डीआईजीलाई दर्ज्यानी, फेरिए सातवटै प्रदेशका प्रहरी प्रमुख

जैतुन अनलाइन | 2020-04-20

काठमाडौँ : नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक(एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक(डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक(आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

गृह मन्त्रालयले चैत २८ गते एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, शहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् भने २ नं. प्रदेशमा धिरजप्रताप सिंहलाई पठाइएको छ । बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ भने सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।

डीआईजी अरुणकुमार विसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ । हाल प्रदेश नं. २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ ।