भर्खर मात्र केही विवाद र समस्याका बीच एसईई परीक्षा सम्पन्न भयो । एसईईसम्मको शिक्षालाई आधारभूत शिक्षाका रूपमा हेरिने हुनाले अबको रोजाइले विद्यार्थीको भविष्य तय गर्नेछ । विद्यार्थीले आफ्नो रुचि र क्षमताको सही पहिचान गर्न सके मात्र अघिल्लो बाटो सहज बन्नेछ । तर अधिकांश विद्यार्थी यही अन्योलतामै देखिन्छन् कि अबको मेरो बाटो कता हो ?
एकातिर विद्यार्थीहरु एसईईपछिको लामो बिदालाई मनोरञ्जनको समय भनेर बिताउने पनि गर्छन् । अभिभावकहरु पनि यो समय खाली समय भनेर खासै सचेत देखिँदैनन् । पर्याप्त मार्गदर्शनको अभावमा भविष्य दुर्घटित हुने खतरा हुन्छ ।
यो समयलाई कसरी उपयोगी बनाउने ? अभिभावक, शिक्षक र समाजको पनि यसमा उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी स्वयं त सजक हुनैपर्छ । यसै विषयको सेरोफेरोमा रही राष्ट्रिय अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीसँग रातोपाटीका लागि सुनिता न्यौपानेले कुराकानी गरेकी छन् ।
एसईईपछिको अन्योलता
एसईईपछि विद्यार्थीमा अब के पढ्ने भनेर निकै अन्योलता देखिन्छ । केही समय अगाडिसम्म आइरन गेट भनेर भनिन्थ्यो एसएलसी परीक्षालाई । अहिले एसएलसी परीक्षाको नाम फेरेर एसईई भएसँगै परीक्षाफलको प्रकाशन अक्षराङ्कन (ग्रेडिङ) प्रणालीबाट सुरु गरिएको छ । यससँगै आइरन गेटवाला अवधारणा केही मात्रमा फेरिएको भए पनि पूर्ण रूपमा हटिसकेको भने छैन । यसका ह्याङओभरबाट मुक्त हुन भने अझै केही समय लाग्नेमा शङ्कै छैन ।
एसईईपछिको उमेर भनेको अत्यन्त महत्त्वपूर्ण उमेर हो । हाम्रो शिक्षा ऐनले गोलमाल गरेको छ । कक्षा आठसम्म आधारभूत र नौदेखि बाह्रसम्म माध्यमिक तहको शिक्षा हो । तर एसईई चलाइदिएर अलिकति अन्योलता देखिएको छ । एसईई चैतमा सकियो । उनीहरुको रिजल्ट असारतिर आउँछ । त्यो तीन महिनाको अवधिमा विद्यार्थीहरुलाई के गरेर बस्ने भनेर अन्योलता हुन्छ । पहिले फेसनका रूपमा ब्रिज कोर्स पनि आएको थियो । यसमा व्यापारीकरण भयो । ब्रिज कोर्सका लागि पैसा धेरै तिर्न पर्ने भयो । त्यसैले अहिले समयको सदुपयोग गर्नलाई अभिभावकहरुले आफ्ना छोराछोरीलाई परामर्श दिनुपर्छ । आफ्ना छोराछोरी गलत सङ्गतमा नलगुन भन्नका लागि अभिभावकले सतर्कता अपनाउनुपर्छ । आफ्नो खाली समयको सदुपयोग गर्नका लागि विद्यार्थीले कोसिस गर्नुपर्छ । आमाबाबु, स्कुलले गाइड गर्दा राम्रो हुन्छ ।
विषय छान्न समस्या
योबाहेक रिजल्ट आएपछि विषय छान्ने समस्या छ । साधारण स्कुलमा पढिरहेको छ । रिजल्ट आएपछि विज्ञान, गणित लिएर पढ्ने कुरा हुन्छ । विषय छनौटमा विद्यार्थीको आफ्नै इच्छा हुन्छ । आमाबाबुको छोराछोरीको भन्दा फरक इच्छा हुन्छ । त्यसपछि सुरु हुन्छ द्वन्द्व । त्यो द्वन्द्वमा विद्यार्थीलाई राम्रो परामर्श दिनुपर्छ । विद्यार्थीले कसैको लहैलहैमा लागेर बहकिएर विषय छान्ने भन्दा पनि आफ्नो इच्छा र क्षमताले भ्याउने विषय छान्न आमाबाबु, समाज र स्कुलहरुले परामर्श दिनुपर्छ । सिर्जनशील काममा लाग्नपर्छ भनेर हामीले उहाँहरुलाई सुझाव दिन सकिन्छ ।
राम्रा विद्यालय सहर केन्द्रित छन् । सहरमा गएर सन्तान विग्रिने खालको सोचाइ पनि रहेको छ । धेरै पैसा तिर्याे भने राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्छ । अर्काेतिर सहरी समाज तडक भडक गर्ने खालको भयो । चिल्लो प्रमाणपत्र देख्यो भने मात्र राम्रो मान्ने चलन छ । त्यो मानसिकतामा परिवर्तन गर्नका लागि सरकारले गाउँगाउँमा योजना ल्याउनुुपर्छ । सरकारले गाउँगाउँमा नमुना विद्यालय छनौट गरेको छ । त्यस्तो स्कुलमा राम्रा शिक्षकहरुका व्यवस्थापन गरेर कक्षा बाह्रसम्म राम्रो शिक्षा दिन सकेको खण्डमा मान्छेले सहर केन्द्रित क्याम्पस मात्र राम्रो हुने भन्ने सोचाइ परिवर्तन गर्न सकिन्छ ।
गाउँ राम्रो बनाउनका लागि शिक्षाको जग राम्रो बनाउनुपर्छ । योजनाबद्ध कार्यक्रम ल्याउनुपर्छ । त्यस्तो कार्यक्रम ल्यायो भने पछिका लागि राम्रो हुन्छ । तत्कालका लागि विकल्प नहुँदासम्म जहाँ जहाँ राम्रो भनिएको छ, त्यही क्याम्पस वा स्कुल छनोट गर्दा राम्रो हुन्छ ।
जहाँ जहाँ अभिभावक र विद्यार्थीको पढ्ने इच्छा हुन्छ, त्यसतर्फ आफ्नो आर्थिक अवस्थाले नभ्याउने स्थिति पनि हुन्छ । आफ्नो आर्थिक अवस्थाअनुसार विद्यार्थी कस्तो खालको क्याम्पसमा जाँदा राम्रो हुन्छ अभिभावकले परामर्श दिनुपर्छ । विद्यार्थीहरुले पनि अभिभावकको आर्थिक अवस्थालाई ध्यानमा राखेर कलेज छान्नुपर्छ ।
एसईईपछिको बाटोमा शिक्षकको भूमिका
एसईईपछिको बाटोको बारेमा विद्यालय तहमा र शिक्षकले पनि भूमिका खेल्नुपर्छ । सम्बन्धित विद्यालयले एसईईको नतिजा नआउन्जेलसम्म विद्यार्थीलाई बोलाएर काउन्सिलिङको कक्षा राखिदिए पनि हुन्छ । अगाडिको पढाइका लागि के गर्नुपर्छ भनेर कार्यक्रमहरु राख्यो भने राम्रो हुन्छ र विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । त्यसको लागि स्कुलमै तिरेको पैसा र उनै शिक्षकहरुबाट त्यस्तो खालको क्लास दिन सकिन्छ । त्यसको निमित्त सरकारले नै प्रयत्न गर्नुपर्छ ।
विज्ञान र गणित पढ्नुपर्छ भन्ने गलत मानसिकता
अभिभावकमा आफ्ना छोराछोरीले विज्ञान र गणित नै पढिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने र छोराछोरीले त्यो पूरा गर्न नसक्ने हुँदा द्वन्द्व सिर्जना हुन्छ । आफ्नो छोराछोरी विज्ञान र गणितमा कमजोर छन् र त्यही विषय पढ्दिए हुन्थ्यो भन्ने अपेक्षा छ भने अभिभावकले त्यस्तो खालको अपेक्षामा परिवर्तन गर्नुपर्याे । विद्यार्थीले पनि साथीको लहैलहैमा लागेर आफूले नसक्ने विषय पढ्न खोज्नु भएन । घरमा बसेर अभिभावकसँग खुल्ला छलफल गर्नुपर्छ । आमाबाबुले पनि प्रेसर गर्नुहुँदैन । सकेसम्म छोराछोरीलाई तिम्रो इच्छाले पढ भनेर परामर्श दिनुपर्छ । हाम्रा लागि यही विषय नै पढ्नुपर्छ भनेर प्रेसर दिनुहँुदैन । विद्यार्थीले पनि आमाबाबुसँग बसेर आफ्ना विचार राख्नुपर्छ । यो कारणले गर्दा यो विषय पढ्छु भनेर हार्दिकतापूर्वक छलफल गर्नुपर्छ । त्यसले राम्रो वातावरण ल्याउँछ । त्यस्तो भएन भने घरमा द्वन्द्व हुन्छ ।
आमाबाबुलाई पनि म आग्रह गर्न चाहन्छु– छोराछोरीसँग बसेर छलफल गर्नुहोस् । उसको शैक्षिक अवस्था, उसको रुचि के छ ? कस्तो ग्रेड ल्याएको छ ? त्यसको बारेमा उहाँहरुले सल्लाह दिनुपर्छ । जबरजस्ती यही विषय पढ् भनेर लाद्न पाइँदैन । विद्यार्थीले पनि रहरका आधारमा पढ्छु भनेर होइन कि मलाई यो विषय पढ्न रुचि छ, आफ्नो अवस्थाका बारेमा बताएर हार्दिकतापूर्वक छलफल गर्याे भने समस्याको निकास निक्लिन्छ ।
राम्रो अङ्क ल्याए विज्ञान नै पढ्नुपर्छ भन्ने सामाजिक धारणा पनि छ । त्यो बारेमा हामीले आफ्ना छोराछोरीलाई गलत काउन्सिलिङ गर्यौँ । राम्रो नम्बर ल्याउनेले आर्टस् पनि पढ्न हुन्छ । कुनै पनि विषय आफैमा खराब छैन । भुल्न के भएन भने कुनै बेला डाक्टर पनि आवश्यक छ, इन्जिनियर पनि आवश्यक छ, शिक्षक र कर्मचारीको आवश्यकता छ, राम्रो कृषकको पनि आवश्यकता छ । आवश्यकताको आधारमा सबै विषय महत्त्वपूर्ण छन् । त्यसकारण विज्ञान पढेर मात्र मानिस ठूलो हुने होइन । समाज विकास आफ्नो सीपबाट गर्न सकिन्छ । प्रत्येक विषय महत्त्वपूर्ण छ भन्ने कुरा हामीले भुल्नु हँुदैन ।
हामीले गलत ढङ्गबाट व्याख्या गरिरहेका छौँ । विज्ञान र इन्जिनियर मात्र पढ्नुपर्छ भन्ने कुरा आफैमा गलत हो । छोराछोरीले आफ्ना अभिभावकलाई सबै विषयको महत्त्व उत्तिकै छ भनेर बुझाउनु जरुरी छ । त्यसकारण राम्रो नम्बर ल्याएर विज्ञान नै पढ्नुपर्छ भन्ने चिन्तन हटाइदिनुपर्छ ।
सुनिता न्यौपाने/रातोपाटी