२६ जना सशस्त्र प्रहरीलाई लिएर सेनाको हेलिकप्टर कालापानी क्षेत्रमा जाने

जैतुन अनलाइन | 2020-05-12

काठमाण्डौ : दार्चुलाको कालापानी क्षेत्रमा राख्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका लागि सशस्त्र प्रहरीलाई लिएर नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाने तय भएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बुधबार काठमाडौँबाट २६ जनाको टोली लिएर सेनाको हेलिकप्टर जाँदैछ । पाण्डेका अनुसार सशस्त्रको पोष्टका लागि आवश्यक सामग्री ओसार्न बुधबार दिनभरिका लागि हेलिकप्टर चार्टर्ड गरिएको छ ।  दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि सशस्त्र प्रहरी लैजान लागिएको हो ।

गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।