेक पालिका आफैमा एउटा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली अभ्यास गर्ने थलो हो । स्थानीय सरकारको कार्यकारिणी अधिकारको प्रयोग गर्ने एक जना कार्यपालिका कार्यकारी प्रमुखको रूपमा नगर प्रमुख रहने र निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुने व्यवस्था संविधानले गरेको छ ।

स्थानीय तहले आफ्नो निश्चित भूगोलभित्र रहेको बस्ती, बाटो, वातावरण, वनजङगल, बनोट, व्यवस्था भित्रको जनताको अवस्था, संस्कृति, सम्पदा, समुदाय, सुशासन, सहभागिता, उपलब्ध श्रोतको न्यायोचित वितरण, श्रोतको संरक्षण, सदुपयोग, पद्धति, पारदर्शिता र उत्कृष्टता सहितको विशेषता हासिल गरी सामाजिक, भौतिक, आर्थिक, सुशासन र सेवा प्रवाह, सबै प्रकारका बहिस्करण, विभेदीकरण, वेथितिलाई रोक्न सक्ने सामर्थ्य राख्ने र दैलोमा सरकार, आगनमा विकासको प्रत्याभूत दिने सबल, सक्षम, गतिशिल, स्पष्ट सोच शैली भएको, गन्तव्य पहिल्याउने, गन्तव्यमा पुग्ने, सपनालाई सार्थकता दिने वस्तुगत योजना, कार्यक्रम, विधि, नीति निर्माण गर्ने, विवाद असहमतिलाई सहज तरिकाले समाधान गर्ने र जनताको शासक नभई सेवक बन्ने, जनताले खोज्दा, हात र खुट्टा फैलाउदा भेटिने, हेर्दा देखिने र सुखमा साथ र दुःखमा हात दिने, कार्यपालिका, न्यापालिका र व्यवस्थापिका समेतको अभ्यास र अनुशरण गर्ने अक्ष्युण स्थलको रूपमा रहेको डोल्पाको ठूलीभेरी नगरपालिकाको नगर प्रमुख कस्तो हुनुपर्छ वा चाहिन्छ ? सो बारे संक्षिप्त विवेचना गरौं र थप घनिभूत तरिकाले अतिरिक्त छलफल, सम्वाद गर्न अति आवश्यक पनि छ ।

भिजन, मिसनलाई योजना, कार्यक्रम र आयोजनमा रूपान्तरण गर्नसक्ने, दिगो विकास लक्ष्यको औचित्य नागरिक, पृथ्वी, शान्ति, समृद्धि, साझेदारी (People, Planet, Peace, Prosperity, Partnership-5P) लाई आत्मसाथ गरी स्पष्ट कार्ययोजना सहित कार्यान्वयन गर्ने, जनताको वरिपरी भेटिने र देखिने, माटोले चिनेको, बस्तीको बारेमा बुझेको, जनताको भावनालाई सम्वोधन गर्न सक्ने

 

नगर प्रमुख एवं मेयर आफैमा संविधानले सूचीकृत गरेका २२ वटा एकल अधिकार र सङ्घ, प्रदेश र स्थानीय तहको १५ वटा संयुक्त साझा अधिकार सूची सहितको प्रयोग गर्ने मुख्य व्यक्ति सर्वशक्ति सम्पन्न पद नगरपालिकाको प्रमुख हो । स्थानीय तहको कार्यकारिणी पदमा दलीय प्रतिनिधित्व सङख्यात्मक रूपमा जति भएपनि ५ वर्षका लागि अधिकार सहितको स्थायी पद हो नगर प्रमुख । जहाँ प्रदेश र सङ्घीय कार्यपालिकाभन्दा बलियो हुन्छ । संविधानको सिमाभित्र रहेर कानुन बनाउने, कार्यान्वयन गर्ने, कानुन कार्यान्वयनको जाँच गर्ने र न्यायिक कामहरू समेत सम्पादन गर्दछ । जनतासँग दैनिक जोडिने, श्रोतसाधनको पहिचान गर्ने, संकलन गर्ने, परिचालन गर्ने, अधिकार, जिम्मेवारी, उत्तरदायित्व बहन गर्ने, प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने र सरकारको सच्चा साँख र शानमानलाई जिवन्त राख्ने नगर प्रमुख पक्कै पनि इमान्दार, निष्ठावान, जनताप्रति समर्पण भाव भएको, सुशासन, समृद्धिको सपना देख्न सक्ने स्पष्ट भिजन र मिसन भएको हुनुपर्दछ । भिजन, मिसनलाई योजना, कार्यक्रम र आयोजनमा रूपान्तरण गर्नसक्ने, दिगो विकास लक्ष्यको औचित्य नागरिक, पृथ्वी, शान्ति, समृद्धि, साझेदारी (People, Planet, Peace, Prosperity, Partnership-5P) लाई आत्मसाथ गरी स्पष्ट कार्ययोजना सहित कार्यान्वयन गर्ने, जनताको वरिपरी भेटिने र देखिने, माटोले चिनेको, बस्तीको बारेमा बुझेको, जनताको भावनालाई सम्वोधन गर्न सक्ने, जनताको अभिभावकको रूपमा रहने कार्यकारिणी अधिकारको अभ्यास गर्ने विशेषता बोकेको व्यक्ति नै नगर प्रमुखको परिभाषा भित्र अटाउदछ ।

