भारतमा एकै परिवारका २६ जनामा कोरोना संक्रमण

जैतुन अनलाइन | 2020-04-19

नयाँदिल्ली : भारतमा एकै परिवारका २६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले हालै भिडिओ सन्देशको क्रममा यसबारे जानकारी दिएका थिए ।

जहांगिरपुर क्षेत्रबाट ६० जनाको नमुना परीक्षण गरिएको थियो । जहाँ एकै परिवारका २६ सहित ३१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कतिपय मानिसहरु घरबाहिर घुम्ने र आफन्तकहाँ भेट्न जाने गरेका कारण कोरोना प्रभावित क्षेत्र जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको केजरीवालले बताए ।

‘लकडाउनको अवधिमा धेरै मानिसले समस्या झेल्नुपरेको छ, हामी यदी अनुशासित भएनौँ भने, हामीले दुख पाउनेछौँ, मानिसहरु मलाई त यो संक्रमण हुँदैन भन्ने सोच्छन् भने उनीहरु गलत छन्, तपाईँ मन्त्री हो कि, पियन हो, धनी हो कि गरिब हो, त्यसले यो संक्रमण लाग्ने कुरामा केही अर्थ राख्दैन, तपाईँको व्यवहारले मात्रै यसमा अर्थ राख्छ,’ केजरीवालले भने ।

जहाँगिपुरमा गत मार्च २० मा नै एकजना संक्रमित भेटिएपछि यस क्षेत्रलाई संवेदनशील भन्दै बन्द गरिएको थियो । भारतमा हालसम्म १६ हजार ३ सय ६५ कोरोना संक्रमित भेटिएका छन् । ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।