भदौ ७/दुनै : डोल्पामा विषालु च्याउ खाएर चारजना सिकिस्त बिरामी परेपछि हेलीकप्टरबाट नेपालगञ्ज लगिएको छ। जिल्लाको ठूलीभेरी नगरपालिका५ मा पर्ने पोखेपानी पाटनमा गोठालो बसेको अवस्थामा तरकारीको रूपमा च्याउ खाँदा चारजना सिकिस्त भएपछि थप उपचारको लागि सिम्रिक एयरको हेलीकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जगलमा पाइने बिषालु च्याउ खाएर बिरामी पर्नेमा ठूलीभेरी नगरपालिका– ७ का ३१ सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं. ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनीहरूले आइतबार साँझ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजे मात्र आफूहरूकहाँ आएको र त्यसलगत्तै घटनास्थलमा प्रहरी खटाइएको जिल्लामा उपचार नहुने भएपछि स्थानीय सरकारसँग सहकार्य गरेर थप उपचारको लागि नेपालगञ्ज लगेको प्रजिअ सुनारले बताए ।
उनीहरू चारैजनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकाेप्टरमा नेपालगन्ज पठाइएको छ । बिरामी कुरुवासहित आठजना भएकाले सिम्रिक एयरले दुई उडान गरेको प्रशासनले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हेलिकाेप्टर चार्टर्ड गरी बिरामीलाई नेपालगन्ज पठाइएको बताउँदै चारैजनाको अवस्था सिकिस्त रहेको ठूलीभेरी नगरपालिकाले जानकारी दिएको छ । उनिहरुले च्याउ पोलेर खाएको र एकाएक ब्यहाेस भएको स्थानीयहरु बताउछन ।