समाज परिवर्तनका लागि शान्ति, सदाचार र समृद्धि हासिल गर्न असल र उत्तरदायी जनप्रतिनिधि चयनका लागि बैशाख ३० गतेहुने चुनावलाई भव्य उत्साह र सुनौलो अपूर्व अवसरका रूपमा लिई हरेकले आफ्नो मनस्थिति बदली र बदलिएको मनस्थितिलाई मताधिकार मार्फत प्रतिविम्वन गरौं जसको परिणाम स्वरूप सबल, सक्षम र गतिशील मेयरको आगमन हुनेछ

दृढ सङकल्पित, दृढ इच्छाशक्ति, पूर्ण आत्मविश्वासी, समुदाय परिचालनको पाटोमा पर्याप्त सुन्ने, सिक्ने, सिकाउने र जोड्ने क्षमता भएको, चुनौतिको सामना गर्ने, निर्णय क्षमता भएको, उत्तरदायित्वबोध भएको, जनताको भावना, चाहनालाई बुझ्न सक्ने, सो अनुसार व्यवहारमा लागु गर्ने सक्ने, भुइतहका मान्छेहरूको अवस्थालाई रूपान्तरण गर्ने अठोट भएको, समानता, समावेशिता, समताका विविध पक्षहरूलाई पहिचान गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने दक्षता भएको, पालिकाको सम्भावना, अवस्था, अवसर र असहजताहरूको बारेमा यथेष्ठ जानकारी भएको, शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनका क्षेत्रगत विकासलाई बुझेको, व्यवस्थापन गर्ने कौशलता भएको, सकारात्मक सोच भएको, पूर्वाग्रहीविहिन चरित्र भएको मेयर चाहिन्छ । सुशासन, सामाजिक न्याय र दिगो विकासलाई जोडदिने, जनमैत्री सहज, शिघ्र र मितव्ययी, सेवाप्रवाहलाई मूल अभिष्ट बनाई काम गर्ने प्रतिनिधि नै यथार्थमा असली र अब्बल सरकार प्रमुख एवं अभिभावकहरू हुन् मेयरहरू ।

त्यसैले भुइतह एवं पिंधमा रहेका समुदायको भावना र सम्वेदनालाई बोक्ने, अभाव, असुरक्षा र अप्ठयारोमा रहेका समुदायको पिंडालाई मलमपट्टी लगाउने असली नेतृत्वको बहाली केवल समस्यामा परेका समुदायहरूको सहभागिता र असली प्रयासबाट मात्र सम्भव रहन्छ । अन्यथा जसका लागि न्यानो र निकट्तम सरकार चाहिएको हो उसको सर्वथा अभावमा खोजेको र रोजेको नेतृत्व पाउन सकिदैन् र आवरणमा असली सरकारको बहाली भएता पनि बास्तविक जनतासँग जोडिने सरकार पाउन सकिदैन् र भेटिदैन् ।

तसर्थ, अब सबैले मनन् र मन्थन गर्नुपर्ने उपयुक्त समय आएको छ, आसन्न चुनावलाई सामान्य, सहज र हल्का तरिकाले बुझ्यौ, विवेकसम्मत तरिकाले मतदान गरेनौं, मत मासु र पैसामा साटफेर गर्यौ भने पक्कै पनि खराब मेयरको आगमन हुनेछ । जसले अरू थप ५ वर्ष पश्चाताप र विलौना गर्ने विकल्प बाहेक अरू उपाँयहरू हामीसँग रहने छैन् । त्यसैले आसन्न स्थानीय चुनावलाई सामान्य र खेचाली रूपमा नलिऊ । समाज परिवर्तनका लागि शान्ति, सदाचार र समृद्धि हासिल गर्न असल र उत्तरदायी जनप्रतिनिधि चयनका लागि बैशाख ३० गतेहुने चुनावलाई भव्य उत्साह र सुनौलो अपूर्व अवसरका रूपमा लिई हरेकले आफ्नो मनस्थिति बदली र बदलिएको मनस्थितिलाई मताधिकार मार्फत प्रतिविम्वन गरौं जसको परिणाम स्वरूप सबल, सक्षम र गतिशील मेयरको आगमन हुनेछ । अन्तत, सङ्घीयताको असली मर्म र अथक लामो मिहिनेतले सार्थकता हासिल गरी शहिदको समर्पण, सपनाले क्रमशः साकार रूप लिने पूर्ण विश्वास लिन सकिन्छ । यसका लागि स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्ति र सुरक्षित चुनावी वातावरण निर्माण गरी अधिक भन्दा अधिक मतदाताहरूको सहभागिता सुनिश्चित गरी स्थानीय तहको निर्वाचन २०७९ सफल पारौं यसैमा सर्वथा सबैको हित हुनेछ ।

रणबहादुर कार्की

सामाजिक अभियन्ता, डोल्पा ।

धन्वयाद ।