मंसिर ६ गते छैटौं नेपालगन्ज म्याराथन हुने

जैतुन अनलाइन | 2020-11-08

नेपालगन्ज-आगामी मंसिर ६ गते छैटौं धारा नेपालगन्ज म्याराथन हुने छ । लामो समयसम्म कोभिड–१९ कै कारण ठप्प भएको खेलकुदलाई पुर्नताजगी गराउने उद्देश्यसहित मंसिर ६ गते छैटौं संस्करणको म्याराथना आयोजना गरिने निर्णय क्रियटिभ ह्याण्ड्सले गरेको छ । क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन रहने छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिइएको टिम लिडर नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जनाए ।

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ । दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् ।

नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र भौतिक दूरीलाई कायम गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरिएको छ । स्वास्थ्य मापदण्डलाई अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने देश व्यापी सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन सफल हुनेछ भन्ने विश्वास क्रियटिभ ह्याण्डसले जनाएको छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश छ। कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।