केही समयअघिमात्र पहिलो पटक दुनै आइपुगेको मेरेो साथीले फोनमा सोध्यो तिम्रो घर कता हो ? मतलब मेरो घर आउने लोकेशन र बाटो जान्न खोज्यो । शुरुमा के भनौं र कसरी भनौं ? मैले कुनै भेउ नै पाईन । पछि मैले फलानाको घर नजिकै हो भने तर उसले फलानालाई चिनोस कसरी, त्यसपछि मैले सोधे फलानो होटल थाहाँ छ ? हो त्यही होटलको छेउमा हो भने तर उसले भन्यो तिम्रो टोलको नाम भन म सोध्दै आउँला । विचरा उसलाई के थाहाँ ? दुनैमा म बस्ने कुनै टोल नै छैन अर्थात मेरो घर भएको ठाउँलाई यो टोल हो भन्ने मसँग कुनै त्यस्तो आधार नै थिएन र छैन पनि । किनकि हामीले अहिलेसम्म दुनैमा आधिकारीक वा औपचारीक रुपमा टोल छुट्याएका छैनौं, नामाकरण पनि गरिएको छैन । न हामीले टोलको सिमाना छुटाएका छौं न टोलको आधिकारीक नाम छ, न बाटोको नामाकरण नै भएको छ । म ठान्दछुँ, मलाई परेको जस्तै समस्या सायद अरुलाई पनि परेको हुँदो हो, अरुले पनि मैले जस्तै महशुस गरेका हुँदा हुन् । साथीभाई, छरछिमेक र चिया गफमा कुरा पनि चल्दाहुन् । कसैले केही काम पनि गरेका होलान् वा नहोलान् जेसुकै होस् अब दुनैमा टोल सिमाङ्कन, नामाकरण र टोल सुधार समिति गठन गर्ने काम गर्न जरुरी भएको देखिन्छ । दुनै आफैंमा जिल्ला सदरमुकाम त छँदैथियो अहिले यो नगरपालिकामा समेत पर्दछ । प्रशासनिक र व्यापारीक दृष्टिले दुनै डोल्पाको ठुलो र महत्वको क्षेत्र हो । त्यसैले यहाँबाट राम्रा र नयाँ प्रयासहरुको शुरुवात गरिनुपर्दछ ।
केही वर्ष अघि जडान गरिएको सडक बत्ति अहिले प्राय बन्द छन् । आधाआधी जति भएपनि चरणबद्ध रुपमा बजारको सडक ढलान भैरहेको छ । बजारको सडक, खानेपानी, विजुलिबत्ति, सरसफाई, सुरक्षा एवम् ढल निकास आदीको व्यवस्थापन तथा मर्मत सम्भार जस्ता नियमित कार्यहरु गर्न टोल सुधार समिति वा यस्तैखाले समुदायस्तरका साना संरचनाहरु हुन आवश्यक देखिएको हो । आफ्नो टोलमा देखिएका समस्याहरु पहिचान गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्न समुदायस्तरमा साना र प्रभावकारी संयन्त्रको रुपमा टोल सुधार समितिले महत्वपुर्ण भुमिका खेल्दछ ।
बदलिँदो समयसँगै मानवसमाज जति आधुनिक र सुविधाभोगि बन्दै गइरहेको छ त्यति नै मानाववस्तिहरु अव्यवस्थित वा अस्तव्यस्त बनिरहेका छन् । भर्खरभर्खर सडक सञ्जालमा जोडिएको दुनै बजारमा पक्कि संरचनाहरु निर्माण हुने क्रम पनि बढिरहेको छ । साविक दुनै गाउँ विकास समिति अन्तर्गतका १,४ र ५ नं. वडाहरुलाई गाभेर बनेको ठुलिभेरी नगरपालिकाको ३ नं. वडा नै दुनै हो । यहाँ संघिय सरकार र प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरु, केही स्थानीय तहका सरकारी कार्यालयहरु, अस्पताल, बैंकहरु, शिक्षालयहरु, वित्तिय संस्थान, समिति तथा गैरसरकारी संस्थाका कार्यालयहरु रहेका छन् । व्यापारीक दृष्टी«कोणले पनि डोल्पा जिल्लाको प्रमुख बजार पनि दुनै नै हो । यहाँ सरकारी, सार्वजनिक र निजी स्वामित्वमा रहेका जमिन, संरचना र सम्पत्तिहरु छन् । यी सबैखाले संरचनाहरुको सम्मिश्रणले बनेको