खुट्टाको औँलामा पनि देखिन्छ कोरोना लक्षण

जैतुन अनलाइन | 2020-05-19

काडमाण्डौ : जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् ।

केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।

कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए ।

चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सिथिल बनाउने गुण पनि अन्य भाइरसमा नहुने उनीहरुको भनाइ छ ।

चिकित्सकहरु के भन्छन् भने ६० वर्ष भन्दा बढी उमेरका मानिस र दिर्गरोग लागेका बिरामीहरु कोभिड १९ संक्रमणको उच्च जोखिममा हुने गरेका छन् । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा संक्रमित छन् ।

गत अप्रिलमा केही अध्ययनले के देखाए भने, केही बिरामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अस्वभाविक गति थियो । र हानिकारक पनि ।

यससँगै केही अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो । जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।