जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जैतुन अनलाइन | 2020-05-06

काठमाडौं : सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय जेठ ५ गतेसम्म थपेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको बैठकमा सहभागी एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन् ।

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा लकडाउनको मोडालिटिको बारेमा छलफल भएको थियो । समितिले लकडाउन थप्‍न सरकारलाई सुझाव दिएको थियो।

यसअघि थपिएको लकडाउनको समयावधि बिहिबार सकिन लागेको छ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। दोस्रोपटक एक हप्ता थपेर चैत २५ सम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गते सम्मथपिएको थियो। फेरि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। कोरोनाको जोखिम बढ्न थालेपछि पुनः पहिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

यस अघि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।

लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन्। सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ। कोरोना संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कडाइपूर्वक कारबाही गर्ने निर्णय यस अघि नै गरिसकेको छ।