डोल्पामा डालेचुकको खेती तथा प्रबद्धनको महत्व : (सिवोकथ्रोन)

जैतुन अनलाइन | 2020-04-30

डोल्पामा डालेचुकको खेती तथा प्रबद्धनको महत्व : (सिवोकथ्रोन)

नेपालको उच्च पहाडी क्षेत्रहरु बिशेष गरि समुन्द्रि सतहदेखि १८०० मिटर बाट ३५०० मिटरको उचाई सम्म पाईने डालेचुक काँडेदार बहुमुल्य तथा बहुउपयोगी गैह्काष्ठ वन पैदावर हो । डोल्पा, हुम्ला, जुम्ला, मनागं मुस्तागं जस्ता हिमाली जिल्लाहरुमा प्राकृतिक रुपमा पाईने यस बहुउपयोगी डालेचुकको बिभिन्न प्रयोजनमा उपयोग गरिन्छ । यसको फल जुसको रुपमा, पात चियाको रुपमा, बिँया तेलको रुपमा साथै बिभिन्न कस्मेटीक प्रयोजनमा प्रयोग भईरहेको छ । चिसो मौसमा हुने प्रजाती भएता पनि यो करिब २० डिग्रि को वरीपरिको तापक्रममा राम्ररी विकास हुन्छ । बार्षिक रुपमा औषत ४०० देखि ६०० मिलिलिटर पानी पर्ने ठाँउमा समेत यो राम्ररी हुर्कन सक्छ । भिरालो तथा कम उर्बर जमिनमा समेत यो राम्ररी हुर्कन सक्ने भएकाले डोल्पा जस्तो कम पानी पर्ने साथै कम उर्बर भएको क्षेत्रमा यो सहज रुपमा हुर्कन र बढ्न सक्छ ।

 

डालेचुकको फलमा प्रशस्त भिटामिन हरु जस्तै भिटामिन ए, बि वान, बि टु, सि, के का साथै अन्य पदार्थहरु प्रशस्त मात्रामा पाईने भएकाले यो बहुलाभदायीक छ । भिटामिन सि को राजा भनेर चिनिने अमला भन्दा पनि १६ गुणा बढि भिटामिन सि यसमा पाईन्छ । डालेचुकको फलबाट जाम, जेली, जुस, रक्सी आदी बिभिन्न बस्तुहरु बनाएर प्रयोग गर्न सकिन्छ । यसै गरि यसको पात बाट हर्बल चिया पत्ति बनाउन सकिने साथै चुकको बिँयाबाट तेल तथा बिभिन्न कस्मेटीकहरु तयार गर्न सकिने भएकाले यो एकदमै बहुउपयोगी रहेको छ । डोल्पा जस्तो निर्वाहमुखी कृषिमा आश्रित भएको जिल्लामा डालेचुकको खेती गरि यसको प्रशोधन तथा व्यबस्थापनबाट ठुलो आर्थिक लाभ लिई जिल्लाका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सकिने प्रबल संभावना रहेकोछ । प्राकृतिक रुपमा रहेको डालेचुकको फल तथा पातकाको संकलनमात्र गर्दा पनि प्रति हेक्टर रु २९५००० सम्म आम्दानी गर्न सकिन्छ र यो जिल्लाको कुनै पनि परम्परागत बाली भन्दा दोब्बर बढी आम्दानी हो  (बुढा, २०१३) । डालेचुकको खतै तथा व्यबस्थापन गरेमा यसको आम्दानी धेरै गुणा बढाउन सकिन्छ । त्यसै गरि डालेचुकको जंगलको माटोमा खेतीपाती गरिएको जग्गाको भन्दा धरै बढी नाइट्रेजन, फस्फोरस, पोटास पाईनका साथै माटोको पि.एच पनि न्य्रट्रल पाईएको छ ।

डालेचुकको आर्थिक फाईदाका अलवा यसको उल्लेखनिय  वातावरणीय संरक्षको योगदान पनि रहेको छ । भिरालो जमिन तथा कम उर्बर र कम उत्पादनमुलक जमिनमा समेत डालेचुक हुकर्न सक्ने भएकाले डोल्पा जस्तो भिरालो तथा भू–क्षयको प्रकोप हुने क्षेत्रमा यसले ठुलो योगदान दिन सक्छ । डालेचुकको जरा बलियो हुने तथा यसको अधिकांश जरा जमिनको सतहदेखी करिब २० से.मी देखी ८० से.मी.को बिचमा रहने भएकाले यसले माटोलाई बलियो संग बाधेर राख्ने साथै सतहको पानी बग्ने क्रमलाई रोकी जराहरु मार्फत जमिन मुनी पानी सोस्ने भएकाले भू–क्षय हुनबाट पनि रोक्छ । त्यसै गरि डालेचुकको जंगलमा बिभिन्न किसिमका चराचुरुगि तथा जनावरहरुले बासस्थानको रुपमा प्रयोग गर्ने भएकाले यसले बन्यजन्तुको संरक्षणमा पनि मद्धत गर्दछ । डालेचुक भएकोे जंगलको माटो मलिलो हुने भएकाले यसको खेती गरि जंगलको बिचमा बिभिन्न किसिमका जडिबुटी रोपण गरि थप आम्दानी लिन पनि सकिन्छ । डालेचुकको बिरुवाले प्रति हेक्टर १८० के.जि. नाईट्रोजन फिक्स गर्न सक्ने भएकाले पनि डालेचुकको जंगलको माटो उर्बर हुन्छ ।

