वातावरण दिवस २०२१ (नारा फेरीदै समस्या थपिदै)

जैतुन अनलाइन | 2021-06-05

सन १९७४ देखि सुरु भएको वातावरण दिवस मनाउने अभियान यो बर्ष पनि “नँया सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्थापना” भन्ने नँया नारा थप्दै मनाउन लागिरहेका छौं । विश्वमा सर्बश्रेष्ठ मानिने मानव जातीले आफ्नो स्वार्थ परिपुर्तिका लागि प्राकृतिक श्रोत माथिको दोहन र पृथ्वी माथिको घातका कारण सिर्जित नँया समस्याहरु समाधानका लागि नँया नारा बन्ने र सम्पुर्ण बिश्वलाई हातेमालौ गरौ भन्ने अपिल निरन्तर चलिरहेको छ र यो चलिरहने छ । हामीले बुझ्दै आएको दिवसहरु राम्रो उपब्धि हाँसिल गरेमा मनाउने गरेको भन्ने लाग्थ्यो तर यहाँ हरेक बर्ष भिन्न भिन्न समस्याहरु उत्पन्न हुन्छन र ति समस्यालाई नाराले समाधान गर्न खोज्ने उदेश्य अनुरुप दिवस मनाउने गरेको देखिन्छ ।

यो बर्षको नारा अनुसार अब हामीले ति दिनलाई कल्पना गर्नु पर्ने भयो जुन समयमा हाम्रा हजुरवुबा हजुरआमा घर नजिकैको जंगलमा गएर दाउरा घाँस संकलन गरेको, वालवालिका विरामी हुँदा जंगलको जडिबुटी ल्याएर निको पारेका, कलकल बग्ने सफा र सुन्दर खोलामा पौडी खेलेको, पिपलको रुखमुनी बनेको चौतारीमा बसेर स्वच्छ हावा संगै वात मारेको, विहान उठ्ने बित्तिकै चराचुरुङ्गीको चिरविर सुनेको, मृगहरुले जिस्काउदै जंगल पार गरेको आदि बाट आनन्द लिएको । सायद अव विरलै ति दिनहरु जस्तै अबका दिन हुनेछन किनकी हामीले ति सबै कुरा ध्वस्त पार्दै प्लाष्टिकका जनावर, सिमेन्टेड रुख विरुवा, रेडिमेट हरियाली, सिमेन्टेड पोखरीमा पौडी खेल्ने, क्यामिकल मिसावट गरिएका खानेकुरा खाने जो आदत बसेको छ । यस्तै क्षणिक आनन्दमा रमाउने जो बानी बसेको छ । सायद यस्तै यस्तै हाम्रा बानीले गर्दा प्रकृतिले हामीलाई हरेक बर्ष कारवाही स्वरुप नँया नँया सजायहरु थप्दै गएको छ ।

कोभिड १९ पनि त्यसैको परिणाम हुन सक्छ । हाम्रा बाजे बजैले जस्तै हामीले अर्गानिक खाना खाएको भए, स्वच्छ हावा लिन पाएको भए, प्रकृति संग मिलेर रमाउन सकेको भए आज कोभिड सजिलै पचाउन पनि सकिने थियो होला तर हाम्रो खराब बानीका कारण वनजंगलबाट सित्तैमा प्राप्त हुने अक्सिजन पनि खरिद गरेर लिन परेको छ । हाम्रो पाखा पखेरामा प्राप्त हुने जडिबुटीको विनासले गर्दा आज हामी औषधी अभावमा यमराजको साथी बन्न परेको छ ।

हामीलाई थाँहा छ वोटबिरुवाबाट प्राप्त हुने अक्सिजन बिना बाच्न सक्दैनौ तर पनि दिनानुदिन हाम्रो बुद्धिभ्रष्ट पँहुचको प्रयोग गरि वोटविरुवाको नाश गरिरहेका छौ, जंगली जनावरहरुको सिकार गरेका  छौ । हामीले यति सम्म पारिस्थितिक प्रणाली विगारि सकेका छौ कि अब पुरानो अबस्थामा फर्कनको लागि हरेक बर्ष बन्ने नारा र हरेक बर्ष मनाइने वातावरण दिवस या अन्य वातावरण संग सम्बन्धित दिवसले मात्र केही हलचल ल्याउने वाला छैन ।

