बिश्वकै अग्लो मानब बस्ती रहेको धो उपत्यकालाइ कर्णालीको हिमाली शहर बनाउने प्रतिबद्धता

जैतुन अनलाइन | 2019-09-18

धो तराप,डोल्पा: मुलुकभित्र सबैभन्दा उच्च भेगमा मानव वस्ती बसेको हिमाली जिल्ला डोल्पाको धो तरापमा समग्र कर्णाली प्रदेशको विकासबारे बहस भएको छ । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँ पालिकामा २४ गतेदेखि सुरु भएको डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेन स्कुलको रजत महोत्सवका सहभागीले कर्णालीलाई हिमाली सहरको रुपमा विकास गरेर मुलुककै धनी प्रदेशको रुपमा विकास गर्न प्रतिवद्ध जनाएका छन् ।

जडीबुटी, स्थानीय उत्पादन, कला तथा संस्कृतिको प्रचार प्रसार गर्न र जिल्लाकै नमूना विद्यालयको रुपमा परिचित क्रिस्टल माउन्टेन स्कुल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको हो । सरकारका प्रतिनीधि, राजनीतिक दलका नेता तथा यस क्षेत्रका जानकारले कर्णालीमा प्रशस्त सम्भावना भएपनि केन्द्रीय सरकारको प्राथमिकतामा नपर्दा विकासले गति लिन नसकेको गुनासो गरे ।

उच्च भेगमा मानववस्ती रहेको यस जिल्लामा पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको हो । सदरमुकाम दुनैबाट तीन दिनको पैदल यात्रापछि मात्र पुगिने यो गाउँ सुन्दर धो उपत्यकाको रुपमा परिचित छ ।

विकट स्थानमा वस्ती भएका कारण यस क्षेत्रका वासिन्दाले शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानीलगायतका समस्या बेहोरिरहेका छन् । विशेषगरी सडक सञ्जालको अभावमा यो भेगका नागरिकले हरेक वर्ष खाद्यान्न अभावको समस्या बेहोर्नुपर्छ ।

सदरमुकाम दुनैबाट खच्चड, याक तथा भरियालाई सामान बोकाएर ल्याउनसक्ने परिवारले मात्र सहज खाद्यान्न उपभोग गर्न पाउँछन् । दुई दिनको हिंडाइपछि पुगिने डोल्पासँग जोडिएको तिब्बती नाका मरिम्ला पनि वर्षमा एक पटक मात्र खुल्छ । १५ दिन मात्र खुल्ने भएका कारण यहाँका बासिन्दाले उक्त समयमा पर्याप्त सामग्री जोहो गर्न सक्दैनन् ।

महोत्सवमा सहभागी भएका संघीय सरकारका उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले डोल्पाको मात्र नभएर समग्र कर्णाली प्रदेशकै विकासका लागि संघीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस क्षेत्रको विकासको लागि उपयुक्त मोडलसहितको योजना पेश गर्न उनले प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरे । साथै, पछिल्लो समय स्थानीय सरकारको नाममा विनियोजन गरिएको रकमको दुरुपयोग नगर्न प्रदेश तथा स्थानीय सरकारका प्रमुखलाई समेत पोखरेलले चेतावनी दिए ।

कर्णाली प्रदेशको विकासको लागि प्रदेश र स्थानीय सरकारको पहलले मात्र काम नगर्ने हुनाले संघीय सरकारले सहयोग गर्ने उनको भनाइ थियो । यस भेगका बासिन्दाले व्यवस्थित हवाई मैदान, एकीकृत वस्ती, चिनियाँ नाका खुलाउने विषयमा पहल गिरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

केन्द्रीय सरकारको तर्फबाट यो ठाउँमा आउने पोखरेल अहिलेसम्मकै उच्च प्रतिनिधि हुन् । कार्यक्रममा नेकपाका कर्णाली प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री जनार्दन शर्माले कर्णालीलाई सुन्दर हिमाली प्रदेशको रुपमा विकास गरिने बताए । उनले भने, ‘यस विषयमा म संघीय सरकारलाई पनि अनुरोध गर्छु । यहाँ उपस्थित हुनुभएका उप- प्रधानमन्त्रीज्युलाई पनि यहीबाट अनुरोध गर्छु ।’

संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले डोल्पाको विकासका लागि जिल्लामा क्रियासिल सबै राजनीतिक दल एक भएको बताउँदै आफ्नो कार्यकालमा यस क्षत्रको विकासका लागि सक्दो प्रयास गर्ने बताए ।

कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दलबहादुर रावललगायतले तीनै तहको सरकारको संयुक्त प्रयासमा मात्र कर्णाली प्रदेशको विकासले गति लिने बताए ।

नेकपा डोल्पा जिल्ला इन्चार्ज हंसवहादुर शाहीले डोल्पा जिल्ला पर्यटकीय दृष्टिले समेत आकर्षक गन्तव्यको रुपमा विकास गर्न सबै एकजुट हुनुपर्ने बताए । हिमाली जिल्ला भएपनि माथिल्लो डोल्पा विकासको हिसाबले निकै पछाडी छ । यो भेगमा तीनवटा गाउँपालिका पर्छन् । तर कुनै पनि गाउँपालिकामा सडक सञ्जालले छोएको छैन ।

प्रशस्त गुम्बाहरु रहेको तथा पर्यटकीय दृष्टिले समेत आकर्षक गन्तव्य भएपनि योजनावद्ध विकासको अभावमा यो भेगले महत्व पाउन नसकेको महोत्सवका संयोजक ग्याल्बो भोटेले बताए । बहुमूल्य जडीबुटी यार्चा गुम्बाको लागि पनि डोल्पा प्रसिद्ध छ।