 

बैद्यले सन १९९९ मा गरेको अध्ययन अनुसार डोल्पा जिल्लामा प्राकृतिक रुपमा डालेचुकको फलको उत्पादन करिब १५०० के.जि. हुने साथै अर्को एक अध्ययनले राम्रो बिऊबाट डालेचुकको खेती गर्दा प्रति हेक्टर करिब १०००० के.जि. डालेचुकको फल उत्पादन हुने जानकारी दिएकोछ । डालेचुकको राम्रो व्यबस्थापन गरि खेती बिस्तार गरिएमा यस बाट प्रशस्त आम्दानी लिनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुर्याउन सकिन्छ । हाल डोल्पामा डालेचुकको फलको प्रति के.जि. रु १०० भन्दा बढि साथै यसको रसको करिब १५० भन्दा बढि रहेकाले उपलब्ध जमिनमा डालेचुकको खेती गरेमा दिगो रुपमा लाखौ रुपैया आम्दानी लिन सकिन्छ । डाँलेचुक खेतियोग्य जमिन बाहेकाका भिराला पाखा तथा बाँझो जग्गामा पनि लगाउन सकिने भएकाले कृषि उत्पादनलाई कुनै असर नगर्ने देखिन्छ । अझ यसले कृषि उत्पादन बढाउन थप सहयोग गर्दछ । डाँलेचुकको बिरुवाले चौँथो बषृबाट उत्पादन दिने साथै त्यसपछि कम्तिमा १५ बर्ष सम्म फल नियमित रुपमा दिने भएकाले थोरै लगानिमा दिगो रुपमा यसको आम्दानी लिन सकिन्छ । फलका अलवा यसको पात बाट पनि यथेष्ट फाइदा लिन सकिन्छ ।

डोल्पा जिल्लामा हाल सम्म पनि डालेचुकको खेती बिस्तार नभएतापनि डालेचुकको खेती बिस्तार जिल्ला भरिनै गर्न सकिन्छ । जिल्लाको दुनै, सुँ, जुफाल, रह, त्रिपुराकोट, कालिका, लाँहा, नर्कु, सर्मि, माझफाल गा.वि.स. डालेचुक खेती बिस्तार गर्नका लागि बढि उपयूक्त रहेका छन । परम्परात रुपमा प्राकृतिक रुपमै डालेचुकको फल संकलन गरि यसको सर्बत तथा जुस बनाई सेबन गरिएता पनि यसको उद्योग स्थापना गरि प्रशोधन खासै गरिएको छैन । जिल्लाको दुनै मा  मन्दिर थापाले सानो रुपमा भएता पनि अल्पाईन सिबकर्थन जुस उद्योग स्थापना गरि फलबाट जुस तथा पातबाट हर्बल चियापत्ति उत्पादन गरि बिक्रि वितरण गरिरहनु भएको छ ।

 

डोल्पा जस्तो आर्थिक विकासको संभावना बोकेको जिल्लामा डालेचुकको खेती गरेमा यसले दिगो आम्दानी दिई यहाँका जनताहरुको जिवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणमा समेत उल्लेख्य सुधार ल्याउन मद्धत गर्ने भएकाले यसको विकास तथा व्यबस्थापनमा आजै देखि सोच्न तथा कार्यान्वयनमा लाग्न आबश्यक रहेकोछ । प्रारम्भिक चरणमा डालेचुकको खेती बिस्तार मात्र गर्ने तथा उत्पादन बढाउदै बिस्तारै यसको प्रशोधन गरि बिभिन्न बस्तुहरु तयार गरि जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उत्पादनलाई बिक्रि वितरण गरि प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको विकासमा तथा व्यबस्थापना जोड दिन आबश्यक रहकोछ । छोटो समयको फाईदालाई मात्र नहेरी दिर्घकालिन फाईदा लिन सकिने तथा यसबाट आर्थिक, सामाजिक का साथै वातावरणीय क्षेत्रमा दिगो विकास हाँसिल गर्ने क्षेत्रमा लाग्न आबश्यक क्षेत्रको विकासमा जोड दिन आबश्य देखिएकोछ । डोल्पा जस्तो हिमाली क्षेत्रमा डालेचुको खेती तथा प्रबद्धन र विकासको रामे भबिष्य देखिएकाले यसको प्रवद्धन तथा विकास गरि जिल्लाका बासिन्दाको दिगो आयआर्जनको श्रोत निमाण गर्न यसले ठुलो योगदान पुर्याउने गर्दछ ।

 

लेखक : योगेन्द्र बुढा

डोल्पा सर्वागिंण विकास समाज, डोल्पा