अनुभुति बिनाका प्रश्नहरु (तारा एन पौडेल “पौडेल इन्शु”) का कविता

जैतुन अनलाइन | 2020-06-28

 

अनुभुति बिनाका प्रश्नहरु

जिबनभरि हजारौ महलहरु बनाई, सधै झुपडिमा बस्ने श्रमिकहरुलाई सोधें

महलको सुख कस्तो हुन्छ् भनेर,

 

हरेक दिन तुइनको साहारामा, भेरी र कर्णाली पार गर्ने किसानहरुलाई सोधें

केबलकार चड्दाको आनन्द कस्तो हुन्छ् भनेर,

 

दिनभर हजारौ भोल्टका बिधुतलाईन जडान गरि, टुकी बाल्दै रात बिताउने मजदुरलाई सोधें

बिधुतको उज्यालोमा रमाउदा कस्तो हुन्छ भनेर,

 

गाईबस्तुको गोबरबाट गुइ्ठा बनाई, आफ्नो चुलो बाल्ने गृहिणीलाई सोधें

ग्यांस पाईप जोडिएको चुलो बाल्दाको अनुभुति कस्तो हुन्छ भनेर

 

तर सबै जना मौन रहे जवाफ केहि पाईन ।

आखिर,

म त तिनै मजदुरहरुले बनाएको महलमा, भित्तामा जडान गरिएको टि. भि. हेर्दै

देशका राजनितिज्ञहरुको भाषणमा पो बगेको रहेछु, जसरी तुइन मुनिबाट भेरी र कर्णाली बगिरहेको छ,

 

त्यसैले त ती झुपडीका अनुहारहरुमा त्यो मौनता स्वभाविक थियो,

अनुभुति बिनाका प्रश्नहरुको उत्तर थियो ।

 

तारा एन पौडेल पौडेल इन्शु

१४, असार २०७७