डोल्पामा कार्यरत छ जना कर्णालीबाट १५ जना विभूषित हुँदै

जैतुन अनलाइन | 2019-09-22

असोज ५ डोल्पा :  संविधान दिवसका अवसरमा मानपदवी, अलंकार र पदकका लागि कर्णाली प्रदेशबाट १५ जनालाई विभूषित गरिने भएको छ । नेपाल सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालि कूल ६ सय ३४ जनालाई विभूषित गर्ने घोषणा गरेकी छिन् । जसमध्ये १५ जना राष्ट्रसेवक कर्मचारी तथा समाजसेवी कर्णाली प्रदेशबाट विभूषित हुने भएका हुन् ।

कर्णाली प्रदेशबाट प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट रुकुमकी पत्रकार लक्ष्मी पुन, सशस्त्र प्रहरी बल नम्बर ६ बाहीनी सुर्खेतका प्रहरी नायब उपरीक्षक लकेशकुमार तुम्बाहाङफे, जिल्ला अस्पताल मुुगुमा कार्यरत जनस्वास्थ्य निरीक्षक ज्ञानसिं बुढा, चन्दननाथ नगरपालिका–१०, पण्डितवाडा जुम्लाका युवा वैज्ञानिक यज्ञप्रसाद देवकोटा उपाध्याय, ठूलीभेरी–३, मेहेलसेरा डोल्पा निवासी समाजसेवी योगेन्द्रबहादुर शाही, सिमीकोट गाउँपालिका–३, हुम्लाका समाजसेवी छिरिङडंदुल लामा, नेपाल खाद्य संस्थान सुर्खेतका शाखा प्रबन्धक भीमबहादुर थापा, मुड्केचुला गाउँपालिका–७, डोल्पाका पत्रकार विष्णुलाल बुढा विभूषित हुने भएका छन् ।

नेपाल प्रहरी सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषणबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लामा कार्यरत प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुँवर र नेपाली सेनाले मात्र प्राप्त गर्ने अति पौरख भाष्करबाट विनायकदल गण नेवारे ब्यारेक सुर्खेतका प्रमुख सेनानी सुरज लामिछाने (नम्बर ३१२४) विभूषित हुने भएका छन् । यस्तै समाजसेवा रत्नबाट वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान सुर्खेतका समाजसेवी श्यामलाल कँडेल र शिक्षा ज्योती पदकबाट बागचौर–२, सल्यानका माध्यमिक शिक्षक पूर्णबहादुर भण्डारी विभूषित हुने भएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्र प्राप्त गर्ने नेपाल प्रताप भूषणबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पामा कार्यरत प्रहरी जवान सम्भव तिमल्सेना र नेपाली सेनाले मात्र प्राप्त गर्ने महापौरख भाष्करबाट त्रिपुरादल गुल्म नेवारे ब्यारेक, सुर्खेतमा कार्यरत सेनानी सुनिलकुमार खड्का (नम्बर ३५९२), इश्वरीबक्स गुल्म सुलिगाड ब्यारेक डोल्पामा कार्यरत सेनानी जेनिथ जबेगु (नम्बर ३९३६) विभूषित हुने भएका हुन् ।

यसपालि मानपदवी पाउनेमा चार सय ५०, अलंकार पाउनेमा एक सय ५६ र पदक पाउनेमा २८ जना परेका छन् । विभिन्न क्षेत्रमा योगदान गर्ने स्वदेशी, विदेशी तथा सरकारी कर्मचारीलाई आठ मानपदवी, आठ अलंकार र आठ पदक शीर्षकमा विभूषित गरिने छ ।

महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट साहित्यकार मनदमणि दीक्षित र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरान्त विभूषित गरिने छ । त्यस्तै सूप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) बाट प्रधानमन्त्री केपी शर्मा ओलीकी नीजि चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, पर्यटन तथा हवाई उड्डयन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणालाई विभूषित गरिने छ ।