दुनैलाई वर्तमान परिवेश अनुरुप अझ भविष्यमा आकर्षक र व्यवस्थित शहर बनाउन धेरै कामहरु गर्न अपरिहार्य छ । कम्तिमा अब बन्ने सरकारी, सार्वजनिक र नीजि संरचनाहरु निर्माण गर्दा न्युनतम मापदण्ड तोकि सोही अनुरुप हुनेगरी निर्माण गर्न गराउन अनिवार्य गर्नुपर्दछ । सरकारी, सार्वजनिक र निजी तहबाट सबैले जतिसक्दो बढि योगदान गर्न, आपसी समझदारी, समन्वय र सहकार्य बढाउन जरुरी छ । यसका लागी स्थानीय तहले सहयोगी संरचनाहरुको पहिचान, निर्माण र व्यवस्थापन गरी स्थानीय सरकारले स्पष्ट र उपलब्धिमुलक योजना बनाई अगाडि बढ्न सक्नुपर्दछ ।
देश संघिय संरचनामा गएपछि नागरीकले आमुल परिवर्तनको महशुस गर्नेगरी काम हुन्छ भन्ने आशा गरेका छन् । र सोही आशा पुरा गर्नका लागि संघ, प्रदेश र स्थानीय तहहरु क्रियाशिल छन् तर पनि आशा गरेजतिको उपलब्धि हासिल गर्न नसकेको यथार्थता विद्यमान छ । जे जति उपलब्धि हासिल भएका छन् त्यसले निरन्तरता पाउन पनि सकेको छैन । विकास र समृद्धी अनवरत चलिरहने प्रक्रिया हुन् त्यसैले यसका लागि चाहिने बजेट तथा कार्यक्रम नियमित र निरन्तर रुपमा भैरहने क्रियाकलापहरु हुन् । वर्षेनी तिनै तहका सरकारले आ–आफ्नो बजेट, नीति तथा कार्यक्रम जारी गर्छन् र कार्यान्वयनमा जान्छन् । तर,खर्च गरेको बजेट, निर्माण गरेको नीति र तय गरेको कार्यक्रमको तुलनामा हासिल गरेका उपलब्धिहरु न्युन भएको भनि जनगुनासो व्यापक छ । धेरथोर भएपनि प्राप्त उपलब्धिहरुमा पनि अधिकांश आमनागरीकहरुले आफ्नो अवनत्व स्वीकारेका छैनन् पर्याप्त मात्रामा सहभागिता जनाएका छैनन् ।
त्यसैले,स्थानीय सरकार अन्तर्गत सबैभन्दा नजिकको निकाय वडाले यस प्रकारका समस्या, सम्भावना र समाधानका बारेमा लेखाजोखा गरी यथोचित सम्बोधन गर्न सक्नुपर्दछ । आफ्ना नागरीकहरुलाई विश्वासमा लिएर सामाजिक विकासमा अत्यधिक जनसहभागिता बनाउनुपर्दछ । विकासका लागि छुट्टाएको बजेटलाई अधिकतम सदुपयोग गरी कार्यान्वयन गर्न गराउनतर्फ ध्यान दिनुपर्दछ । निरन्तरको समन्वय, सुपरिवेक्षण वा अनुगमन तथा नियन्त्रण जे जरुरी हुन्छ सो गरी विकास बजेटलाई तोकेको मापदण्ड अनुरुप खर्च गर्न अभिप्रेरित गर्नुपर्दछ । विनियोजित बजेटको दुरुपयोग हुने, विभिन्न वाहानाले फिर्ता पठाउने वा फ्रिज जाने, कागजी रुपमा मात्रै खर्च देखाएर आर्थिक अनियमितता एवम् भ्रष्टाचार हुने जस्ता विद्यमान विकृतिहरुलाई निस्तेज गर्न वडा सरकारले अधिकतम तागत लगाउनुपर्दछ । वडाका लागि अधिकतम तागत भनेको जनस्तरमा बन्ने साना र प्रभावकारी संयन्त्रहरु हुन् जसअन्तर्गत टोल सुधार समितिको गठन र सञ्चालन पनि एक हो ।
पछिल्लो समयमा विकास निर्माणमा आमनागरीकको चाँसो बढ्दै गएपनि उपभोक्ता समितिको गठन र यसको कार्यशैलीमा एकदमै वेथिति देखा परेको छ । सरकारमा रहेका र नरहेका राजनीतिक दलहरुले आफु निकट व्यक्तिहरुलाई तोक्ने देखि एउटै घरपरिवारका सदस्यहरु दुई भन्दा बढि समितिहरुमा बस्ने र त्यसमध्येमा पनि चेकमा हस्ताक्षर गर्न पाउने पदका लागि अनुपयुक्त प्रतिस्पर्धा गर्नेसम्मका गतिविधिहरुका कारण उपभोक्ता समितिहरु प्राय विवादमा आउने गरेका छन् । कतिपय योजनाहरुमा माथिल्ला तहका नेता जनप्रतिनिधिबाट नै ठाडो निर्देशन आउनाले समस्या पैदा हुने गरेका छन् । यो वा त्यो कारणले गलत योजनामा बजेट विनियोजन गर्नु, योजनाका लागि निर्माण हुने उपभोक्ता समितिहरुमा स्वार्थ समुह तयार पार्नु र योजनाको कार्यान्वयनमा सरकारी तहबाट अनुगमन नहुनु विकासका लागि अहिलेका बाधक तत्वहरु नै हुन् । बजेट खर्च गर्न मात्र उद्देलित हुने सरकारी संयन्त्र, राजनीतिक आग्रह पुर्वाग्रहमा रुमल्लिने जनप्रतिनिधिहरु, क्षणिक लाभलाई प्राथमिकतामा राखि काम गर्ने उपभोक्ताहरु बजेटको दुरुपयोग गर्ने साधन बनिरहेका छन् । अनियमितता र भ्रष्टाचारलाई वढावा दिइरहेका छन् । औचित्य र आवश्यक्ता विहिन विकास निर्माण गरिरहेका छन् । सरकारी बजेटलाई बालुवामा पानी खन्याएझैं गरी निरन्तर खन्याइरहेका छन् ।
यहाँ एकातर्फ सरकारी बजेट खर्च गरेर बनेका संरचनाहरु कमसल त छँदैछन् भने अर्कातर्फ बनेका संरनाहरुमध्ये अधिकांश संरचना औचित्यहिन र उपयोगविहिन सिद्ध भएका छन् । निर्माण भएका कतिपय सार्वजनिक संरचनाहरु सरकारले बुझ्न नपाउँदै भत्कन्छन् त कतिपय बनेको वर्षौ वितिसक्दा पनि प्रयोगमा आउँदैनन् । कतिपय त प्रयोगमा ल्याउनै नमिल्ने छन् भने कतिपय सार्वजनिक संरचनाहरु नीजि रुपमा प्रयोग भैरहेका छन् । हाम्रै आँखा अगाडी भएका यी विकराल वेथितिहरुलाई निस्तेज पार्न राज्य तहबाट जिम्मेवारी पाएका सरकारी संयन्त्रले पनि टुलुटुलु हेर्नु सिवाय खास उल्लेखनिय कदम चालेको महशुस जनमानसले गरेको छैन । आमनागरीक तहमा जति गुनासो छ त्यसले पनि मुर्त रुप लिन सकिरहेको छैन । जिल्लाको सदरमुकाम भएको वडामा त यस्तो अवस्था छ भने दुरदराजका अन्य ठाउँमा यो भन्दा खराब अवस्था होला भनि सोझै अनुमान लगाउन सकिन्छ । तथापिः केही स्थानीय तह र वडाहरुले तुलनात्मक रुपमा आफुलाई विकासको बाटोमा अगाडी बढाईरहेका छन् ।
पछिल्लो समयमा जिल्लामा बन्न लागेका ठुला परियोजनाहरुमा आमनागरीकको सरोकार बढ्न थालेको छ । सदरमुकाम दुनैमा रहेको पन्ध्र शैया अस्पतालको सुदृढिकरणका लागि बनेको डिपिआर आवश्यक्ता र जनभावना अनुरुप नभएको भनि नागरीकहरुले सच्याउन माग गर्दै जनदबाव सृजना गरेका छन् । फलस्वरुप जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु र राजनीतिक दलका नेताहरुले अस्पतालको डिपिआर परिवर्तन गर्ने आश्वासन समेत दिएकाले नागरीक चाँसोले विकास निर्माणमा खास अर्थ राख्दछ भन्ने यथार्थलाई अझ बल पुगेको छ । विग्रेभत्केपछि एकले अर्कोलाई दोष देखाएर कमजोर सावित गर्दा आफु र आफ्नो समाज पछि परेको भेउ नपाउने हामीले समय रहँदै आफु सचेत भई सम्बन्धित पक्षलाई सजग बन्न बनाउन लागि पर्नैपर्ने हुन्छ । अब हरेक नागरीक हर–एक व्यक्ति मात्र नभएर व्यक्ति र परिवार भन्दा माथि उठ्दै समाजका लागि आ–आफ्नो तहबाट जुर्मुराउनुपर्ने बेला भएको छ । लड्नुपर्ने बेला भएको छ । अझै बढी सशक्त भएर जुट्नुपर्ने बेला भएको छ ।