अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द, कर्मचारीलाई पनि पास अनिवार्य

जैतुन अनलाइन | 2020-05-12

काठमाडौँ : गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।

मुलुकमा कोरोना(कोभिड–१९) भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै गृहले मङ्गलवार दिउँसो यो निर्णय गरेको हो । मङ्गलवार मात्रै ५७ जना कोरोना सङ्क्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उप-सचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीले प्रशासनलाई भने, ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न थालेसँगै बढेको भिडभाड पछि मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीको भनाई छ । सञ्चार कर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।