उमेरका हिसाबले मेरो र ओम बहादुर बुढाको ३३/३४ बर्षले फरक होला। म बाह्र तेह्र वर्षको हुँदा मैले उहाँको नाम सुनेको थिएँ। राजनीतिक भेटघाटका क्रममा २०५२ सालमा पहिलो पटक श्रावण महिनादेखि सहकार्य शुरु भएको हो। त्यसश्चात उहाँसँग गरेको काम तथा छलफलबाट मैले उहाँलाई बुझेको आधारमा म यो लेख तयार पार्दैछु। सम्झदैछु, शब्दरुपी श्रद्धा अर्पण गर्दैछु।
राणा शासन कालमा डोल्पा जिल्ला जस्तो दुर्गम क्षेत्रमा जन्मेर पनि गाउँमा गुरुकुल शिक्षा पद्धतिको शुरुवात गरेर र तत्कालीन समयमा दुनैमा रहेकोे भारतीय चेकपोस्टमा अनौपचारिक शिक्षा लिएर साक्षर भै राजनीतिक क्षेत्रमा लाग्नुभएको हो। बि.सं. २०३२/३३ सालतिर गाउँफर्कको सदस्यबाट उहाँको राजनीतिक यात्रा औपचारिक रूपमा शुरु भई बि.सं.२०३९ सालमा सुँ गाउँ पञ्चायतको प्रधानपञ्च, बि.सं.२०४३ सालमा डोल्पा जिल्ला पञ्चायतको उपसभापतिको उम्मेदवार र पञ्चायत र बहुदलमा गरी २ पटक दुर्गम बिकास समितिको सदस्य हुनुभयो। दुर्गम बिकास समितिको सदस्य हुँदा उहाँले बिद्यालयको सुधार गर्न रकम छुट्टयाउन शुरु गर्नुभएको थियो। बहुदल आएपछी २०४९ सालमा नेपाली काँग्रेसको तर्फबाट निर्बिरोध डोल्पा जिल्ला बिकास समितिको सभापतिमा निर्वाचित हुनुभयो।
बि.सं.२०५२ सालमा नेकपा(एमाले)का नेता मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारको कामबाट प्रभावित भै विशेषत: तत्कालीन प्रधानमन्त्री मनमोहनको सम्मानको लागि जि. बि. स. तथा गा.बि.स का पदाधिकारी र अधिकांश नेताकार्यकर्ताहरु सहित उहाँहरुको सिङ्गो समूह नेकपा(एमाले)मा प्रवेश गरेको थियो। त्यसपछि एमालेको जनप्रतिनिधिका रूपमा कृयाशील रहँदै नेकपा(एमाले)को संगठन निर्माणमा कोसेढुङ्गाको रूपमा स्थापित भएका थिए। बि.सं.२०६४ सालको पहिलो ऐतिहासिक संविधानसभा निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट उम्मेद्बार बन्नुभयो र संविधानसभाबाट संविधान जारी भएपछि राज्य पुनःसंरचनाका बेलामा त्रिपुरासुन्दरी नगरपालिकाको स्थापनाको लागि महतत्वपूर्ण पहल गर्नुभएको थियो। पछिल्लो समयमा उहाँ संघिय संरचना अनुसार बि.सं.२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट त्रिपुरासुन्दरी नगरपालिकाको नगर प्रमुख(मेयर)मा निर्वाचित भै कार्यरत हुनुहुन्थ्यो।
उहाँले आफ्नो जीवनकालभर सधैँ जिल्ला र जिल्लावासिलाई महत्त्वपुर्ण योगदान पुर्याउँदै आउनुभयो। २०३८।