विकास निर्माणका काम गर्दा उक्त क्षेत्रको वातावरणमा प्रतिकुल असर पर्ने र ताँहाको वातावरणीय अबस्थाले सहन गर्न नसक्ने भएमा वैकल्पिक उपायहरु अबलम्बन गर्ने नीति हुँदाहुदै पनि अझैपनि हामी पँहुच र पावरको आधारमा धमाधम वातावरणलाई विनाश गर्दै पारस्थितिक प्रणालीलाइ ह्रास गरिरहेका छौ । हामे वरिपरिको वातावरण फोहोर पारेका छौ । दुश्मनलाई जस्तै गरि हर तरिका प्रयोग गरि प्रकृतिलाई हराउने प्रयास गरेको छौ तर प्रकृतिमा हामी पनि छौ प्रकृति हार्दा हामी हार्छौ भन्ने सामान्य ज्ञान सायद हामीलाई छैन । हामी मुर्ख भएका छौ । कालिदाश भएका छौ ।

हामीले प्रकृतिलाई यति धेरै निजि रुपमा प्रयोग गरिरहेका छौ कि यो केवल मानव जातीलाई पृथ्वीले दिएको दाइजो जस्तै । पृथ्वीमा भएका हरेक प्राणीको प्रकृति माथिको समान अधिकार छ र सबै एक अर्कामा अन्तरनिहित पनि छन् ।अझै पनि सोचौ नारामा सिमित नभएर प्रकृति र मानव वीन वीन हुने गरि कार्यान्वयन गरौ । खरिद गरिएको सिलिन्डर बाट अक्सिजन लिने या त बोटविरुवाबाट ताजा अक्सिजन प्रयोग गर्ने सोच्ने हामीले नै हो । प्राकृतिक आनन्द लिने कि त किर्तिम, क्षणीक आनन्द लिने कि त अनन्त सम्मको आनन्द लिने समयमै सोचेर कार्यान्वयनमा ल्याउन आबश्यक छ ।

सोच त सबैको होला, सपना त सबैले देखेका होलान नी ? आफ्नो नजिकै हरियाली वन होस, वनमा विहान उठ्ने बित्तिकै चराहरुको आवाज सुन्न पाईयोस, सफा खोलानाला, ताल तलैया, सुन्दर हिमाल होस , स्वच्छ हावा होस र जनावरहरु खेल्दै गरेका प्रत्यक्ष देख्न पाईयोस, सफा वागमतिमा माछा संगै पौडी खेल्ने रहर कसको छैन होला र ? यदी छ भने अब ति सपना पुरा गर्न हरेक नागरिक जिम्मेबार हुनपर्छ । हामी अब प्रकृति प्रेमी बन्न पर्छ । हाम्रा हजुरबुवा हजुरआमाको पालाको जस्तो वातावरण बनाउने प्रयासमा लाग्न पर्छ । जंगल, वन वातावरण, प्राकृतिक सम्पदा, जिवजन्तु सबैलाई भरपुर माया दिन सक्नुपर्दछ । विनास होइन सुधार गर्नतर्फ लाग्नु पर्छ अनि मात्र हाम्रा सन्ततिलाइ भोली सिलिन्डरको अक्सिजन आबश्यक पर्ने छैन । हाम्रा हजुरबुवा हजुरआमा जस्तै प्रकृति संग रमाउने छन् अनि हाम्रो उच्च सम्मान गर्नेछन् ।

लेखक : योगेन्द्र बुढा 

त्रिपूरा सुन्दरी नगरपालिका-४ डोल्पा (हाल रसूवा)