यसकारण हुन्छ गर्मीमा पिसाब संक्रमणको जोखिम

| 2019-06-21

प्रा.डा. उत्तम शर्मा, युरोलोजिस्ट त्रिवि शिक्षण अस्पताल| काठमाडाैं

मिर्गौलाबाट पिसाबथैली हुँदै पिसाबनलीबाट पिसाब बाहिर निस्कन्छ । कीटाणुका कारण यसबीचमा जुनसुकै ठाउँमा पनि संक्रमण हुन सक्छ । जसलाई पिसाब संक्रमण भनिन्छ । सामान्यतया, शरीरमा रहेका विषाक्त पदार्थलाई मिर्गौलाको माध्यमले बाहिर निकाल्छ । तर, गर्मीयाममा धेरैजसो पानी पसिनाको माध्यमबाट बाहिर निस्कन्छ । फलस्वरूप विषाक्त वस्तु बाहिर निस्कन पाउँदैनन् ।

अझ, कम पानी पिउने गरेको भए पिसाब पनि कमै फेरिन्छ । यस्तो अवस्थामा विषाक्त वस्तु पिसाबनलीमा रहने हुन्छ । अनि, पिसाब संक्रमणको सम्भावना उच्च रहन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा समेत पिसाबको संक्रमण बढी हुने गर्छ ।

कारण

जुनसुकै उमेरका मानिसमा पनि पिसाब संक्रमण हुन सक्छ । पुरुषको तुलनामा महिलामा पिसाब संक्रमणको समस्या बढी हुने गरेको छ । महिलाको पिसाबनली सानो हुने तथा महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले पिसाब संक्रमण छिटो हुने सम्भावना रहन्छ ।

वृद्ध पुरुषमा समेत पिसाब संक्रमणको जोखिम हुन्छ । पुरुषमा हुने प्रोस्टेट ग्रन्थीका कारण पिसाबनली साँघुरो हुँदै जाने हुनाले संक्रमणको डर हुन्छ । त्यस्तै, पिसाब फर्केर पुनः पहिलेकै ठाउँमा जाने, पिसाब राम्ररी नहुने र विभिन्न कारणले पिसाब नली साँघुरो भएमा संक्रमणको जोखिम धेरै हुन्छ ।

शरीरमा विभिन्न संक्रमण भइराख्ने मानिस र मधुमेहका बिरामीमा पनि पिसाबको संक्रमण भइरहने खतरा हुन्छ । कतिपयमा पिसाबनली छोटो हुन्छ, जसले गर्दासमेत संक्रमण हुन सक्छ ।

लक्षण

पिसाब गर्दा पोल्ने, कोखा दुख्ने, छिनछिनमा पिसाब गर्न मन लाग्ने, बिस्तारै पिसाब कम हुँदै जाने र पिसाबसँगै पिप देखापर्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै, पिसाब गर्दा तल्लो पेट दुख्ने, शरीर कम्पन हुने, तथा बच्चामा ज्वरो आइरहने हुन्छ ।

पिसाबको मात्रा कम हुँदै जाने भएकाले कतिपयमा कडा खालको ज्वरो आउने समस्या देखापर्छ । बिस्तारै संक्रमण बढ्दै गएमा रगत बग्ने सम्भावना हुन्छ । जसले गर्दा मिर्गौलामा असर पर्ने र संक्रमण अन्य अंगमा फैलिएर मानिसको ज्यानसमेत जान सक्छ ।

रोकथाम र उपचार

पिसाब संक्रमणको लक्षण देखापरेमा प्रशस्त पानी पिउनुपर्छ । समय–समयमा चेकजाँच गराउनुपर्छ । लामो समयसम्म बेवास्ता गरेमा मिर्गौला खराब हुने सम्भावना बढेर जान्छ । तसर्थ, हेलचेक्र्याइँ गर्नुहुँदैन ।

संक्रमण अन्य अंगमा फैलिएको छ/छैन चेक गर्नुपर्छ । अन्य ठाँउमा सक्रमण भए÷नभएको पत्ता लगाउन अल्ट्रसाउन्ड गर्न सकिन्छ । एन्टिबायोटिक औषधिको सेवनबाट यसको उपचार सम्भव छ ।