३९ सालदेखि आफ्नो गाउँ रंग र जिल्लामा विभिन्न खालका ब्यवसाय खासगरी व्यवसायिक कृषि स्याउ, ओखर, केसर, डालेचुक, हिमाली काउलीको बीउ र अङ्गुर जस्ता कृषि उत्पादनको खेती शुरु गर्दै कृषकहरुमा उत्साह भर्दै आउनुहुन्थ्यो। ४० बर्ष अगाडिदेखि नै व्यवसायिक खेती गराउन सफल हुनुभएको थियो। यसैगरी डोल्पाको भौतिक पुर्वाधारतर्फ पनि उहाँको ठूलो योगदान छ। तल्लु-दुनै गोरेटो बाटोलाई घोरेटोमा स्तरोन्नती, दुनै-खानी-धो घोरेटो बाटो निर्माण गरी माथिल्लो डोल्पाको बिकास र जीनशैलीलाई मुलधारमा जोड्न सफल, दुर्गम बिकास समिति मार्फत डोल्पा जिल्लामा भएका माध्यमिक बिद्यालयहरुको भवन निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएको थियो। आफ्नै निजि लगानीमा आफ्नो गाउँमा ४० वर्ष पहिला विद्युत उत्पादन गरि विद्युत बिकासको शुरुवात, बाला त्रिपुरासुन्दरी भगवतीको अक्षयकोष स्थापना, उद्योग, सहकारी, सामुहिकताको अभियान शुरु, सुशासनका पक्षधर, कमिशन, घुसखोर, ढिलासुस्ती, अन्यायको विपक्षमा दह्रो रूपमा प्रस्तुत हुनसक्ने, स्पष्टबक्ता, स्वच्छ छवि भएका ब्याक्तीका रुपमा चिनिनुहुन्छ। डोल्पाको आधुनिक बिकासको शुरुवातकर्ता, चारित्रीक रूपमा असल आचरण, स्वभाव र भावनाले कम्युनिष्ट र समाजबादी बहुगुणयुक्त रहेको पाईन्छ।
आफ्नो पचास बर्षको राजनीतिक जीवनकालमा पञ्चायत, बहुदलीय र लोकतान्त्रिक गणतन्त्र कालमा अधिकांश समय नेपाल कम्युनिष्ट पार्टी(एमाले)मा बिताएका थिए। देशमा परिवर्तन भएका हरेक राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनलाई छिटो आत्मसाथ गर्नसक्ने, नयाँ कुरामा छिटो बिश्वास लिनदिन सक्ने, सहि गलत छुट्टाउन सक्ने, पक्षपात र पूर्वाग्रहमुक्त स्वभाव उहाँका व्यक्तिगत विशेषता हुन्। दुःखमा अत्यन्त सहयोगी भावना भएको र राजनीतिक रूपमा जनतामा अधिकार आउनुपर्छ भन्नेमा दृढता भएको व्यक्ति हुनुहुन्थ्यो। त्रिपुरासुन्दरी नगरपालिकामा निर्बाचित भएपछि छोटो कार्यकालमा नगरपालिकाको महत्वपूर्ण विकास सडक संजाल, कृषिको व्यवसायिकरण साथै नगरपालिकाको प्रशासनिक संरचना, अस्पताल, औद्योगिकग्राम, विद्युत स्टेसन निर्माण जस्ता भौतिक पुर्वाधारको शुरुवात तथा सम्पन्नको लागि अविष्मरणीय कार्यहरु थाल्नुभएको हामीमाझ जगजाहेर नै छ। उनले देखेका सपना र थालनी गरेका अधुरा कार्यहरु पुरा गर्नु अब हामीहरुको दायित्व बनेको छ। केही सफलता र केही अधुरा कामहरु छोडेर उहाँ हामीमाझ बाट अस्ताएर जानुभयो। विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९को संक्रमणबाट अछुतो रहन सक्नुभएन। उपचारका क्रममा उहाँको बि.सं.२०७८ बैशाख २५ गतेका दिन ७८ वर्षको उमेरमा काठमाण्डौमा निधन भयो। उहाँको निधनले डोल्पा जिल्लाले एक असल अभिभावक, क्रियाशील राजनीतिकर्मी, दुरदर्शी र इमानदार व्यक्तित्व गुमाएको छ। समग्रमा राजनीतिक तथा बिकासको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ। उहाँको आत्माले वैकुण्ठमा वास पाओस। यो दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना छ।
लेखक – हंशबहादुर शाही, नेता, नेकपा(एमाले)