माल्दिभ्सलाई पराजित गर्दै नेपाल साग फुटबलको शीर्ष स्थानमा

जैतुन अनलाइन | 2019-12-08

काठमाडौँ : १३ औं साग अन्तर्गत शनिबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।  पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल २-१ ले विजयी भएको हो। यो जितसँगै नेपाल सात अंकसहित शीर्ष स्थानमा पुगेको छ।

पहिलो हाफमा माल्दिभ्सले १९औँ  मिनेटमा  गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।

आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै ४३ औं मिनेटमा माल्दिभ्सलाई १-१ को बराबरीमा रोकेका थिए।

खेलको ५२ औं मिनेटमा पाएको कर्नर किकलाई नेपालले सदुपयोग गर्दै रोचक गोलमा परिणत गरेको थियो। नेपालका लागि सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् सुन्दर गोल गरेका थिए।

माल्दिभ्सको अग्रतालाई तोड्दै नेपालले शानदार जित दर्ता गरेको हो। यसअघि नेपालले पहिलो खेलमा भुटानविरुद्ध ४ गोल गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको छ। अर्को खेल नेपालले बंगलादेशसँग खेल्दै छ। भुटान शनिबार श्रीलंकासँगको खेलमा पराजित भए एक खेल अगावै नेपाल फाइनल प्रवेश गर्नेछ। नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो।