साथीमाथि बलात्कार आरोप लागेपछि पूजाले भनिन्- महिला अधिकारको दुरूपयोग भयो

| 2019-05-09

भारतीय टिभी अभिनेता तथा गायक करण सिंह ओबेरायमाथि लगाइएको बलात्कारको आरोप झुटो भएको भन्दै उनकी साथी एवम बलिउड अभिनेत्री पूजा बेदीले करणको बचाउ गरेकी छन्।

एक ज्योतिष महिलाले करणले विवाह गर्ने बाहानामा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको छ। ती महिलाले करणले आफ्नि नग्न भिडियो बनाएर पैसा माग्दै आफूलाई ब्ल्याकमेल गरेको आरोपसमेत लगाएकी छिन्।

पूजाले यस घटनाका बारेमा सुनेर आफूलाई झट्का लागेको प्रतिक्रिया दिदैं ट्वीटमा करण समातिएको समाचार सार्वजनिक गर्दै सो खबर पढेर आफू हैरान भएको लेखेकी छिन्।

पोस्टमा उनले केहि महिलाहरूले आफ्ना अधिकारको गलत उपयोग गरिरहेको भनेर प्रश्न उठाएकी छिन्।

‘मलाई थाहा छैन बिहे गर्छु भनेर कसैले कसरी बलात्कार गर्नसक्छ?’ ट्वीटमा उनले लेखेकी छिन्।

यसैगरी पूजा र करण सम्मिलित उनीहरूको पूर्व सांगीतिक समूह ‘ब्यान्ड अप बोइज’ले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनीमाथि लागेको आरोप गलत भएको जनाएका छन्। उनीहरूका अनुसार आरोप लगाउने महिलाको उजुरी झूटो भएको उनीहरूले दाबी गरेका छन्।