चीन र भारतको सीमामा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु

जैतुन अनलाइन | 2020-06-16

काठमाडौं : चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा तीन भारतीय सैनिकहरुको मृत्यु भएको छ । सोमबार राति भएको दुई पक्षीय गोली हानाहानमा भारतीय सेनाका एक आर्मी अफिसर र दुई सिपाहीको मृत्यु भएको हो ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए । जुन ६ मा वार्ता पनि भएको थियो ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडप भएको बताएको छ ।

अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको वक्तव्यमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका छन् ।

चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको प्रवक्ता लिजियानले बताएका छन् । चिनियाँ सैनिकतर्फ भने क्षति भएको छैन ।

चीन र भारतको सीमामा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु